रोल्पामा जीप दुर्घटना, एकै घरका दाजुभाइ सहित तीन जनाको मृत्यु
रोल्पाको सुनील स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा भएको जीप दुर्घटनामा परी एकै घरका दाजुभाइ सहित तीन जनाको ज्यान गएको छ।
कात्तिक ९ गतेको दुर्घटनामा मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, सोही ठाउँ निवासी ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङ राप्ती गाउँपालिका–१ भालुवाङ निवासी ५० वर्षीया फाम्सी केसी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
दुर्घटनामा १२ जना घाइते भएका छन् भने सात जनाको अवस्था गम्भीर रहेको छ।
रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु१ज ३२३४ नम्बरको जीप दुर्घटनाग्रस्त भएको थियो। जीप सडकबाट करीब एक सय मिटर तल खसेको थियो। जीपमा १५ जना सवार रहेको प्रहरीले बताएको छ।
घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा सिफारिश गरिएको इलाका प्रहरी कार्यलय सुलिचौरका इन्चार्ज ओमप्रकाश वाग्लेले जनकारी दिए। जीपको ब्रेकले अचानक काम नगर्दा दुर्घटना भएको प्रहरीले बताएको छ।
छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
उदयपुर जिल्लाका दुईवटा स्थानमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, गए राति नगरपालिका–१ स्थित श्रवनचोकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही स्थान बस्ने ३७ वर्षीय धनबहादुर तामाङको मृत्यु भएको छ।
बेलकाबाट सप्तरीतर्फ जाँदै गरेको प्रदेश१–०२–०४६प ४५३५ नंको मोटरसाइएकलमा सवार तामाङले तीव्र गतिमा मोटरसाइकल चलाएका कारण अनियन्त्रित भई दुर्घटना हुँदा उपचारका लागि तत्काल सप्तरी कञ्चनपुरस्थित स्वास्थ्यचौकीमा लगेर उपचार गर्ने क्रममा गए राति नै तामाङको मृत्यु भएको कुरा जिल्ला प्रहरीले बताएको छ।
यता मंगलबार साँझ नै जिल्लाको कटारी नगरपालिका–११ बेतिनी बजारबाट गहुँबारीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही स्थान बस्ने २४ वर्षीय यम्बरबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकल पछाडि बस्ने २१ वर्षीया इन्दिरा कार्की घाइते भएको प्रहरीले जनाएको छ।
लु८८प १८५६ नंको अनटेस्ट मोटरसाइकल चलाएर बेतिनीबाट गहुँबारी जाँदै गरेका श्रेष्ठ मंगलबार राति ८ बजे गहुँबारीमा मोटरसाइकलमा दुर्घटनामा पर्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ।