संघीयता जोगाउन गठबन्धन: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयता र गणतन्त्र जोगाउन गठबन्धन आवश्यक भएको जिकिर गरेका छन्।
धनगढीमा आयोजित सत्तारूढ गठबन्धनको संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै देउवाले संविधान कुल्चने, गणतन्त्रलाई उल्टाउने चेष्टा भएपछि गठबन्धन गरिएको बताए। “संघीय प्रणालीलाई बचाउन गठबन्धनको आवश्यकता छ,” प्रधानमन्त्री देउवाले भने।
देश गम्भीर मोडमा उभिएको उनको भनाइ थियो। आगामी चुनावले देश कता जाने भन्ने तय हुने देउवाले बताए। “२००७ सालदेखि लडाइँ लड्दै ल्याएको गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी छ,” उनले भने।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मंसीर ४ गते निर्वाचन प्रतिगमन र अग्रगमन चाहनेबीचको महासंग्राम हुने बताए। उनले एकातिर अग्रगमन चाहने पाँच दलीय गठबन्धन र अर्कोतिर प्रतिगमन चाहने गठबन्धन रहेको जिकिर गरे।
भेलालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनाव मार्फत प्रतिगामीलाई परास्त गर्नुपर्ने जिकिर गरे। “म कांग्रेस हुँ, म माओवादी हुँ, म समाजवादी हुँ भनेर हुँदैन। हामी सबै एक भएर अगाडि बढ्नुपर्छ। प्रतिगामीहरूलाई हराउँदै हामी जित्नुपर्छ,” नेपालले भने।
प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण चलाइरहेको गठबन्धनले आइतबार धनगढीमा भेला गरेको हो। यसअघि प्रदेश १, मधेश, गण्डकी र लुम्बिनीमा भेला गरिसकेको छ।