जीवन सिकाउने आँख छें
महामारीका वेला तीव्र खोजी भएको वैकल्पिक शिक्षण प्रणाली बन्न सक्ने हाम्रै आदिवासी शिक्षण विधिहरू भने उपेक्षामा परिरहे।
कोभिड–१९ महामारीले आक्रान्त पारेका वेला आधुनिक विद्यालयहरू अनलाइन संसारमा पसे। विद्यार्थीलाई कसरी, कहाँ र किन पढाउने भन्नेबारे निकै बहस चल्यो। सरकारले सिकाइका विभिन्न विधि–पद्धति सुझायो। तर, यस्तै वेला काम लाग्न सक्ने आदिवासी समुदायका परम्परागत सिकाइ प्रणाली र संस्थालाई पटक्कै वास्ता गरेन।
सन् २००२ को गार्मा स्टेटमेन्ट अन इन्डिजिनियस म्युजिक एन्ड पर्फर्मेन्सले जनजाति वा आदिवासी समुदायको गीत–सङ्गीत र त्यससँग जोडिएका गतिविधिलाई जीवनपद्धति मानेको छ। सङ्गीत, नृत्य र रीतिरिवाज मार्फत आदिवासी समुदायले आत्मानुभूति गर्ने र संस्कृति कायम राख्ने जनाउँदै उक्त ‘स्टेटमेन्ट’ मा लेखिएको छ, ‘सामूहिक रूपमा अभ्यास गरिने परम्परा नै सामाजिक तथा व्यक्तिगत सुखका आधार हुन्। अतः आदिवासी समुदायका साङ्गीतिक परम्परा तथा रीतिरिवाजको संरक्षण पहिलो प्राथमिकता हुनुपर्छ। यथाशीघ्र ठोस कदम नचालिए विविध परम्परा गुमाई आदिवासी समाजले नकारात्मक परिणाम भोग्नुपर्ने हुन सक्छ।’
सङ्गीतसँगै सम्बद्ध रीतिरिवाज एकबाट अर्को पुस्तामा विधिवत् हस्तान्तरण हुन्छ। यस्तो ज्ञान जीवनोपयोगी हुन्छ। आदिवासी नेवाः समुदायमै हेरौं। उनीहरू रैथाने सङ्गीत अनि त्यससँग जोडिएका रथयात्रा, मुकुन्डो नाच, भोजभतेर, तीर्थाटन, पूजा–अर्चनाबाट आफूलाई परम्परासँग अद्यावधिक गरी बदलिँदो परिवेशसँग जुध्दै आइरहेछन्।
जीवनको परिभाषा के? वरपरको वातावरणसँग कसरी परस्पर क्रिया गर्ने? समाज कस्तो हुने वा नहुने? नेवाः समुदायको सिकाइ केन्द्र आँख छेंले सङ्गीतको संसर्गबाट जीवनका यस्तै ज्ञान–सिद्धान्तहरू सिकाउँछ। यसमा सहभागीले गुरुको निकट रही गाउन–बजाउन सिक्छ, विविध सामाजिक क्रियाकलापमा होमिन्छ। सयौं वर्ष पुरानो यस्तो समाविष्ट सिकाइ प्रणालीलाई कोभिड–कालमा पटक्कै वास्ता गरिएन। बरु बन्दाबन्दीकै कारण आँख छेंहरू लामै समय शून्य भए। पठनपाठनको आधुनिक शैलीले थिचिएका परम्परागत सिकाइ पद्धति झनै हेलामा परे। जबकि, यस्तो वेला अध्ययन अध्यापनका आदिवासी अनुभव वैकल्पिक शिक्षाका माध्यम बन्न सक्थे।
जीवनको परिभाषा के? वरपरको वातावरणसँग कसरी परस्पर क्रिया गर्ने? समाज कस्तो हुने वा नहुने? नेवाः समुदायको सिकाइ केन्द्र आँख छेंले सङ्गीतको संसर्गबाट जीवनका यस्तै ज्ञान–सिद्धान्तहरू सिकाउँछ।
नयाँ शिक्षण प्रणालीको विकासमा लागेका राज्यका योजनाकारहरूले आफ्नै उपयोगी इतिहास देखेनन्। उनीहरूले सोचेनन्– हाम्रा ठूल्ठूला मठमन्दिर कसरी बनाइए होलान्? तिनमा गजुर कसरी चढाइए होलान्? वर्षदिनलाई पुग्ने विविध चाडपर्व कसरी र किन तोकिए होलान्? रथ बनाउन कस्तो सामग्री प्रयोग गर्ने भन्ने ज्ञान कहाँबाट आयो होला? माटोबाट अनाज उब्जाई थरीथरीका परिकार बनाउन कसरी जाने होलान्? कुन मुहानको पानी पिउने र कुन थानमा कुन पाती चढाउने कसरी जाने होलान्?
शिक्षालाई राज्य तथा शासकको स्वार्थपूर्तिको साधन बनाउने उपनिवेशवादी सोचबाट ग्रस्तहरूले नेपाली भाषालाई पठनपाठनको एक मात्र माध्यम ठाने, विविध भाषाभाषी र तिनका शिक्षण प्रणालीलाई वास्ता गरेनन्। अमेरिकामा पनि कुनै वेला त्यहाँका आदिवासी समुदायका नयाँ पुस्ताले आफ्नो संस्कृति, संस्कार र भाषा भुलून् भनेर परिवार र समुदायभन्दा पर आवासीय विद्यालयमा लगेर राखियो। उनीहरूलाई शिक्षित बनाउन त्यसो गरेको बताइयो। नेपालमा पनि सबैलाई एकीकृत गर्ने निहुँमा सबैतिर नेपाली भाषामै शासकको इतिहास पढाइयो। उतिवेलाका तिनै विद्यालयले आजका आधुनिक शिक्षण संस्थाहरूलाई जन्म दिएका हुन्। यस्ता विद्यालय खुलेसँगै आदिवासी समुदायका जीवनोपयोगी ज्ञानको दमन भयो।
कीर्तिपुरस्थित तःननि दाफा खलः लगभग ३०० वर्ष पुरानो हो। त्यहीं छ, आँख छें अर्थात् ‘अक्षर घर’ जुन कुनै वेला पठनपाठनको प्रमुख थलो थियो। नयाँ पुस्तालाई वेलैमा त्यसमा संलग्न गराइन्थ्यो। आँख छें प्रवेश गर्नु आफ्नो चित्तवृत्तिलाई लगाम लगाउनु र टोलसमाजको आवश्यकता बुझ्ने सीप हासिल गर्नु हो भन्ने मान्यता राखिन्थ्यो। यसमा कला–सङ्गीतका आराध्यदेव नासः द्यःलाई तान्त्रिक विधिले मुख्य पीठबाट गुरुको घरमा तानेर महीनौं गीत–सङ्गीत सिक्ने चलन थियो। हिजोआजका विद्यालयमा ‘मिडटर्म’ भनिए जस्तै आधा सिकाइ पूरा भएपछि सामूहिक भोज तथा भेटघाट आयोजना गरिन्थ्यो। घटीमा तीन महीनाको अध्ययनपछि सिकारुहरूको दीक्षान्त समारोह अर्थात् पिक्याऊ (पित्नेऊ वा पितेऊ) हुन्थ्यो। नासः द्यःको मन्दिरमा गई सिकेका सम्पूर्ण साङ्गीतिक ज्ञान चढाउनुपर्थ्यो, सिकेका सबै धुन–ताल बजाउनुपर्थ्यो। यो लामो अनुष्ठानमा पुरस्कारको पनि व्यवस्था थियो। अब्बल विद्यार्थीलाई उक्त अनुष्ठानमा बलि दिइने पशुको सबैभन्दा राम्रो भागको मासु उपहार दिइन्थ्यो।
यसरी गीत–सङ्गीत सिकेकाहरूको समुदायमा छुट्टै भूमिका हुन्थ्यो। तिनले वर्षभरिका विविध जात्रापर्वमा विशेष स्थान पाउँथे। समाजमा आआफ्नो घरपरिवारको प्रतिनिधित्व तिनैले गर्थे। अहिले यो सिकाइ प्रणाली नरहे पनि वर्षभरि मनाइने चाडपर्व साथै रीतिरिवाज छँदै छन्।
उक्त खलःका सदस्यहरू म्हःपूजा अर्थात् आत्मपूजा गरेर नयाँ वर्षको शुरूआत गर्छन्। उक्त दिन टोल टोलबाट बाजागाजाका साथ र्याली पनि निस्कन्छ। सखिमिला पुन्हिका दिन स्थानीय बासिन्दा बाजागाजा सहित वरपरका विविध मठमन्दिर जान्छन् र टोलमा फर्केर भजनकीर्तन गरी अन्नबालीबाट चित्र कोर्दै वर्षदिनको उब्जनीप्रति कृतज्ञता दर्शाउँछन्। अर्को महीना सातगाउँले जात्रामा सामेल भई बाजागाजा अनि नाचगान गरी छिमेकी गाउँलेसँग जोडिन्छन्। गाईजात्रा, बाघभैरव, कृष्णजात्रा लगायत जात्रापर्वमा बाजाका तालमा मग्न हुँदै नगर परिक्रमा गर्नु महत्त्वपूर्ण सामाजिक कर्म मानिन्छ। यस्ता जात्रापर्व टोलछिमेकमा भएका नौला घटना, सामाजिक परिवर्तनहरू थाहा पाउने थलो पनि हुन्।
परम्परागत ज्ञान बेवास्तामा परेसँगै आदिवासी गीत–सङ्गीत सिक्ने चाह पनि कम हुँदै छ।
यससँगै खलःका सदस्यहरू वर्षका चार महीना टोलको फल्चामा बसेर बिहान–बेलुकी दाफा गीतसँग इतिहासका कथा–गाथा गाउँछन्। इष्टदेवदेवीको गुणगानसँगै समाजमा धर्म, सहिष्णुता र शान्ति कायम राख्ने सन्देश बाँड्छन्। साथै, वर्षान्त हुँदै गर्दा टोलको एकताको प्रतीकस्वरूप देवीनाच निकाल्छन्। यस क्रममा सिकारु नयाँ पुस्ता पनि मेलापर्वमा सामेल भई नयाँ गीतसँगै मानवीय संवेदनाप्रति साक्षात्कृत हुन पुग्छ। युवाहरू वयस्क बन्छन्। वयस्कहरू गुरु बन्छन् अनि फेरि नयाँ पुस्ताका सिकारुहरू नयाँ गीत सिक्न, बाजा बजाउन, समुदायको रीतिथिति सिक्न आइपुग्छन्।
विडम्बना, यस प्रकारको सिकाइ पद्धतिलाई शिक्षा तथा ज्ञानको स्रोत मानिँदैन। लिम्बू संस्कृतिमा युमाले सङ्गीत मार्फत मुन्धुमको ज्ञान समुदायमा प्रवाह गर्छिन्। संसारको उत्पत्ति कसरी भयो? आदिमानवहरू कसरी बनाइए? जन्म र मृत्युको सम्बन्ध के हो? मानवले प्रकृतिका अन्य संवेदनशील अस्तित्वहरूसँग कस्तो सम्बन्ध राख्ने? ठूल्ठूला अनुष्ठानमा नाचगान मार्फत यस्ता ज्ञान बाँडिन्थ्यो। तर, परम्परागत ज्ञान बेवास्तामा परेसँगै आदिवासी गीत–सङ्गीत सिक्ने चाह पनि कम हुँदै छ। परम्परागत ज्ञानको औचित्य कक्षाकोठामा परीक्षा दिएसँगै सकिने होइन। यसमा त गुरुले बोलेका कुरा जस्ताको त्यस्तै उतारी पछिल्लो पुस्तालाई आफूले सिकेको ज्ञान हस्तान्तरण गर्न जान्नुपर्छ। तर, अब आदिवासी समुदायको नयाँ पुस्तालाई सजिलो छैन; पानीमा रङ्ग मिसिइसक्यो, छुट्याउनु कसरी?
स्कूलमा सिक्ने तरीका भिन्न छ। क्याम्पसमा ज्ञानको परिभाषा नै बेग्लै छ। विश्वविद्यालयका शिक्षक आदिवासी गुरुहरूभन्दा बेग्लै छन्। स्कूलमा सिक्ने सङ्गीत गितार तथा पियानोको स्वरमा अटाउँछ, टीभी, फेसबूक लगायतमा पनि तिनै आउँछन्। तर, मन्दिर अगाडि बज्ने धिमे, गुम्बाभित्र बज्ने न्ह्गा र हिमालमा तरङ्गित हुने ठाडी सङ्गीतलाई कतै अटाइहाल्न सजिलो छैन। गुरुहरूले सिकाउन चाहँदाचाहँदै र नयाँ पुस्ताले सिक्न खोज्दाखोज्दै पनि एकअर्काको बुझाइ र भोगाइमा यति भिन्नता आइसक्यो कि सिक्ने/सिकाउने दुवैले निकै मिहिनेत गर्नुपरेको छ। पुरानो जीवनशैली नै नरहेपछि पुराना सङ्गीत कसरी सिक्ने?
तःननिका दाफा खलः यस्तै अप्ठ्यारा प्रश्नको समाधान खोज्ने प्रयास हो। बन्दाबन्दीका वेला खलःका अग्रजहरूले नयाँ पुस्तालाई बाजा सिकाउन निकै ढिलो भइसकेको मनन गरे। अनि अवस्था केही खुकुलो हुने बित्तिकै आँख छेंमा लगभग ४० जना सिकारु भिœयाए। नयाँ सिकारुहरूले कति बोल सेतोपाटीमा टिपे, कति गीत मोबाइलमा भरे। अहिले उनीहरू २०–२५ वटा गीत बाँसुरीको धुनमा बजाउन सक्छन् भने १०–१५ वटा गीत गाउन। त्यसयता उनीहरूले टोलशहरका विभिन्न कार्यक्रममा सहभागी हुने अवसर पाएका छन्। खलःका नयाँ पुस्ता आफूमा स्थानीय वातावरणप्रति सचेतना बढेको ठान्छन्। विशेष गरी खलःका अगुवा महिला सदस्यहरूको सामाजिक सहभागितामा ठूलो परिवर्तन आएको छ। आफ्नो वातावरणप्रति सचेत र उत्तरदायी बनाउन सक्ने शिक्षा चानचुने होइन।
(पलाञ्चोके सङ्गीत अध्येता हुन्। हिमालको २०७९ कात्तिक अङ्कबाट।)