चौतर्फी विरोधपछि आयोगले हटायो भिडिओ
निर्वाचन आयोगले चुनाव सम्बन्धी सार्वजनिक गरेको भिडिओ सामाजिक सञ्जालबाट हटाएको छ।
आयोगले ‘चुनाव लहर छाएको’ भन्दै निर्वाचनको प्रचारका लागि भिडिओ सार्वजनिक गरेको हो। आयोगले ‘हाम्रो देशमा फेरि पनि चुनाब आएको छ। देशैभरि चुनाबको लहर छाएको छ’ भन्दै भिडिओ पोस्ट गरेको थियो।
चुनाव सम्बन्धी सचेतना फैलाउन बनाइएको भिडिओ राम्रो नभएको भन्दै विरोध भएको थियो। चौतर्फी विरोध भएपछि आयोगले भिडिओ हटाएको हो।
भिडिओ हटाएको सम्बन्धी जानकारी दिंदै आयोगले भनेको छ, ‘सामाजिक सञ्जाल प्रयोगकर्ताले दिनुभएको सुझावलाई सम्मान गर्दै यस अगाडि पोस्ट भएको निर्वाचन शिक्षा सम्बन्धी भिडिओ सामग्री परिमार्जनका लागि हटाएका छौं। यसबाट सामाजिक सञ्जाल प्रयोगकर्तामा पर्न गएको असुविधाप्रति निर्वाचन आयोग क्षमाप्रार्थी छ।’