महाकाली कि भैरवी?
अनादि कालदेखि महाकाली वारिपारिका मानिसहरू कतै साँघु, डुङ्गा, तुइन त कतै पौडेर ओहोरदोहोर गरिरहेकै छन्, लोकसाहित्य र नृत्यबाट मायालु फकाएकै छन्। तर, राजनीतिले यो साइनोमाथि बारम्बार प्रहार गरिरहेको छ।
नेपालको राजनीति र संस्कृतिमा ‘असार पन्ध्र’ भएका वेला म आफ्ना केही चेला र मित्र गरी अठार–उन्नाइस जनासँग महाकाली पारि कुमाउँको अल्मोडामा ‘नेपाल–भारतको मैत्री र उत्तराखण्डः साझे इतिहास र संस्कृति’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिन पुगेको थिएँ। आयोजकले नै मिलाइदिएका चार वटा शीतल ट्याक्सीमा धनगढी–अल्मोडा ओहोरदोहोर गर्दा दुई पल्ट महाकालीको दर्शन भयो।
नेपालमा महाकाली नाम दिइएको नदीलाई भारतमा शारदा भन्छन्। महाकालीको अर्को नाम भैरवी र उनका पति शिवजीको अर्को नाम भैरव हो। अमरकोश अनुसार, भैरवीका अनेक अर्थमध्ये एउटा डरलाग्दो भन्ने हुन्छ। शारदा चाहिं सरस्वतीको नाम हो जसको रूपै शान्त र सौम्य हुन्छ। सिक्काको एकातिर गाई र अर्कातिर त्रिशूल रहे झैं मैले भारत जाँदा महाकालीको भैरवी रूपको दर्शन गरें भने फर्कंदा भगवती शारदाको ‘भारती’ रूपको।
नेपालीलाई महाकालीको भैरवी रूप देख्दा चार किसिमको स्वाद आउँदो रहेछ– भयानक, बीभत्स, रौद्र र करुण रस। नेपाल छिर्दा भारतीय नागरिकलाई पनि चारै किसिमकै स्वाद आउँदो होला– शान्त, शृङ्गार, हास्य र वीर (गौरव) रस।
एउटै भगवतीका दूधको आफूतिरको लाम्टो चुस्न पाउँदा नेपाली प्रजाले महाकाली आमाको कालो भैरवी रूप देख्दा रहेछन् भने भारतीय प्रजाले आफूतिरको लाम्टो चुस्दा शारदा (भारती) आमाको शान्त, शीतल र सेतो शारदीय रूप देख्ता रहेछन्। यस्तो अद्भुत नाटक मञ्चन गर्न सक्ने सीमा वारिपारिका प्रतिभाशाली कुशल नाटककार, सूत्रधार र अभि–‘नेता’ हरूको कति प्रशंसा गरौं!
इतिहासको कुनै निर्मम घटनालाई सबैले एकै नासको देख्छन् भन्ने ठानिनु आधुनिकतावादी विचार हो, त्यसै घटनालाई बेग्लाबेग्लै मानिसले आफूलाई परेको प्रभाव र चासो अनुसार फरक फरक देख्ने ठानिनु चाहिं उत्तर आधुनिकतावाद। मैले पनि महाकाली–शारदाको अर्धनारीश्वरको वामदेव जस्तो रूप उत्तर आधुनिक नै देखें। गोष्ठीको विषय उत्तराखण्डको सेरोफेरोमा नेपाल–भारतको लौकिक, ऐतिहासिक र सांस्कृतिक साइनो भएकाले महाकाली वारिपारिका मानिसको साझे इतिहास र परम्पराको खोजी र चर्चा हुने नै भयो। यससँगै एकअर्काबाट सिक्नु पनि थियो।
नेपालमा महाकाली नाम दिइएको नदीलाई भारतमा शारदा भन्छन्। महाकालीको अर्को नाम भैरवी र उनका पति शिवजीको अर्को नाम भैरव हो।
महाकाली वारिपारिका जातिबीच नङमासुको साइनो छ। त्यो साइनो कति वर्ष पुरानो हो, लेखाजोखा नै छैन। महाकालीका शिरमा लिपुलेक भन्दा माथि हिमाली घोडेटा, गोरेटा, ‘भेडेटा’ र ‘बख्रेटा’ बाट मानिसहरू पैदलै दिनमा अनगिन्ती पल्ट ओहोरदोहोर गर्छन्; महाकालीका अनेक सहायक नदीका, भल, भङ्गाला, छहरा, भुल्के र जरुवाको सङ्लो पानी खाएर गोठाला र उनीहरूका जन्तु अनादि कालदेखि तिर्खा मेट्तै छन्। न ती जन्तु अनि न ती ‘जन्ता’ लाई आफू कुन वेला भारत वा कुन वेला नेपालमा छु भन्ने चासो र खोजी हुन्छ। अलिक तलका बासिन्दा ती खोला र खोल्सा जँघारै तर्लान्। मानिसहरू कतै पौडेर, कतै तुइनबाट, कतै डुङ्गाबाट, कतै साँघुबाट ओहोरदोहोर गरेकै छन्, लोकसाहित्य र लोकनृत्यबाट मायालु फकाएकै छन् र जीवन धानेकै छन्। तर, राजनीतिले उनीहरूको अनादि कालदेखिको सङ्लो साइनो छ्याकछ्याक्ती पारेर काटिरहेको छ। कुनै दिन त्यहाँका घोरल र चौंरीलाई पनि राजनीतिक अंशबण्डाले प्रवेशाज्ञाको छेकारो लगाउन सक्छ भन्ने ती अबोधहरूलाई थाहै छैन।
आज महाकाली वारिपारिका खसहरू भैंसी पाल्छन्, दूध पनि खान्छन्। भैंसी पाल्ने चलन वैदिक र पौराणिक होइन, सिन्धु नदीका तल्ला बेंसीमा मौलाएको हडप्पा सभ्यता (ईपू. ३५००–१५००) बाट हामीले सिकेका हौं। तर, हाम्रो हिमाली संस्कृतिमा भैंसी पनि नङमासु झैं भएको देखिन्छ। हाम्रा लोककथामा बन्धुहत्याको पापमोचन गर्न राँगाको भेस लिएर भैंसीका जेरमा लुकेका शिवजीलाई ठम्याउन भीमसेनले आफ्नो टाङमुनि छिराउन बल गर्दा भुइँमा धसिएको राँगाको टाउको पशुपतिनाथ अनि ढाड चाहिं केदारनाथ हुन् अरे। काठमाडौं उपत्यकामा चाहिं लोककथाहरूले डोलेश्वर महादेवलाई त्यो राँगाको टाउको मान्दा रहेछन्। यसरी हिमाली सभ्यतामा हामी राँगाको पनि पूजा गर्दै रहेछौं। तर, सिन्धु नदीका माथिल्ला बेंसीमा रचिएको ऋग्वेद र गङ्गाको बेंसीमा रचिएका पुराणहरूमा राँगो र भैंसी पुजिएको देखिँदैन। शिवकी अर्धाङ्गिनी दुर्गाले महिषासुर (राँगो रूपको असुर)लाई मार्दा ‘तिमीले मेरो प्रिय भक्तलाई मार्यौ’ भनेर शिवजीले दुःखमनाउ गरेका थिए अरे!
कुमाउँ विश्वविद्यालयका प्राध्यापक महेश्वर जोशीले हालसालै गढवालका ओढारमा राँगाको टाउको भएका, एउटा हातमा त्रिशूल र अर्को हातमा रुद्राक्षको माला बोकेका, नागको जनै लगाएका, ऊर्ध्वरेता केदारेश्वर (अर्थात् पशुपतिनाथ)को मूर्ति फेला पारेका छन्। आर्यहरूका वेद र पुराणमा कतै उल्लेख नभएको पशुपतिनाथ र केदारनाथको महिषासुर रूप त हाम्रा लोककथाले पो साँचेका रहेछन् त! यसैले महाकाली वारिपारिका खस जनजाति मात्र होइन, अनादि कालदेखि त्यहाँ बसोबास गरिरहेका कुनेत, थारू, राजी (राजकिरात) र व्यासीका लोकविद्याहरूमा लुकेको इतिहास लोप हुनुअघि नै खोजी र अनुसन्धान गरिनुपर्छ। पुरातात्त्विक अनुसन्धानले गोरुमा चढेका, नागमाला लगाएका शिवजी र सिंहवाहिनी भगवतीलाई मेसोपोटामिया र हडप्पाका प्राचीन सभ्यता जोड्ने देउताका रूपमा स्थापित गरिसकेको छ।
महाकाली वारिपारिका जातिबीच नङमासुको साइनो छ। त्यो साइनो कति वर्ष पुरानो हो, लेखाजोखा नै छैन।
हाम्रो उपमहाद्वीपको लोकविद्या नउगालीकन भारतमा दिगो शासन गर्न नसकिने ठहर्याएर भारतीय परम्परा, संस्कृति र लोकविद्या पूरै उगाल्ने कुनियतले थोमस मेकालेको सुझाव अनुसार भारतमा राष्ट्रिय अनुहार र अराष्ट्रिय सोच भएका काला अंग्रेज उत्पादन गर्न बेलायती भारतले अनिवार्य अंग्रेजीको वनमारा होइन, कुलमारा र लोकमारा शिक्षा योजना लागू गर्यो। पढेलेखेका भारतीय विद्वान् त्यही बिखालु शिक्षाको बगैंचामा फलेका फल खाएर अंग्रेजी नपढेकालाई हेपिरहेका छन्। आफ्नै आमाबाबु, दाजुभाइ, हजुरबा–हजुरआमा, इष्टमित्र, छिमेकी, गाउँले र देशवासीहरूलाई अशिक्षित, असभ्य, पाखे र अविकसित ठानिरहेका छन्। अनि पुर्खाले सन्तानलाई सक्कली भारतीय बनाउन काम लाग्ला भनेर पुस्तैपुस्ता सार्दै ल्याएका, गौरवमय परम्परा बोकेका लोककथा र लोकविद्यालाई काम नलाग्ने ठहर्याइरहेका छन्।
पृथ्वीनारायण शाहको दिव्योपदेशको ‘बुढा मरै, भाका सरै’ को अर्थ के हो भने बूढाबूढी मरेर गए पनि उनीहरूले सन्तानलाई आफूले पुर्खाबाट सिकेको लोकविद्या सिकाएका हुन्छन्, त्यसैले लोकविद्या चाहिं नासिँदैन। तर, मेकालेले लगाएको विदेशी शिक्षाको डढेलोमा परेर हाम्रा सन्तान पुर्ख्यौली विद्या सिक्न पाउँदैनन्। त्यसैले अहिले ‘बूढा पनि मरै, भाका पनि मरै’ भइरहेको छ।
मेकालेले लगाएको डढेलो अझ फैलाउँदै हाम्रा विद्यालय र विश्वविद्यालयहरू पनि विद्यार्थीको ध्यान विदेशतिरै आकर्षित गरिरहेछन्। हाम्रो शिक्षा मन्त्रालयले देशभरका बुद्धिका कारखानाहरूमा नेपाल होइन, विदेश पढाउँछ।
लोककथा, गाथा, लोकपुराण र लोकविश्वासमा लुकेको हाम्रो सत्य इतिहास हाम्रा आमा, हजुरआमा, बूढापाका र गुरुजनबाट सुनेर, सिकेर, मनन गरेर, छलफल गरेर हामी पुनर्निर्माण गरेर ठड्याउन सक्छौं। तर, मेकालेले लगाएको डढेलोले सखाप भएको हाम्रो लोक–इतिहासको खरानीको मूर्तिमा मौलिकता कत्तिको झल्किन्छ, अड्कल गर्न नसकिने भए पनि लोकविद्याबाट इतिहासको खोजी गर्न छोड्नु हुँदैन। अल्मोडा गोष्ठीको मैले बुझेको रहस्य यही हो।
चीनमा एक वर्ष बसेर फर्केपछि मैले लेखेको थिएँ, ‘इतिहास खोज्ने चिनियाँ तरिका।’ २०–२२ वर्षअघि चीनले आफ्नो सक्कली इतिहास बनाउन विश्वविद्यालयका अनेक अनुसन्धातालाई जोडेर आफ्ना र अरूका अनेक इतिहास अध्ययन गराएको मात्र होइन, चिनियाँ लोकसाहित्य र लोकविद्याका धुरन्धरलाई पनि जोडेको थियो।
लोककथा, गाथा, लोकपुराण र लोकविश्वासमा लुकेको हाम्रो सत्य इतिहास हाम्रा आमा, हजुरआमा, बूढापाका र गुरुजनबाट सुनेर, सिकेर, मनन गरेर, छलफल गरेर हामी पुनर्निर्माण गरेर ठड्याउन सक्छौं।
साझा सभ्यता
ऋग्वेद काल (इ.पू. १५००–१२००)मा सिन्धु/सरस्वतीदेखि कर्णाली नदीसम्मको भूभागलाई पाञ्चाल भनिन्थ्यो। त्यहाँका शासक सुदास र उनका छोरा दिवोदास थिए। ऋग्वेदमा अफगानिस्तानको कुभादेखि भारतको गङ्गा नदीसम्मको मात्र नाम लेखिएकाले त्यसभन्दा पूर्व वैदिक सभ्यता फैलिएको थिएन होला भन्ने मान्यता (म्याक्स मुलर) थियो। त्यसलाई चिर्दै राजस्थानका इतिहासविद् जर्ज टडले सात वटा पुराणमा ऋग्वेदमा उल्लिखित राजाहरूको वंशावली जोडेर ऋग्वेद कालमै वैदिक सभ्यताको विस्तार कोशी नदीसम्म पुगेको मान्यता स्थापित गरे। पार्जिटरले चाहिं टडको दाबीको सत्यता जाँच्न दश वटा पुराणका राजाहरूको वंशावली तुलना गरे। गौतम ऋषिकी पत्नी अहल्या दिवोदासकी बहिनी थिइन्। मिथिलाको पूर्वी सिमाना कोशीसम्म वैदिक शिक्षा फैलाउने काम पाञ्चालकै ज्वाइँ गौतम ऋषिले गरेका थिए।
अस्को पर्पोला (२०१५ इ.) का अनुसार, ऋग्वेद र अथर्व वेद झण्डै एउटै कालमा रचिएका हुन् किनकि अथर्व वेदका ऋषिहरूले ऋग्वेदका ऋचा पनि लेखेका छन्। महाभारतमा खसहरूलाई व्रात्य भनिएको छ। पर्पोला लेख्छन् कि ऋग्वेद र वर्णाश्रम धर्म सिन्धुको बेंसीमा रचियो भने अथर्व वेद पहाड र मोफसलमा। पहिले ब्राह्मण र शूद्र गरी दुइटा मात्र जात थिए; क्षत्रिय र वैश्य ब्राह्मणकै उपभेद हुन् अनि ‘शूद्र’ भनेको अर्कै जातिको मान्छे। वैदिक धर्म पाखामा भन्दा बेंसीमा फैलियो। त्यसो हुँदा आफ्नै जातिका वैदिक धर्म नमान्नेलाई चाहिं ‘व्रात्य’ भनियो। त्यस्ता व्रात्यलाई ब्राह्मण बनाउन ‘व्रात्य स्तोम’ र ‘सोमयाग’ भन्ने यज्ञ गर्नुपर्थ्यो। पाखा र मोफसलमा बसोबास गर्ने जसलाई कसैले ‘व्रात्य स्तोम’ गराएन, ती जाति जनै नलगाउने ‘व्रात्य’ नै रहे। खसान क्षेत्रमा त्यस्ता जनै नलगाउने ‘पावै’ थुप्रै छन्। पुराणहरूमा खसान क्षेत्रमा त दस्यु र असुर बस्छन्। डोटी–डँडेल्धुरामा घटोत्कच (घटाल)को पूजा गरिन्छ अनि शिवपुराणमा शिवजीलाई पनि असुर भनिएको छ। नटराज शिवजी चौसट्ठी कलाका रक्षक हुन् अनि शिवपार्वती नै तन्त्रका देउता पनि। अथर्व वेदमा शिवजीलाई पनि ‘व्रात्य’ हरूका नाइके भनिएको छ। शिवजीको कैलास पनि खसानमै छ। ब्रह्मपुत्रदेखि सिन्धुसम्मका लेकबेंसी र मोफसलका देउता शिवपार्वती नै हुन्।
महाभारत कालमा उत्तर पञ्चालकी राजकुमारी द्रौपदीको बिहे पाँच पाण्डवसित भएको थियो। आज पनि डोल्पा र हुम्लाका कतिपय खस परिवारमा दाजुभाइबीच पत्नी साझे गर्ने द्रौपदी प्रथा पाइन्छ। कुमाउँमा पनि त्यो प्रथा कतै कतै कायम छ अरे! कुन्तीका पनि पाँचै वटा पति थिए। पुराणका यक्ष, गन्धर्व र अप्सरा पनि यसै क्षेत्रका हिमाली जाति थिए। आज पनि कुमाउँका नायर र नेपालका बादीहरूले अप्सराहरूको परम्परा जोगाएकै छन्। पितृसत्तात्मक समाजले मातृसत्ताको यो परम्परालाई बुझ्न नसकेर ती महिलालाई लाञ्छित गरिरहेका छन्। लैङ्गिक समानता भएका खसका ‘गोती शक’ युवतीहरू लडाइँमा पुरुष सँगसँगै भिड्थे। युनानी इतिहासकार हेरोडोटसले पनि यस क्षेत्रको स्त्रीराज्यको बखान गरेका छन्। एट्किन्सन र राहुल सांकृत्यायनले पनि गढवाल, कुमाउँ र पश्चिम नेपालका मिल्ने कुरा थुप्रै लेखेका छन्।
यसै क्षेत्रलाई समेटेर स्कन्द पुराणका तीन खण्ड रचिएका छन्– ‘केदार खण्ड’ (गढवाल र कुमाउँ), ‘मानस खण्ड’ (कुमाउँको नन्दादेवीदेखि डोल्पाको कागमारा लेक सम्म) र ‘हिमवत् खण्ड’ (नेपाल, कुमाउँ, गढवाल, हिमाचल र काश्मीर)।
नेपाली र भारतीय जनताको साइनो अनादि कालदेखि आजसम्म बिग्रेको छैन अनि कहिल्यै बिग्रिँदैन। जनताको यस्तो नङमासुको साइनोमाथि प्रहार गर्नेहरूको बुद्धि सप्रियोस्!
र, आज
नेपाल–भारतको बहुलाएको राजनीतिले आज दुई देशको साइनो सुमधुर छैन। त्यही साइनो दिगो रूपमा सुधार्न र न्यानो बनाउन सकिन्छ कि भनेर दिल्लीस्थित ‘नेपाल अध्ययन केन्द्र’ ले यो गोष्ठी आयोजना गरेको रहेछ। ताकि महाकाली वारिपारिका जनताको साझे आत्मीय साइनाका विविध आयाममा निरन्तर अनुसन्धान र अन्तरक्रियाबाटै चुँडिएको तुइन, भत्केको पुल गाँस्न र मानिसको दुखेको मनमा मलम लगाउन सकियोस्।
आयोजकको भावना राम्रो हो तर भारत र नेपालका मन्त्री र बडाहाकिम ओहोरदोहोर गर्दा महाकालीमा बसेका सुरक्षाकर्मीले निर्ममतापूर्वक उनीहरूको सुरक्षा जाँच गर्न झोला बोकाउँदैनन् होला र रुखो व्यवहार गर्दैनन् होला! महाकालीबाट पुल तर्न नेता र बडाहाकिमले ढाटमा दुई दुई घण्टा पर्खिनु पर्दैन होला! दोहोरो गाडी गुड्ने पुल साँघुरो भएको दुःख नेता र बडाहाकिमले बेहोर्नु पर्दैन होला! तुइन चुँडिएर नेता र हाकिम मरेको खबर समाचारमा किन कहिल्यै आएन!
भारतीयसँगको जस्तो घनिष्ठ साइनो नेपालीको अरू कसैसित हुन सक्दैन भन्ने कुरो बुझेर भारतका नेता र हाकिमले नेपालीलाई दुख्ने गरी घुँएत्रो हान्नु हुँदैन। नेपालका नेता र हाकिमले पनि आफ्ना जनतालाई देखाएर साउने सँग्रातीमा लुतो फाल्न भारततिर ताकेर बल्दो अगुल्टाको ‘बुमर्याङ’ हान्न हुँदैन! नेता नेता र हाकिमबीचको साइनो त पानीको फोको जस्तो क्षणिक हुन्छ। जनताबीचको साइनो मात्र नङमासु भएर मिलेको हुन्छ। नेपाली र भारतीय जनताको साइनो अनादि कालदेखि आजसम्म बिग्रेको छैन अनि कहिल्यै बिग्रिँदैन। जनताको यस्तो नङमासुको साइनोमाथि प्रहार गर्नेहरूको बुद्धि सप्रियोस्! त्यसो भए हामी आफ्नी महाकाली आमाको डरलाग्दो रूप हाम्रै रक्षाका लागि रहेको र शारदाको शान्त रूप पनि हाम्रै सौभाग्यका लागि रहेको ठान्नेछौं।
(भाषावैज्ञानिक पोखरेल निबन्ध, व्याकरण, समालोचना सहितका विधामा लेख्छन्। हिमालको २०७९ कात्तिक अंकबाट।)