निर्वाचन आयोगमा आएका जिज्ञासा र १६ जवाफ
निर्वाचन आयोगले मंसीर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका विषयमा आएका जिज्ञासाको जवाफ दिएको छ।
गत असोज २८ गतेदेखि सञ्चालनमा आएको कल सेन्टरमा कात्तिक ७ गतेसम्ममा एक हजार ५०२ कल आएको र त्यसमध्ये एक हजार १९७ कल रिसिभ भएको आयोगले जनाएको छ। रिसिभ भएकामध्ये एक हजार २५ वटा कलबाट आएका जिज्ञासालाई समाधान गरिएको आयोगले जानकारी दिएको छ। आयोगका अनुसार, १७२ वटा कल 'मिस्ड' भएका र ३०५ वटा 'भ्वाइस मेल' आएका थिए।
मुख्य मुख्य जिज्ञासा र समाधान गरिएको विवरण:
स्थानीय तहका गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिहरूले दलको चुनाव प्रचारप्रसार गर्न पाउँछन् कि पाउँदैनन्?
आफू निर्वाचित भएको पालिका बाहेक अन्यत्र पाउँछन्, तर त्यसरी अन्य पालिकामा प्रचारप्रसारमा जाँदा सरकारी स्रोतसाधनको प्रयोग गर्न निर्वाचन आचारसंहिता, २०७९ ले रोक लगाएको छ।
कार्यपालिकाको निर्णय अनुसार करारमा कार्यरत कर्मचारीहरूको म्याद थप गर्न मिल्छ कि मिल्दैन?
नयाँ कर्मचारीलाई करारमा भर्ना गर्न मिल्दैन, तर साविकमा कार्यरत करारका कर्मचारीहरूको म्याद थप्न आचारसंहिताले बाधा मानेको छैन।
आयोगले मिडियालाई अनुगमन गर्न सेना र प्रहरीलाई प्रयोग गरेको हो?
होइन, सञ्चार माध्यमका सामग्रीमा आचारसंहिता उल्लंघन भए/नभएको विषयमा अनुगमन प्रेस काउन्सिल नेपाल मार्फत हुने गर्दछ।
आधिकारिक र वास्तविक मतपत्रको नमूना आयोगले कहिले उपलब्ध गराउँछ?
आयोगले वास्तविक मतपत्रको नमूना क्रमशः आयोगको वेबसाइट मार्फत सार्वजनिक गर्दै गइरहेको छ। त्यसका लागि https://election.gov.np/ लिंकमा गई हेर्न सकिनेछ।
आगामी निर्वाचनमा मतपत्र कति वटा हुन्छन् र रङ्ग कस्तो हुन्छ?
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मतदाताले छुट्टाछुट्टै रूपमा चार वटा मतपत्रमा रहेका आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचनका लागि सेतो पृष्ठभूमिमा रातो रङ्गको निर्वाचन चिह्न र विवरण भएको मतपत्र तथा प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न र विवरण भएको मतपत्र हुनेछ।
आगामी निर्वाचनमा कसरी मत दिने हो?
सर्वप्रथम प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि रातो रङ्गको निर्वाचन चिह्न र विवरण भएको मतपत्रमा मतदान गरी १ नं. को मतपेटिकामा मतपत्र खसाल्नुपर्छ। प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फको कालो रङ्गको निर्वाचन चिह्न र विवरण भएको मतपत्रमा मतदान गरी मतपेटिका नं. २ मा मत खसाल्ने, तत्पश्चात् प्रदेश सभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि रातो रङ्गको निर्वाचन चिह्न र विवरण भएको मतपत्रमा मतदान गरी ३ नं. को मतपेटिकामा मतपत्र खसाल्ने र अन्त्यमा प्रदेश सभा सदस्य निर्वाचनतर्फ समानुपातिक निर्वाचनतर्फका लागि कालो रङ्गको निर्वाचन चिह्न र विवरण भएको मतपत्रमा मतदान गरी मतपेटिका नं. ४ मा मतपत्र खसाल्नुपर्दछ।
आफ्नो क्षेत्रको प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारहरूको नामावली कहाँबाट कसरी हेर्न सकिन्छ?
मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा तथा निर्वाचन आयोगको वेबसाइटबाट हेर्न सकिनेछ।
विभिन्न संघसंस्थाहरूले निर्वाचनमा मतदाता शिक्षा कार्यक्रमहरू सञ्चालन गर्न पाउँछन् कि पाउँदैनन्?
निर्वाचनमा त्यस्ता संस्थाहरूबाट मतदाता शिक्षा सञ्चालन गर्न पाइन्छ, तर कुनै पनि राजनीतिक दल, उम्मेदवार वा कुनै खास निर्वाचन चिह्नलक्षित प्रचारप्रसार नगरी बदर मत कम गराउने नियतका साथ मतदाता सचेतना कार्यक्रम गर्नुपर्छ। आयोगको पूर्व स्वीकृति लिएमा सोका लागि आवश्यक सामग्री समेत उपलब्ध हुन सक्छ।
आयोगबाट उम्मेदवारहरूको मोबाइल नम्बर उपलब्ध गराउन मिल्छ कि मिल्दैन?
उम्मेदवारको व्यक्तिगत मोबाइल नम्बर दिन मिल्दैन।
आयोगबाट मतदाता शिक्षा अन्तर्गत नमूना मतदानका लागि मतपेटिका उपलब्ध गराइन्छ कि गराइँदैन?
मतदाता शिक्षा प्रयोजनार्थ ७५३ वटै पालिकाले नमूना मतदानका लागि मतपेटिका प्राप्त गर्दछन्।
विगत वर्षहरूदेखि हाम्रा दलले दशैंतिहारमा चियापान गर्ने परम्परा छ। यसपालि यसैबीचमा निर्वाचन परेकोले आचारसंहिता विपरीत हन्छ कि हुँदैन?
कुनै राजनीतिक दलको झण्डा, निर्वाचन चिह्न, उम्मेदवारको तस्वीर अङ्कित पर्चा, पोस्टर र ब्यानरहरू नराखी सामान्य ढङ्गले चियापान गर्न बाधा छैन।
टोल सुधार समितिहरूले फूटबल प्रतियोगिता आयोजना गर्न पाउने कि नपाउने? उम्मेदवारबाट उद्घाटन गर्न मिल्ने कि नमिल्ने? सार्वजनिक संस्था वा क्लबका तर्फबाट ज्येष्ठ नागरिकलाई सम्मान गर्ने योजना/कार्यक्रम र कुनै पनि राजनीतिक दललाई सम्बद्ध नगरी सम्मान कार्यक्रम गर्न मिल्छ कि मिल्दैन?
पूर्व निर्धारित प्रतियोगिता आयोजना गर्न बाधा नपर्ने तर कुनै राजनीतिक दलको नेता तथा उम्मेदवारले उद्घाटन गर्न मिल्दैन। त्यसरी सम्मान कार्यक्रम आयोजना गर्न बाधा छैन, तर कुनै राजनीतिक दलको उम्मेदवार सहभागी हुनु हुँदैन।
पत्रकारहरूले मतदान केन्द्रमा स्थलगत रिपोर्टिङ गर्न कसको अनुमति लिनुपर्छ?
सम्बन्धित मतदान अधिकृतबाट तोकिएको स्थानसम्मका लागि अनुमति पाउन सकिनेछ।
मतपत्रमा निर्वाचन चिह्न, क्रम र लहर केका आधारमा तय गरिन्छ?
विसं २०७४ को निर्वाचनमा समानुपातिकतर्फ पहिलो हुने दलको मत चिह्न अगाडि राखी दोस्रो, तेस्रो हुने दलहरूको क्रमशः निर्वाचन चिह्न राखिएको थियो। तत्पश्चात् दल दर्ताको क्रमानुसार र स्वतन्त्र उम्मेदवारहरूको हकमा उम्मेदवारको नामको वर्णानुक्रम अनुसार निर्वाचन चिह्न राखिन्छ।
छठ पर्वको घाट निर्माण गर्दा प्रवेशद्वारमा राजनीतिक दलको नाम र मत चिह्न उल्लेख नगरी उम्मेदवारको फोटो सहितको शुभकामना सन्देश राख्न पाइन्छ कि पाइँदैन?
निर्वाचन आचारसंहिता बमोजिम त्यसरी सन्देश राख्न पाइँदैन।
निर्वाचन खर्चको विवरण पेश गर्ने फारामको ढाँचा वा नमूना आयोगले निर्धारण गरेको छ?
छ, आयोगको वेबसाइटमा हेर्न सकिनेछ।