हाम्रो गठबन्धनले जित्नुपर्छ: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन लामो यात्रा भएकाले जित्नुपर्ने जिकिर गरेका छन्।
सत्तारूढ गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सामेबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको संयुक्त सहकार्य र अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने बताए। “हामी देश विकासको नयाँ यात्रामा अगाडि बढ्न चाहन्छौं। हामी पुनः जाँचिन चाहन्छौं,” पूर्व प्रधानमन्त्री नेपालले भने, “हाम्रो गठबन्धनले जित्नुपर्छ। सहमतिका साथ उठाएका उम्मेदवारलाई जिताउन लाग्नुपर्छ।”
उनले गठबन्धनको शक्ति बढाउन एकले अर्कालाई विजयी गराउनुपर्नेमा जोड दिए। “यो एक दिन-दुई दिनको यात्रा होइन,” नेपालले भने, “गठबन्धन यथार्थ भएका हुनाले गाउँटोल, बस्ती बस्तीमा गएर गठबन्धनका पक्षमा माहोल बनाउन र विजयी गराउनुपर्छ।”
निकै ठूलो चुनौतीको सामना गरेर आफूहरु अगाडि बढेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री नेपालले संविधान र राज्यभन्दा माथि ठान्ने, पार्टीभन्दा माथि ठान्ने प्रवृत्ति तत्कालीन नेकपाको नेतृत्वमा देखा परेको र त्यसका विरुद्ध विद्रोह गरिएको स्मरण गरे। गणतन्त्रको आन्दोलनमा पनि कम्युनिष्ट र कांग्रेस एकआपसमा मिलेर नै सफल भएको उनले उल्लेख गरे।