गृहमन्त्री खाँणलाई अघिल्लो निर्वाचनका सहयात्रीको चुनौती
राप्रपाका बोहरा अघिल्ला चुनावका सहयोगी तिनै खाँणलार्ई पराजित गरी विजयको माला लगाउने तयारीमा छन्।
सत्ता गठबन्धनका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि रुपन्देही–२ चर्चामा छ। नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलको उम्मेदवारीले पनि यो क्षेत्रबारे देशव्यापी चासो देखिन्छ। आफ्नो उम्मेदवार नभएपछि गठबन्धनको मत कसलाई जान्छ भन्ने अझै टुङ्गो छैन।
रुपन्देही–३ पनि कम चर्चित भने छैन। चर्चाको कारण हो, दुई जना ‘हेविवेट’ उम्मेदवार। आसन्न संसदीय निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहरा प्रतिस्पर्धामा छन्। खाँण सत्तारूढ गठबन्धनका उम्मेदवार हुन् भने बोहरालाई नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)को समर्थन छ।
भैरहवा (सिद्धार्थनगर नगरपालिका) समेत रहेको यो क्षेत्रलाई आधार बनाएर चुनावलक्षित गतिविधि गरिरहेकाले खाँण चुनावलाई सहज ठान्छन्। तर, २०७४ सालको चुनावमा उनी प्रत्यक्ष तर्फकाे चुनावी मैदानबाट पछाडि हटेका थिए। आफू समानुपातिकमा बसेर कांग्रेससँग तालमेल गरेको राप्रपाका बोहरालाई चुनावी मैदानमा उतारेका थिए। यसपालि तिनै बोहरासँग प्रतिस्पर्धा गर्नुपर्ने परिस्थिति खाँणसामु छ।
अघिल्लो चुनावमा खाँण समानुपातिकमा बस्नुको कारण थियो, बलियो वाम गठबन्धनसँग भिड्दा पराजय हुने अनुमान। अन्ततः उनको आकलन सही ठहरियो। एमाले नेता घनश्याम भुसालले दीपक बोहरालाई पाँच हजार मतान्तरले हराए। भुसाल अहिले रूपन्देही–१ बाट सत्ता गठबन्धनको सहयोगमा स्वतन्त्र उम्मेदवार बनेका छन्।
राप्रपाका बोहरा अघिल्ला चुनावका सहयोगी तिनै खाँणलार्ई पराजित गरी विजयको माला लगाउने तयारीमा छन्। यद्यपि, क्षेत्र नं ३ मा राप्रपाको संगठनात्मक आधार र प्रभाव ठूलो छैन। तर, बोहरा राजनीतिका चतुर खेलाडी मानिन्छन्। यस क्षेत्रबाट पञ्चायत कालदेखि हालसम्म उनले सात पटक उम्मेदवारी दिएका छन्। पञ्चायत कालमा चार र गणतन्त्रपछि पनि पटक पटक मन्त्री बनेका ७२ वर्षीय बोहराले यस पटक आफ्नो अन्तिम चुनाव भन्दै मत मागिरहेका छन्।
भैरहवा बोहराको व्यक्तिगत प्रभाव भएको क्षेत्र मानिन्छ, जहाँ गत स्थानीय चुनावमा राप्रपाका सागरप्रताप राणा कांग्रेसका इश्तियाक अहमद खानसँग ९९७ मतान्तरले हारेका थिए। बोहराको मुख्य भर एमाले र जसपा हुन्, तर यी दुवै दलको सबै मत उनले पाउने सम्भावना कम छ।
बोहरा २०६४ सालको संविधानसभा चुनावमा रुपन्देही–१ मा माओवादी केन्द्रका घनश्याम यादवसँग पराजित भएका थिए। २०७० को संविधानसभा निर्वाचनमा भने तत्कालीन क्षेत्र नम्बर २ बाट कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गर्दै विजयी भए। २०७४ मा रुपन्देही–३ मा एमालेका घनश्याम भुसालसँग पाँच हजार ४४४ मतले पराजित भए।
अहिले राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि पार्टीप्रति आकर्षण बढेको र गठबन्धन भएको दल एमालेको जनमत कांग्रेसको झैं विभाजित नभएकाले उनले जित निकाल्ने अवसरका रूपमा लिएका छन्।
क्षेत्र नं ३ मा सांगठनिक आधारमा राप्रपाभन्दा एमाले बलियो देखिन्छ। ती संगठनमा घनश्याम भुसालको प्रभाव बलियो छ। एमालेभित्र पनि गएको चुनावमा जितेका भुसाललाई उम्मेदवार नबनाइएकोमा भुसाल निकटको पंक्ति असन्तुष्ट छ। अर्कातर्फ, भोट हाल्न उनीहरूसँग आफ्नो सूर्य चिह्न छैन। पार्टी केन्द्रको निर्णयप्रति असन्तुष्ट यी स्थानीय नेता–कार्यकर्ताको मत बोहराको हार-जितको निर्णायक बन्न सक्छ।
गएको स्थानीय चुनावको मत हेर्दा गठबन्धनको गणितले रुपन्देही–३ मा राप्रपाका नेता बोहरा मजबूत देखिन्छन्। यस क्षेत्रमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूले ३४ हजार १५३, एमालेका उम्मेदवारहरूले २९ हजार ४८ र राप्रपाका उम्मेदवारहरूले १३ हजार ३९७ मत पाएका छन्। जसपाका वडाध्यक्ष उम्मेदवारहरूले ६ हजार १८३, माओवादी केन्द्रका उम्मेदवारहरूले दुई हजार ८८१, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवारहरूले दुई हजार १७४ र नेकपा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारहरूले ९७७ मत पाएका थिए। यो मतका आधारमा सत्ता गठबन्धनमा रहेका दलको मत ४० हजार १८५ पुग्छ भने एमाले नेतृत्वको एमाले–राप्रपा–जसपा गठबन्धनको मत ४८ हजार ६२८ हुन्छ। यस आधारमा खाँण बोहराभन्दा आठ हजार ४४३ मतले पछाडि देखिन्छन्।
रुपन्देही–३ मा सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, बुटवलका वडा नम्बर १४ देखि १९, मायादेवी गाउँपालिकाका वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ र तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन्।
एमालेले सत्ता गठबन्धनलाई पराजित गर्ने पार्टीको रणनीति अनुसार एकजुट भई अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरेको छ। एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले सत्ता गठबन्धनलाई पराजित गर्ने गरी पार्टीको अभियान अघि बढेको बताए। उनी भन्छन्, “सत्ता गठबन्धनले एमाले विरुद्ध मोर्चाबन्दी गरेकाले हामीले राप्रपासँग तालमेल गरेका हौं, यो तालमेल सशक्त छ।”
स्थानीय चुनावको मत हेर्दा बोहरा बलियो देखिएपछि खाँणले भैरहवा केन्द्रित चुनावी अभियान अघि बढाएका छन्। बोहरा जस्तै उनी पनि चुनावी खेलाडी हुन्। उनले भैरहवामा पकड राख्ने सन्तोषकुमार पाण्डेलाई लोसपाबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनाएका छन्। पाण्डेको लोकप्रिय मत र बोहराको परम्परागत मत तान्ने रणनीति अनुसार खाँण अहिले भैरहवामा चुनावलक्षित कार्यक्रममा खटिइरहेका छन्। यद्यपि, ती मत खाँणले पाउँछन् कि पाउँदैनन् भन्ने स्पष्ट चित्र आइसकेको छैन।
खाँणका लागि आफ्नै पार्टीभित्रको किचलो चुनावमा भारी पर्न सक्छ। पार्टी पंक्ति बाहिर खाँणले सत्ताको प्रयोग मार्फत प्रभाव बढाए पनि पार्टीभित्रको अन्तर्विरोध साम्य पार्न सकेका छैनन्। कांग्रेस क्षेत्रीय समितिका एक सदस्यका भनाइमा पार्टीभित्रको असन्तुष्टि नगर, क्षेत्र र जिल्ला अधिवेशनदेखिको हो। खाँण निकटहरूले पार्टीभित्रको अर्को समूहलाई भौतिक आक्रमणसम्म गरेकाले त्यसको असर मतमा पर्न सक्ने उनको तर्क छ।
यद्यपि, कांग्रेस रुपन्देही–३ का क्षेत्रीय सभापति सुशील गुरुङ खाँणको व्यक्तिगत प्रभाव र कांग्रेस सहित गठबन्धनको परिचालनले चुनावमा उत्साह देखिएको दाबी गर्छन्। टुटफुटले विपक्ष कमजोर भएकाले कांग्रेसका लागि जित हात पार्न सहज भएको उनी बताउँछन्।