भाइटीकामा नभई नहुने ओखरको कथा
ओखर तिहारमा नभई नहुने एउटा फल हो। भाइटीकामा दिदीभाइको सम्बन्ध दर्शाउन ओखर सम्बन्धी अनेक किंवदन्ती नेपाली समाजमा प्रचलित छन्।
नेपाली बजारमा प्रति किलो ६०० रुपैयाँमा चिनियाँ ओखर उपलब्ध छ भने नेपाली ओखरको मूल्य प्रति किलो करीब ११ सय रुपैयाँ पर्छ। माग भए पनि नेपाली ओखर पाउन मुश्किल भएकाले भाउ बढी भएको व्यापारीहरू बताउँछन्।
“पहिलाभन्दा काठमाडौंमा जुम्लाको ओखरको माग बढेको छ। तर‚ जुम्लाको ओखर पाउनै गाह्रो छ,” काठमाडौंमा जुम्लाका कृषिजन्य उत्पादन बिक्री गर्दै आएका दुर्गाबहादुर रावत भन्छन्, “पाए जति बिक्री भएकै छ।” अनलाइन मार्फत नै काठमाडौंमा ओखर बिक्री गर्दै आएको र एक प्रयोगकर्ताले अन्यलाई भन्दाभन्दै बजार विस्तार भएको उनी बताउँछन्।
नेपाली ओखर महँगो भए पनि गुणस्तरीय भएको बागवानीविद् शिवबहादुर नेपाली प्रधान बताउँछन्। आफूले पनि तिहारका लागि जुम्लाकै ओखर मगाएको उनी बताउँछन्। प्रधान भन्छन्‚ “मैले जुम्लाको ओखर किनेर फेसबूकमा फोटो हालेपछि अरू केही साथीहरूले पनि सोधखोज गर्नुभयो।”
मध्यएशियामा उत्पत्ति भएको अनुमान गरिएको ओखर यूरोपबाट विश्वव्यापी भएको हो। यूरोपमा ग्रीसबाट पुगेको अनुमान छ जहाँ हजारौं वर्ष पहिलादेखि ओखर उत्पादन हुन्थ्यो। मध्यकालीन यूरोपमा ओखर औषधिका रूपमा उपयोग हुने गरेको ऐतिहासिक लिखतहरूमा पाइन्छ।
नेपालको ठूला जङ्गल भएको समुद्री सतहदेखि एक हजार मिटरदेखि चार हजार मिटर उचाइसम्म ओखर पाइन्छ। विगतमा जङ्गलमा आफैं उम्रेका ओखरबाट लाभ लिंदै आएका कृषकहरूले हाल भने व्यवस्थित खेती थालेका छन्। यसको प्रतिफल पनि राम्रो देखिएको छ।
नेपालको पश्चिमी जिल्लाहरूमा ओखरको खेती प्रवर्द्धन गरिएसँगै कृषकहरूले वैकल्पिक आम्दानीको बाटो पाएका हुन्। गाउँठाउँका आर्थिक रूपले कमजोर महिलाहरूले ओखर संकलन र फुटाउने काम पाउँदा आर्थिक रूपमा सबल पनि भएका छन्। हाल जुम्लामा ओखर प्रति दाना पाँचदेखि १० रुपैयाँमा बिक्री भइरहेको छ।
कर्णालीमा फैलिंदै ओखर
कर्णाली प्रदेशमा एक हजार १०७ हेक्टरमा ओखर खेती हुने अनुमान छ। त्यहाँको ३५० हेक्टर जमीनमा एक हजार ४०० मेट्रिक टन ओखर उत्पादन हुन्छ। जुम्लाका नौ हजार कृषकले १७० हेक्टरमा ओखर खेती गरिरहेका छन्।
गत वर्ष देशभरमा २७० मेट्रिक टन ओखर उत्पादन भएको थियो। जसमा ३० प्रतिशत निर्यात भएको अनुमान छ। करीब ६० प्रतिशत उत्पादन स्थानीय बजारमा खपत भएको थियो। ओखरको व्यावसायिक खेती नगरिंदा ओखरको बढ्दो माग पूर्ति गर्न आयात नै गर्नुपर्ने अवस्था छ।
विज्ञहरूले कर्णालीको कृषि विकासका लागि ‘स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न दिएको सुझाव कार्यान्वयन नहुँदा ओखर खेतीले अपेक्षाकृत गति लिन नसकेको सरोकारवालाहरू बताउँछन्।
कर्णाली प्रदेशका सुर्खेत, सल्यान, कालीकोट, जुम्ला र मुगुमा ओखर खेतीको सम्भावना छ। लुम्बिनी प्रदेशमा रुकुम पूर्व, प्यूठान र रोल्पामा ओखर खेतीको सम्भावना छ। लुम्बिनी प्रदेश सरकारको कृषि मन्त्रालयले रुकुम पूर्वलाई ओखर पकेट क्षेत्र बनाउने पहल थालेको छ। जस अनुरूप १० हजारभन्दा बढी ओखरका बिरुवा रोपिएको मन्त्रालयले जनाएको छ। त्यस्तै, पुथा उत्तरगंगा गाउँपालिकालाई ओखर खेतीको केन्द्र बनाइएको छ। प्रदेश मन्त्रालयकै पहलमा प्यूठानमा पनि तीन हजारभन्दा बढी बिरुवा रोपिएका छन्।
नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, बागवानी अनुसन्धान केन्द्र, राजीकोट, जुम्लाले ओखरमा कलमी गर्ने प्रविधि प्रसारण गर्ने कार्यक्रम चलाइरहेको छ। केन्द्रका राजकुमार गिरीका अनुसार‚ विगतमा दाँते ओखरको बीउबाट मात्र बिरुवा प्रसारण गरिन्थ्यो। बीउबाट प्रसारण गरिएको बिरुवामा विजातीय गुण देखापर्ने, फल्न सात-आठ वर्ष लाग्ने र बोट ठूलो भई फल टिप्न असजिलो हुने समस्या थियो।
“कलमी बिरुवाको प्रयोगबाट यी समस्याको समाधान गर्न सकिने हुँदा केन्द्रले ओखरमा वानस्पतिक प्रसारण सम्बन्धी परीक्षण गरेको थियो,” गिरी भन्छन्, “कलमी गरी विकास गरिएको बिरुवाको सफलता प्रतिशत ७१ प्रतिशतसम्म रहेको पाइयो।”
ओखरको प्रवर्द्धनका लागि हेल्भेटास नेपालको ‘ओखर मूल्य शृङ्खला सबलीकरण परियोजना (मीठो ओखर)’ कार्यक्रमले स्थानीय उद्यमीहरूको आम्दानी बढाउन कर्णाली प्रदेशको ओखर उत्पादन हुने क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ। मीठो ओखर कार्यक्रमले जुम्लाको रैथाने प्रजातिको ओखर जोगाउन सन् २०१८ देखि २०२० सम्म हाडे र दाँते ओखरको मुख्य समस्या पहिचान र तिनको समाधानको काम थालेको हो। पहिलो चरणको तीन वर्षीय परीक्षण परियोजना सन् २०२० मा सम्पन्न भएपछि दोस्रो चरणमा पाँच वर्षका लागि कार्यक्रम भइरहेको परियोजनाका व्यापार विकास संयोजक प्रमोद भारी बताउँछन्।
परियोजनाले कृषकहरूको उद्यमशीलता, प्राविधिक र नीतिगत क्षमता अभिवृद्धि गर्ने तथा उत्पादन विविधिकरण गर्दै ओखर उद्यमीहरूलाई बजारको पहुँच वृद्धिमा विविध क्रियाकलाप गर्दै आएको छ। “विगतमा जुम्लामा हाडे ओखरको जङ्गल प्रशस्त थिए। प्रायः महिलाहरू जङ्गलबाट हाडे ओखर सङ्कलन गरेर त्यसबाट तेल निकाली घरायसी काममा प्रयोग गर्थे, तर सडक पुगेपछि प्याकेटको तयारी तेल गाउँ गाउँ पुगे जसले गर्दा मानिसहरूले ओखर संकलन गर्न छाडे,” उनी भन्छन्।
अर्कातिर ओखरका रूख पनि काठका लागि कटान गर्न थाले। जस कारण हाडे ओखरको उत्पादन घट्दै गयो। त्यसैलाई सम्बोधन गर्न परियोजनाले ओखरको कलमी बिरुवालाई प्रवर्द्धन गरिरहेका छ। कलमी गरिएको बिरुवाको सफलता दर ७० प्रतिशत रहेको भारी बताउँछन्। उनी भन्छन्‚ “गत वर्ष ३० हजार बिरुवा तयार भएका थिए। यो वर्ष २५ हजार तयार हुँदै छन्।”
जुम्लाको स्याउमा किरा र रोगका कारण किसानहरूलाई समस्या हुने गरे पनि ओखरमा त्यस्तो समस्या छैन। “ओखर पाकेपछि टिपेर बेचिहाल्नुपर्ने दबाब छैन, भण्डारण गर्न सकिन्छ। र, आफ्नो अनुकूलतामा बेच्न सकिन्छ,” भारी भन्छन्।
अहिले जुम्लाका केही कृषकले बाहिरी प्रजातिको ओखरका बिरुवा पनि लगाइरहेका छन्। परियोजनाले भने रैथाने प्रजातिलाई नै प्रवर्द्धन गरिरहेका छ। जुम्लामा ओखरको बिरुवाको मूल्य ७०० रुपैयाँ निर्धारण गरिएको छ। भारी भन्छन्‚ “बिरुवा बेचेर नै केही नर्सरीले एक सिजनमा २० लाखसम्म कमाएका छन्।”
परियोजनाले कर्णालीको जुम्लाका स्थानीय तहहरू पातारासी, गुठीचौर, चन्दननाथ, तातोपानी, तिला, हिमा, सिंजा र कनकासुन्दरीमा कार्यक्रम सञ्चालन गरेको छ। कालीकोटको रास्कोट र शुभकालिकामा ओखर प्रवर्द्धन कार्यक्रम सञ्चालनमा छ।
जुम्लामा ओखरले ओगटेको क्षेत्रफल चार हजार हेक्टर छ भने फल दिने ओखरले ओगटेको क्षेत्रफल २५० हेक्टर छ। साथै, उत्पादन एक हजार मेट्रिक टन तथा उत्पादकत्व पाँच मेट्रिक टन रहेको छ।
कृषि मन्त्रालयले सन् २०२१ गरेको एक अध्ययनमा नेपालमा ओखरले ओगटेको क्षेत्रफल पाँच हजार ३६१ हेक्टर रहेको छ भने फल दिने ओखरले ओगटेको क्षेत्रफल दुई हजार १८४ हेक्टर छ। साथै, ओखर उत्पादन १० हजार ५१ मेट्रिक टन तथा उत्पादकत्व पाँच मेट्रिक टन छ।
आम्दानी बढाउँदै ओखरको तेल
परियोजनाले हाडे ओखरको तेल उत्पादनका लागि जुम्लाको तातोपानी र पतारासी गाउँपालिकामा भवन सहित दुई वटा प्रशोधन केन्द्र सञ्चालनमा सहयोग गरेको छ। भवन निर्माणमा तातोपानी गाउँपालिकाले पनि आर्थिक सहयोग गरेको थियो।
“हामीले उत्पादन गरेको तेल शुरूमा फ्रान्समा परीक्षणका लागि पठायौं र त्यहाँबाट राम्रो गुणस्तरको छ भन्ने पुष्टि भएपछि गत सालदेखि नियमित उत्पादन थालेका छौं,” तातोपानी ओखर तेल प्रशोधन केन्द्रका बलबहादुर खत्री भन्छन्। केन्द्र सहकारीको खाकामा सञ्चालित छ र स्थानीय कृषकहरू सदस्य छन्।
“यहाँको ओखरको तेलमा ओमेगा ३, ६, ९ प्रशस्त मात्रामा रहेको फ्रान्सको प्रयोगशालामा पुष्टि भएपछि नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा जाँच गराएर नियमित उत्पादनमा लागिरहेका छौं,” खत्रीले बताए। हालसम्म १३५ लिटरभन्दा बढी ओखरको तेलको बिक्री भइसकेको उनले जानकारी दिए। एक लिटरको बिक्री मूल्य एक हजार ५०० रुपैयाँ छ।
मान्छेलाई यसको फाइदा बुझाउन नसक्दा बिक्री बढ्न नसकेको खत्री बताउँछन्। “डाक्टरहरूले नै ओखरको तेलको अनेकौं फाइदा छ भनेका छन्। कतिपयले विदेशबाट झिकाएर पनि खाने गरेका रहेछन्। अझै पनि धेरै नेपाली दाजुभाइलाई यसको फाइदाबारे जानकारी पुग्न सकेको छैन,” खत्री भन्छन्।
ओखरको तेलबारे काठमाडौंमा पनि प्रचार नपुगेको खत्रीको अनुभव छ। “हामीले केहीअघि पाटन म्यूजियममा भएको प्राङ्गारिक प्रदर्शनीमा स्टल राखेका थियौं। धेरैले ओखरको तेल देखेर आश्चर्य माने। शहरबजारमा पनि प्रचार भएको रहेनछ, गाउँघरमा त झन् के कुरा,” उनले भने।
मीठो ओखर कार्यक्रमले राम्रो जातको स्थानीय ओखरको माउ बोटहरूको पहिचान र संरक्षणमा सघाउ पुगेको खत्री बताउँछन्। साथै, हाल जुम्लामा १० वटाभन्दा बढी ओखरको नर्सरी व्यवस्थित भएको छ भने ओखर खेती प्रवर्द्धनका लागि २० जनाले सहजकर्ता तालीम लिएका छन् भने थप सहजकर्ता तयार हुने क्रम जारी छ।
ओखर खेती
ओखरलाई नेपालमा सुक्खा फलफूलको वर्गमा राखिएको छ। अन्य केही उब्जाउ हुन नसक्ने जग्गामा ओखर खेती गर्न सकिन्छ।
नयाँ रोपिने बिरुवा दुई वर्ष पुरानो र दुई फिट अग्लो हुँदा राम्रो हुन्छ। साउन दोस्रो सातादेखि भदौ दोस्रो सातासम्म रोप्न सकिन्छ। ठाउँ अनुसार ढिलो गरी रोप्दा माघ दोस्रो सातादेखि चैत पहिलो सातासम्म पनि रोप्न सकिन्छ। बिरुवा पाँच–पाँच मिटरको दूरीमा रोप्नुपर्छ।
ओखरको व्यावसायिक खेतीका लागि समुद्री सतहदेखि एक हजार २०० मिटरदेखि दुई हजार ५०० मिटर उचाइ भएका क्षेत्र उपयुक्त मानिन्छ। यद्यपि‚ ९०० मिटरदेखि तीन हजार ५०० मिटर उचाइ भएका क्षेत्रमा पनि खेती गर्न सकिन्छ।
धेरै वर्षा हुने र हुस्सु/तुवाँलो लागिरहने ठाउँ ओखरका लागि उपयुक्त मानिंदैन। नेपालको पश्चिमी भूभाग, गण्डकी प्रदेशदेखि सुदूरपश्चिम प्रदेशसम्मका मध्य एवं उच्च पहाडी क्षेत्रहरू ओखरको व्यावसायिक खेतीका लागि उपयुक्त मानिने ओखरबारे अध्ययन गरेका कृषि प्रसार अधिकृत रवीन थापा बताउँछन्।
ओखर खेतीका लागि पानी नजम्ने तर चिस्यान रहिरहने, प्रशस्त प्राङ्गारिक पदार्थ भएको पाँगो दोमट वा चिम्ट्याइलो दोमट माटो राम्रो मानिन्छ। ओखरको बिरुवा रोप्ने ठाउँमा कम्तीमा दुई मिटर गहिराइसम्म ढुङ्गा वा चट्टान हुनु हुँदैन। यस्तै‚ कलिलो बिरुवा मुसाले खाइदिने पनि डर हुन्छ। बलौटे माटोमा रोप्दा बिरुवा रोपेको ठाउँको दुई मिटरसम्म कुहिएको गोठे मल वा कम्पोस्ट मल बाक्लो गरी हाल्नुपर्ने कृषि प्रसार अधिकृत थापा बताउँछन्। ओखर रोप्दा यसको जरालाई फैलिन दिन मुनिको माटोमा कुनै कडा सतह भए/नभएको यकिन गर्नुपर्दछ र बिरुवा रोपेको पाँच फिट जति मुनिको माटो मलिलो भएको यकिन गर्नुपर्दछ। माटोमा भएका तत्त्वहरू के कति छन् यकिन गरेर ओखरको बिरुवामा नाइट्रोजन, फस्फोरस, र पोटासियम हाल्नुपर्दछ।
पाको रूखबाट कलमी गरी बिरुवा उत्पादन गरिए करीब तीन-चार वर्षपछि फल दिन शुरू गर्छ। एउटा ओखरको रूखको सरदर आयु ३० वर्षको हुन्छ। एउटा बोटमा एक पटकमा ३० किलो जति ओखर फल्छ।
नेपालमा हार्टले जातको दाँते ओखरमा कलमी सफलता बढी देखिएको उनी बताउँछन्। “नियमित कलमीभन्दा पहिला बीउ उमारेर आएको बिरुवामा कलमी गर्दा सफलता प्रतिशत अधिक देखिएको छ,” थापा भन्छन्।
विश्वमा ओखरका २१ वटा प्रजाति पाइन्छन्। तीमध्ये खानका लागि उपयोग हुने प्रजाति जे. रेगिया हो। यस प्रजाति अन्तर्गतका ओखरलाई दाँते र हाडे ओखर गरी दुई समूहमा विभाजन गरिएको छ। खानका लागि दाँते ओखर उपयोगी हुन्छ भने कलमी गर्न मूल बिरुवाका रूपमा उपयोग गर्न हाडे ओखर उपयोगी हुन्छ।
विश्वमा सबैभन्दा धेरै ओखर चीनमा उत्पादन हुन्छ। संसारभर ओखर आपूर्तिको आधा हिस्सा चीनले ओगटेको छ। चीनपछि अधिक ओखर उत्पादन गर्ने मुलुकमा अमेरिका पर्दछ। चीनमा नयाँ नयाँ उन्नत जातको ओखर विकास गरिएको छ। भारतको ओखरको केन्द्र काश्मीरमा पनि राम्रा जातका ओखरको विकास गरिएको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार, गत वर्ष चिली, चीन, भारत, अमेरिकाबाट आलो र सुक्खा गरी दुई हजार ३१९ मेट्रिक टन ओखर आयात भएको थियो। कुल ७२ करोड ८५ लाख ६१ हजार रुपैयाँको ओखर आयात भएकोमा सबैभन्दा बढी चीन र दोस्रोमा अमेरिकाबाट आयात भएको तथ्याङ्क छ। छिमेकी मुलुक भारतबाट पनि १३ लाख सात हजार रुपैयाँको ओखर आयात भएको थियो। चालू आर्थिक वर्षको साउन र भदौमा १५९ मेट्रिक टन बराबरको पाँच करोड दुई लाख ७९ हजार रुपैयाँको ओखर आयात भएको छ।