प्रधानमन्त्री र गठबन्धनका नेतालाई आयोगको प्रश्न- हेलिकोप्टर चढेको खर्च कसले तिर्छ?
निर्वाचन आयोगले प्रधानमन्त्री सहित सत्तारूढ गठबन्धनका शीर्ष नेतासँग हेलिकोप्टर प्रयोग गरिएको विषयमा स्पष्टीकरण मागेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायत गठबन्धनका नेताले चुनावी प्रचारका लागि हेलिकोप्टर प्रयोग गरेको विषयमा निर्वाचन आयोगमा उजुरी परेको छ। निर्वाचन आचारसंहितामा चुनावी प्रचारका लागि सरकारी स्रोतको प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ।
प्रधानमन्त्री देउवालाई गठबन्धनका नेताले हेलिकोप्टर प्रयोग गरेपछि स्पष्टीकरण मागिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जनाएका छन्। आयोगले पठाएको स्पष्टीकरणमा भनिएको छ, ‘प्रधानमन्त्री, विभिन्न राजनीतिक दलको उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीहरूले समेत हेलिकोप्टर सेवा प्रयोग गर्दा लागेको खर्चको व्ययभार सरकारी कोषमा पर्छ/पर्दैन स्पष्ट गरी लेखी पठाउन।’
आयोगले उम्मेदवार तथा राजनीतिक दलले गर्न पाउने खर्चको सीमा तोकेको छ। त्यसैले हेलिकोप्टर प्रयोग गर्दा भएको खर्चका विषयमा पनि प्रश्न गरेको हो।
आयोगले भनेको छ, ‘प्रधानमन्त्री, विभिन्न राजनीतिक दलको उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीहरू समेतले हेलिकोप्टर सेवा प्रयोग गरेको भनी विभिन्न सञ्चार माध्यमबाट सूचना प्राप्त भएकाले त्यसरी हेलिकोप्टर प्रयोग गर्दा लागेको खर्च कुन राजनीतिक दलको खर्चको सीमाभित्र पर्ने हो, सो खुलाई पठाउन।’