तिहारमा नेपालकै मखमली माला
तिहारमा सयपत्री र गोदावरी फूल केही मात्रामा विदेशबाट ल्याउनुपरे पनि मखमलीको माला भने स्वदेशी नै पहिरिन पाइनेछ।
यति वेला बारी र बगैंचामा सयपत्री, मखमली र गोदावरी ढकमक्क फुलेका छन्। फूलको पर्व तिहारमा घर, आँगनमा मात्र होइन, फूल विक्रेताका पसलमा पनि रौनक छाएको छ।
विक्रेतालाई फूल बेच्न भ्याईनभ्याई छ। “पोहोरभन्दा यो वर्ष फूलको माग बढेको छ,” काठमाडौंको बूढानीलकण्ठ-३ घुम्तीचोककी कोपिला थापा भन्छिन्।
फूल व्यवसायमा एक दशकभन्दा बढी समयदेखि लागेकी थापाले यस पटकको तिहारमा मात्र १० लाखभन्दा बढीको फूल बिक्री हुने अपेक्षा गरेकी छिन्। “तिहार आएसँगै फूल बेच्न भ्याईनभ्याई छ,” थापाले भनिन्।
उनी सानो छँदादेखि नै परिवारले फूल व्यवसाय गर्दै आएको थियो। हाल भने उनले नर्सरी मार्फत फूल व्यवसायलाई निरन्तरता दिंदै आएकी छिन्।
६० लाखको लगानीमा नर्सरी शुरू गरेकी उनले फूल व्यवसायमा धेरै आरोह-अवरोह पार गरेकी छन्। कोरोना कहरले भर्खरै आकार लिंदै गरेको व्यवसाय थलिएको पनि देखिन्। आर्थिक सङ्कट पनि भोगिन्। हाल भने राम्रै होला कि जस्तै लागेको उनी बताउँछिन्।
एक दशकअघि उनले नर्सरी शुरू गर्दा काठमाडौंमा थोरै नर्सरी थिए। प्रतिस्पर्धा कम थियो। बजार बिस्तारै राम्रो हुने क्रममा थियो। पछिल्ला दिनमा नर्सरीको संख्या थपियो। प्रतिस्पर्धा बढ्यो। “तर, बजारमा फूलको माग घटेको छैन, बढेकै छ,” उनी भन्छिन्।
तिहारको वेला अत्यधिक फूल खपत हुने भएकाले आयात पनि बढ्ने गरेको नेपाल फ्लोरिकल्चर एशोसिएशनका अध्यक्ष मीनबहादुर तामाङ बताउँछन्। बजारमा फूलको माग बढेसँगै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने कार्यक्रम प्रभावकारी नहुँदा आयात प्रतिस्थापन हुन नसकेको उनको भनाइ छ।
कृषि नीतिमा पुष्पखेती तथा पुष्प व्यवसायलाई नसमेटिंदा स्थानीय उत्पादनले आयात प्रतिस्थापन गर्न सकेको छैन। सरकारले कृषि क्षेत्रमा अनुदान बढाए पनि फूलखेतीमा अनुदान र सहयोगी कार्यक्रम सञ्चालन नगरिंदा आत्मनिर्भर बन्न नसकिएको अध्यक्ष तामाङको भनाइ छ। “कृषि नीतिले फूललाई प्राथमिकतामा नराख्दा बर्सेनि करोडौंको फूल आयात हुने क्रम रोकिएको छैन,” उनी भन्छन्।
सरकारले २०६९ सालको पुष्प प्रवर्द्धन नीतिमा आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने लक्ष्य राखेको थियो। यो नीतिमा लक्षित उपलब्धि हासिल गर्न नेपालले अझ धेरै कार्यक्रम गर्नुपर्ने तामाङ बताउँछन्। “वर्षभरि नै फूलको माग हुने भए पनि तिहारमा यसको माग बढी हुन्छ। भ्यालेन्टाइन डेमा भने गुलाफको माग बढी हुन्छ,” तामाङ भन्छन्, “अहिले नेपालको कुल उत्पादनले ९० प्रतिशत माग धानेको छ; बाँकी १० प्रतिशत आयात हुन्छ।”
तिहार बाहेक अरू वेला आन्तरिक उत्पादनले नै बजार धानिरहेको उनी बताउँछन्। नेपालमा आयात हुने फूल मुख्यतः भारतबाट आउँछ।
सयपत्री, गोदावरी जस्ता फूल आयात भइरहँदा मखमली फूल भने निर्यात पनि हुने गरेको छ। नेपाली नागरिक बसोबास गर्ने अन्य देशमा मखमली फूल निर्यात हुन थालेको तामाङ बताउँछन्। एशोसिएशनले यस वर्षको तिहारमा एक लाखको मखमली फूलको माला निर्यात गर्ने तयारी गरेको उनले बताए।
वर्षमा अर्बको कारोबार
नेपाल फ्लोरिकल्चर एशोसिएशनका अनुसार, २४ वर्षमा २२ अर्ब ४५ करोड १४ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यस हिसाबले नेपालमा वार्षिक एक अर्बभन्दा बढीको फूलको कारोबार हुने देखिन्छ। तर, कोभिड-१९ महामारीमा गरिएको बन्दाबन्दीको असर फूल व्यवसायमा पनि पर्यो।
महामारी भएको दुई वर्ष २०७७ र २०७८ मा जम्मा एक अर्ब ६३ करोडको फूलको कारोबार भएको थियो। त्यो भनेको अन्य अवस्थाको भन्दा झण्डै आधा कारोबार हो।
यस वर्षको तिहारका लागि ११ करोड रुपैयाँको सयपत्री, एक करोड ३० लाख रुपैयाँको मखमली र ८० लाख रुपैयाँको गोदावरी मालाको कारोबार हुने एशोसिएशनको अनुमान छ। गत वर्ष नौ करोड ९८ लाखको सयपत्रीको माला, एक करोड ६ लाखको मखमली र ५२ लाखको गोदावरी मालाको कारोबार भएको थियो।
गत वर्षको तुलनामा सयपत्रीको माला कम आयात गरिने उनी बताउँछन्। “यो वर्ष तिहारमा आवश्यक पर्ने सयपत्रीका २० लाख मालामध्ये १७ लाख माला आन्तरिक उत्पादन हुन् भने तीन लाख माला आयात गरेर बजारको माग धान्नुपर्नेछ,” उनी भन्छन्।
दक्ष जनशक्ति, सुलभ सिंचाइ र बीउबिजनको अभाव, मूल्य निर्धारण लगायत समस्याका कारण पुष्पखेती फस्टाउन नसकेको बागवानीविद् अनिल आचार्य बताउँछन्। “यसलाई प्रवर्द्धन गर्न सरकारले पुष्पखेतीलाई अन्य अन्नबाली, तरकारी र फलफूल जत्तिकै महत्व दिएर अनुदान लगायतका सहयोगी कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ,” आचार्य भन्छन्।
उत्पादन क्षमता वृद्धिका लागि सरकारले लगानी गर्नुपर्ने आवश्यकता एकातिर छ भने किसानलाई ‘सफ्ट लोन’ को व्यवस्था गर्नुपर्ने आवश्यकता अर्कोतिर रहेको उनको भनाइ छ। पुष्प व्यवसायलाई सबलीकरण गर्न बीमाको व्यवस्था गर्नुपर्ने उनी बताउँछन्। देशका ४५ जिल्लाको १७८ हेक्टर जमीनमा फूलखेती भइरहेको छ।