‘महादानी’ मैयाँदेवीका नखुलेका पाटा
अरूलाई सहयोग गर्नुलाई जीवनको मूलमन्त्र बनाएकी मैयाँदेवीले सम्पत्ति दान मात्र गरिनन्, कलेज खोलेर शिक्षाको उज्यालो पनि छरिन्, छोरीलाई छोरा सरह अंश दिन आवाज उठाइन्।
आफूकहाँ सहयोग माग्न आउनेलाई कहिल्यै रित्तो हात फर्काइनन्, मैयाँदेवी श्रेष्ठले। उनको मन्त्र नै थियो- ‘दानीलाई कहिल्यै हानि हुँदैन।’ त्यही दानी र सहयोगी स्वभावले नै उनलाई जीवनभर सबैको हाई हाई बनाइरह्यो। उनलाई ‘मैयाँदेवी आमा’ का रूपमा पुकार्नेहरूको जमात सानो छैन। आइतबार ९४ वर्षको उमेरमा धर्ती छाड्दासम्म पनि उनीप्रतिको स्नेह र सद्भाव उस्तै छ। र, मृत्युपछि पनि उनलाई जिउँदो राख्न उनको समाजसेवी छवि र सामाजिक कीर्तिहरू जन जनको मनमा बसेका छन् ।
श्रेष्ठले आफ्नो जीवन नै राजनीति, धर्म, शिक्षा र समाजसेवामा समर्पण गरिन्। १९८५ असोज ४ गते तनहुँ, बन्दीपुरमा जन्मिएकी श्रेष्ठ चितवनमा बस्ती विकासको साक्षी र स्थानीय इतिहासकी जानकार समेत थिइन्।
सेवा गर्न सधैं तत्पर रहने उनलाई नजिकबाट नियाल्नेहरू ‘महादानी’ भन्न रुचाउँछन्। देवघाट मेलामा व्यापार गर्ने उनको परिवार कहिले नारायणगढ त कहिले बन्दीपुर बस्थ्योे। त्यसैले उनी पनि नारायणगढ र बन्दीपुरमै हुर्किइन्। पारिवारिक व्यापार बम्बईसम्मै थियो। बन्दीपुरमा विद्यालय शिक्षा पूरा गरेपछि उनी आईए पढ्न बम्बई गइन्। तर, जेठी आमाको मृत्युपछि पढाइ बीचमै छाडेर नेपाल फर्किनुपर्यो। त्यसपछि उनी राजनीतिमा लागेकी थिइन्।
घरमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत कांग्रेस नेताहरूको बाक्लै आउजाउ थियो। तिनै नेताहरूसँगको भेटघाट अनि पारिवारिक माहोलकै कारण उनी २००३ सालबाट राजनीतिमा सक्रिय भएकी थिइन्। बीपीले ‘ब्लेड’ ले औंला चिरिदिएर कांग्रेस बनाएका थिए। रगतले ‘मेरो भन्ने छैन, म भन्ने छैन, दिन भन्ने छैन, रात भन्ने छैन’ लेख्न लगाएर आफूलाई पार्टी सदस्य बनाइएको उनी बताउँथिन्।
२००७ सालको क्रान्तिमा उनी बन्दीपुरबाट सहभागी भएकी थिइन्। २०१५ सालको आमनिर्वाचनमा पार्टीबाट टिकट नपाएपछि उनले चितवनमा बागी उम्मेदवारी दिएकी थिइन्। बागी उठ्दा पार्टी कमजोर हुने भन्दै बीपीले उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै चिठी समेत पठाएका थिए।
श्रेष्ठले तिरो आन्दोलन, राप्ती दुन विकास परियोजना, भूमि वितरण समितिमा समेत सहभागी भएर कार्यकुशलता देखाइन्। २०४२ सालको सत्याग्रहमा सहभागी भएकी उनी २०४४ सालमा बीपी स्मृति दिवसको कार्यक्रममा सहभागी हुँदा पक्राउ परेकी थिइन्।
२०४६ सालको जनआन्दोलनमा पनि सक्रियतापूर्वक लागिन्। २०४८ सालको निर्वाचनमा गोरखा २ बाट प्रतिनिधि सभा सदस्य चुनिएकी श्रेष्ठलाई कांग्रेसले २०५८ सालमा राष्ट्रिय सभाको सांसद बनायो। २०६२/०६३ को आन्दोलनपछि पुनःस्थापित संसद्मा पनि उनी सदस्य थिइन्।
०६४ सालको संविधानसभा निर्वाचनमा भने चितवनको तत्कालीन क्षेत्र नं. ३ मा पराजित भइन्। पार्टीमा सक्रिय छँदा उनी सदस्यता विस्तारमा निकै खटिएकी थिइन्। त्यसैका लागि पूर्वको दार्जीलिङ, पश्चिमको नेपालगन्जसम्म पुगेको सुनाउँथिन्। पार्टी प्रतिबन्धित रहेका वेला सांगठनिक पत्राचार पनि मुश्किलको काम थियो। घोडा दौडाउन सिपालु उनी आफ्नो कपालमा चिठी लुकाएर आदानप्रदान गरेको किस्सा सुनाउने गर्थिन्।
श्रेष्ठले संसद्मा रहँदा प्रतिनिधि सभा र राष्ट्रिय सभाका महिला सांसद समूहको निर्विरोध अध्यक्ष चुनिएर काम गरेकी थिइन्। त्यस क्रममा बहुविवाह गर्न नपाइने, छोरीलाई छोरा सरह सम्पत्तिको व्यवस्था हुनुपर्ने पक्षमा आवाज उठाइन्। उनी आफैंले पनि घरमा संघर्ष गरेर अंश लिइन्। परिवारको सहमतिमा उनका दाजुले चार भाग पाउँदा उनले एक भाग सम्पत्ति पाइन्। उनको भागमा नारायणगढको तीन बिघा, देवघाटको दुई बिघा र भरतपुरको २५ बिघा खेत परेको थियो।
देवघाटमै व्यापार गर्ने भएपछि परिवारले बन्दीपुरबाट आई चितवनमै जग्गाजमीन जोडेको थियो। ९० सालको भूकम्प जाँदा उनी नारायणगढमै थिइन्। श्रेष्ठका अनुसार, त्यति वेला चितवनमा जङ्गल मात्र थियो। नारायणगढ बजार क्षेत्रमा जम्मा चार वटा घर थिए।
वरिपरि झाडी र जङ्गल भएकाले बाघ, भालु, हात्ती, गैंडा लगायत वन्यजन्तुको डर हुन्थ्यो। मचान जस्तो अग्लो घर बनाएर माथिल्लो तलामा मात्र मानिस बस्थे। त्यसपछि उनकै परिवारको अग्रसरतामा नारायणगढमा बस्ती बढेको थियो। उनी २०१३ सालमा राप्ती दुन विकास परियोजनको सदस्य रहेर जग्गा बाँडफाँडमा पनि सहभागी भएकी थिइन्।
२०६४ सालको चुनावयता भने श्रेष्ठ सक्रिय राजनीतिमा थिइनन्। २०४८ मा चुनाव लड्नुअघि देवघाटको वसिष्ठ गुफामा तीन वर्ष पाँच महीना ध्यान बसेकी उनी राजनीतिबाट ओझेल भएपछि पनि धार्मिक जीवनमै घुलमिल भइरहेकी थिइन्। देवघाट उनको मन परेको तीर्थस्थल थियो। त्यहीं बसेर घण्टौं ध्यान गर्थिन्। गुफामा ध्यान बस्दा, जप गर्दा दिन-रात बितेकै पत्तो नहुने उनी बताउँथिन्।
श्रेष्ठ आजीवन अविवाहित रहिन्। दाम्पत्य जीवन बिताउनेतर्फ उनको ध्यानै गएन। बिहेका लागि आएका प्रस्तावहरू अस्वीकार गरिरहिन्। सम्पन्न परिवारमा जन्मे/हुर्केकाले उनलाई आर्थिक समस्या भएन। प्रशस्त धनसम्पत्ति भएकाले परिवारमै दान गर्ने परम्परा थियो। त्यसैलाई उनले निरन्तरता दिइन्। आफ्नो भागमा पाएको पुर्ख्यौली सम्पत्ति बेचेरै पनि दान गर्दै आइन्।
भरतपुरको चौबीसकोठी नजिकै श्रेष्ठले मैयाँदेवी कन्या कलेज स्थापना गरेकी छन्। कलेजको १२ कट्ठा जमीन र भवनको खर्च सबै उनैले बेहोरेकी हुन् जहाँ स्नातकोत्तरसम्म पढाइ हुन्छ। श्रेष्ठले नारायणगढको बालकुमारी कन्या स्कूललाई १० कट्ठा जग्गा दिएकी छन्। चितवन कांग्रेसको भवन नारायणगढस्थित उनैले दान गरेको जग्गामा छ।
श्रेष्ठले कांग्रेस केन्द्रीय कार्यालयका लागि काठमाडौंमा पनि जग्गा दिएकी छन्। कतिलाई स्वास्थ्योपचार, विवाह, पढाइका लागि समेत सहयोग गरेकी छन्। उनकै सहयोगमा ठडिएका सामाजिक-धार्मिक संघसंस्था, पाटीपौवा, धर्मशाला त छँदै छन्।
२०७२ को भदौमा आफ्नो सम्पत्ति मैयाँदेवी ट्रस्ट बनाएर हस्तान्तरण गरिन्। विकट क्षेत्रमा शिक्षा, खानेपानी तथा स्वास्थ्यका योजना पुर्याउन, महिला अनि अपाङ्गता भएकाहरूलाई सघाउनु ट्रस्टको उद्देश्य हो। श्रेष्ठले दान गरेका सम्पत्तिको मूल्य नै अहिलेको दरमा अर्ब रुपैयाँ नाघ्छ।
पार्किन्सनले च्यापेपछि उनी पछिल्लो वर्षदेखि बाहिरी गतिविधिमा त्यति संलग्न थिइनन्। उपचारका क्रममा कात्तिक ६ गते चितवन मेडिकल कलेजमा निधन भएकी उनको देवघाटधाममा अन्त्येष्टि गरियो। उनका चार जना धर्मपुत्र छन्।