भारतले पाकिस्तानलाई चार विकेटले हरायो
आईसीसी पुरुष टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई चार विकेटले पराजित गरेको छ।
पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा पूरा गरेको हो। भारतीय ब्याटर विराट कोहली चम्किएपछि भारतले जित हासिल गरेको हो।
भारतलाई जितका लागि अन्तिम ओभरमा १६ रन आवश्यक थियो। अन्तिम ओभरको पहिलो बलमा हार्दिक पाण्डेयलाई आउट गरेका मोहम्मद नवाजले त्यसपछि भने लय कायम राख्न सकेनन्। उनले आठ वटा अतिरिक्त रन दिएपछि भारतलाई खेल जित्न सहज भएको हो।
अन्तिम दुई बलमा भारतलाई रन आवश्यक थियो। नवाजले पाँचौं बलमा दिनेश कार्तिकलाई आउट गरे।
अन्तिम बलमा एक रन बाँकी रहँदा उनले वाइड बल फाले। त्यसपछि रविचन्द्रन आश्विनले अन्तिम बलमा सहजै एक रन लिएर भारतलाई जित दिलाए।
भारतका लागि कोहलीले सर्वाधिक ५३ बलमा ८२ रन प्रहार गरे। त्यस्तै, हार्दिक पाण्डेले ४०, सूर्यकुमार यादवले १५, केएल राहुल र रोहित शर्माले चार-चार रन बनाए।
पाकिस्तानका लागि हरिश रौफ र मोहम्मद नवाजले दुई-दुई तथा नशीम शाहले एक विकेट लिए।
यसअघि टस हारेर फिल्डिङको निम्तो पाएको पाकिस्तानले आठ विकेट गुमाएर १५९ रन बनाएको थियो। पाकिस्तानका लागि इफ्तिहार अहमदले ५१ र शान मक्सुदले ५० रन बनाए।
भारतका लागि हर्षदीप सिंह र हार्दिक पाण्डेयले तीन-तीन तथा भुवनेश्वर कुमार र मोहम्मद शमीले एक-एक विकेट लिए।