२२ निजी विद्यालयमा तालाबन्दी
जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ वटा निजी विद्यालयमा शिक्षकहरुले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
लामाेसमयसम्म तलब नपाएपछि आइतबारदेखि विद्यालयमा तालाबन्दी गरेको निजी शिक्षक सङ्घर्ष समितिका कोषाध्यक्ष हरिबहादुर रोकायाले बताए ।
ति विद्यालयमा ६३ जना शिक्षकहरुले तलब उपलब्ध गराउन भन्दै ११ असारमा आ-आफ्ना विद्यालयका व्यवस्थापन समितिलाई चार दिनको अल्टिमेटम दिएका थिए ।
अल्टिमेटम पछि समेत अटेर गरेपछि आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य भएको रोकायाले बताए ।
तालाबन्दीपछि भएपछि विद्यार्थीहरु पठनपाठनबाट वञ्चित भएका छन् ।
सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले निजी शिक्षकको तलबसम्बन्धी विवाद गाउँपालिकासँग सरोकार नभएको बताए ।
उनले विद्यालय भने बन्द नगर्न आग्रह गरे । सम्बन्धित विद्यालयका व्यवस्थापन समितिसँग छलफल गरी समस्या हल गर्नुपर्ने रावलको भनाइ छ।
आन्दोलनमा उत्रेका निजी शिक्षकले भने तलब उपलब्ध नभएसम्म विद्यालयको ताला नखोलिने अडान राखेका छन् ।