भारतीय माछा बिक्रीमा प्रतिबन्ध
चितवनमा भारतीय माछा बिक्री गर्न प्रतिबन्ध लगाइएको छ।
भारतीय माछा बिक्रीमा प्रतिबन्ध गर्ने निर्णय गरेको माछा व्यवसायी संघ चितवनका अध्यक्ष खेम सुवेदीले जानकारी दिए।
सुवेदीका अनुसार, मत्स्य व्यवसायी संघको केन्द्रीय र जिल्ला तहका नेतृत्व सहित जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, कालिका नगरपालिकाका उपप्रमुख विमला तामाङ, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चिरञ्जीवी सुवेदी लगायतका सरोकारवालाको बसेको बैठकले माछाको आयात नगर्ने निर्णय गरेको हो।
“हामीले चितवनलाई पुग्ने माछा उत्पादन गरिरहेका छौं, भारतबाट आयात गर्नुपर्ने अवस्था छैन,” सुवेदीले भने, “भारतीय माछा बिक्री वितरणमा रोक लगाउन यहाँका सरोकारवाला पक्ष पनि सकारात्मक हुनुहुन्छ।”
चितवनमा वार्षिक सात हजार मेट्रिक टन माछा उत्पादन भइरहेको तर माग भने वार्षिक चार हजार मेट्रिक टन मात्रै रहेको उनको भनाइ छ। चितवनमा उत्पादन भएको माछा काठमाडौं, पोखरा, गोरखा, लमजुङ, बाग्लुङ लगायतका शहरसम्म जान्छ। माछा व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले चितवन दुई वर्षयता माछामा आत्मनिर्भर भएकाले भारतीय माछा बिक्रीमा रोक लगाइएको बताए।
चितवनका माछा किसान गत भदौ १ गतेदेखि भारतबाट भन्सार छली ल्याइएका माछालाई रोक लगाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका थिए। माछा व्यापारीहरूले यसका लागि अर्थमन्त्री, गृहमन्त्री, मुख्यमन्त्रीलाई ज्ञापनपत्र बु्झाएका थिए।
चितवनमा एक हजार पाँच सयभन्दा बढी किसानले सात हजार हेक्टर जलाशयमा माछापालन गरिरहेका छन्। पूर्वी चितवनको राप्ती, खैरहनी, रत्ननगर र माडी क्षेत्रमा बढी माछापालन हुने गरेको छ। चितवनबाट शुरू भएको भारतीय माछा प्रतिबन्धलाई बिस्तारै अन्य जिल्लामा पनि विस्तार गरिने किसानहरूको भनाइ छ। रासस