घरजग्गा कारोबारमा चरम मन्दी, काठमाडौंमा दुई तिहाइले घट्यो किनबेच
जग्गाको कित्ताकाँट नभएको, ब्यांकमा लगानीयोग्य पूँजीको अभाव तथा बढ्दो ब्याजदरका कारण घरजग्गा कारोबार चरम सङ्कटमा परेको छ।
देशैभरि घरजग्गाको कारोबारमा व्यापक मन्दी आएको छ। एक वर्षअघिको अवस्थासँग तुलना गरेर हेर्दा घरजग्गाको किनबेच सुस्ताएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाउँछ।
विभागको तथ्याङ्क अनुसार, चालू आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महीना (साउन-असोजसम्म)मा देशभरि ९३ हजार ९४३ वटा घरजग्गाको लिखत पारित भएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ५४ प्रतिशतले कम हो। काठमाडौं उपत्यकामा कारोबार ६३.९ प्रतिशतले घटेको छ।
देशभरिको घरजग्गा किनबेचमा कमी आउनुमा दुई प्रमुख कारण मानिएका छन्। पहिलो, भू-उपयोग नियमावली अनुसार जग्गाको कित्ताकाट नभएका कारण जग्गाको किनबेच रोकिएको छ। सरकारले देशभरिको जग्गा खण्डीकरण रोक्न भू-उपयोग नियमावली जारी गरे पनि त्यस अनुसार जग्गाको वर्गीकरण हुन सकेको छैन।
कृषियोग्य, आवास लगायतका क्षेत्र छुट्याएर जग्गाको वर्गीकरण स्थानीय तहहरूले गर्नुपर्छ। तर, अधिकांश स्थानीय तहले वर्गीकरण गरेका छैनन्। वर्गीकरण नभएको जग्गा किनबेच हुँदैन। जसले गर्दा सिङ्गो जग्गा किनबेचको चक्र प्रभावित भएको छ।
अर्कातिर, ब्यांक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अभाव एवं घरजग्गामा निरुत्साहनको नीतिका कारण पनि घरजग्गाको कारोबारमा मन्दी आएको छ। पछिल्लो समयमा ब्यांक तथा वित्तीय संस्था लगानीयोग्य रकमको अभावको चाप खेपिरहेका छन्। यसले गर्दा ब्यांकसँग ऋण लिएर घरजग्गामा लगानी गर्नेहरूले पर्याप्त ऋण पाएका छैनन्।
ब्यांक तथा वित्तीय संस्थाको बढ्दो ब्याजदरले पनि यस्ता लगानीकर्ता निरुत्साहित छन्। अहिले अधिकांश ब्यांक तथा वित्तीय संस्थाको ऋणको ब्याजदर १२ प्रतिशतभन्दा माथि छ।
यसै गरी नेपाल सरकार तथा नेपाल राष्ट्र ब्यांकले घरजग्गामा लगानीका लागि निरुत्साहनको नीति अघि सारेको छ। यो वर्षको मौद्रिक नीतिले घरजग्गा धितो राखी प्रयोजन नखुलेको ऋण लिंदा पाउने कर्जाको रकम घटाउने गरी नीति अघि सारेको थियो। काठमाडौंमा उपत्यकामा एक करोड पर्ने घरजग्गा धितोमा राखेर ३० लाख मात्रै ऋण पाइन्छ।
त्यसै गरी सरकारले बजेट मार्फत घरजग्गाको किनबेचमा लाग्दै आएको पूँजीगत लाभकरलाई पनि बढाइदिएको थियो। घरजग्गालाई अनुत्पादक क्षेत्र मानेर सरकारले पछिल्लो समयमा यो क्षेत्रमा जाने लगानी निरुत्साहित गरिरहेको छ। उपभोक्ताको क्रय क्षमता समेत खस्किएपछि घरजग्गाको माग पनि घटेको छ।
गत वर्षको साउनमा देशभरि ७५ हजार ४१७ वटा घरजग्गाको लिखत पारित भएकोमा यो वर्षको साउनमा यो एक तिहाइ अर्थात् २५ हजार ७८९ मा खस्किएको छ। भदौमा पनि कारोबार झण्डै आधाले खुम्चिएको छ। गत वर्ष भदौमा ७० हजार वटा लिखत पारित भएकोमा यो वर्ष ३४ हजार ७२० वटा लिखतमा सीमित हुन पुगेको छ।
असोजमा पनि कारोबार खुम्चिएको तथ्याङ्कले देखाउँछ। गत वर्ष असोजमा ५९ हजार २२७ वटा लिखत पारित भएकोमा यो वर्षको असोजमा ३३ हजार ४३८ वटा लिखत मात्रै पारित भएको तथ्याङ्क छ।
घरजग्गाको कारोबारमा सबैभन्दा धेरै मन्दी राजधानी काठमाडौंमा आएको छ। यो वर्षको पहिलो तीन महीना (साउन-असोज)मा काठमाडौं उपत्यकामा १० हजार २७७ वटा मात्रै लिखत पारित भएका छन्। यो अघिल्लो वर्षका तुलनामा ६३.९ प्रतिशतले घटेको हो। गत वर्षको पहिलो तीन महीनामा काठमाडौं, ललितपुर र भक्तपुरका गरी नौ वटा मालपोत कार्यालयमा २८ हजार पाँच सय वटा घरजग्गा किनबेच भएका थिए।
गत वर्षको असोजमा काठमाडौं उपत्यकाका मालपोत कार्यालयमा नौ हजार १२६ वटा घरजग्गा किनबेचका लिखत पारित भएकोमा यो वर्षको असोजमा दुई हजार ७६१ वटामा सीमित भएको छ। यो झण्डै ७० प्रतिशतको गिरावट हो।
घरजग्गाको कारोबार घटेसँगै यो क्षेत्रबाट सरकारलाई प्राप्त हुने राजस्व रकम समेत अत्यधिक घटेको छ। गत वर्षको एक महीनामा उठ्ने राजस्व यो वर्ष तीन महीनामा मात्रै उठेको छ। गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महीना (साउन-असोज)मा देशभरि घरजग्गाको कारोबारबाट २३ अर्ब ७३ करोड राजस्व सङ्कलन भएको थियो भने यो आर्थिक वर्षको पहिलो तीन महीनामा आठ अर्ब ८७ करोड मात्रै सङ्कलन भएको छ। यो करीब ६३ प्रतिशतले कमी हो।
यस वर्षको असोजमा घरजग्गाको कारोबारबाट दुई अर्ब ५७ करोड राजस्व सङ्कलन भएको छ। जुन गत वर्षको यही अवधिमा सात अर्ब ३३ करोड राजस्व सङ्कलन भएको थियो।
काठमाडौं उपत्यकामा पनि राजस्व दुई तिहाइले खस्किएको छ। हरेक महीना तीन अर्बभन्दा बढीको राजस्व सङ्कलन हुने गरेकामा यो वर्ष एक अर्ब हाराहारीमा ओर्लिएको छ।
नेपालको घरजग्गा क्षेत्र लामो समयदेखि चरम मूल्यवृद्धिको चपेटामा परेको थियो। मूल्यवृद्धिका कारण आकर्षक मुनाफा दिने भएकाले व्यवसायीले ठूलो रकम लगानी गर्दै आएका थिए। बिचौलिया र जग्गाधनीको मिलेमतोमा अविवेकपूर्ण मूल्य बढोत्तरीका कारण काठमाडौं उपत्यका सहित देशभरिका शहरी क्षेत्रका घरजग्गाको मूल्य चरम रूपमा उकालो चढेको थियो।
तर, घरजग्गाको कारोबारमा उच्च गिरावट र मागमा कमीसँगै यसको मूल्य समेत घट्ने अनुमान गरिएको छ। पछिल्लो समयमा काठमाडौं उपत्यकामा घरजग्गाको मूल्य स्थिरप्रायः छ।
घरजग्गा क्षेत्रको मन्दीका कारण यो क्षेत्रमा लगानी खन्याएका सहकारी समेत समस्यामा पर्न थालिसकेका छन्। कैयौं सहकारीले आफ्ना सदस्यको निक्षेप फिर्ता गर्न सकेका छैनन्। लगातार ब्यांकको ब्याज बढेका कारण ऋण लिएर घरजग्गामा लगानी गरेकाहरूको कर्जाको सावाँ र ब्याजको किस्ता तिर्ने क्षमता खस्किएको छ।
जसले गर्दा ऋणी कालोसूचीमा पर्ने जोखिम बढेको छ। कालोसूचीमा पर्नबाट जोगिन लगानीकर्ताले एकैपटक घरजग्गा बिक्रीमा चढाउने सम्भावना छ। यसले बजारमा आपूर्ति बढाउँछ। जस कारण, आगामी महीनाहरूमा घरजग्गाको मूल्य घट्ने अनुमान गरिएको छ।