तपाईंको निर्वाचन क्षेत्रको मतपत्र कस्तो छ?
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि प्रत्यक्षतर्फको मतपत्रको नमूना सार्वजनिक गरेको छ।
आयोगले प्रत्येक निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै मतपत्र तयार गरेको छ। त्यही अनुसार, निर्वाचन क्षेत्रको मतपत्र सार्वजनिक गरेको हो। केही निर्वाचन क्षेत्रको मतपत्रको नमूना तयार हुन बाँकी रहेको आयोगले जनाएको छ।
प्रत्येक निर्वाचन क्षेत्रको मतपत्रमा उम्मेदवारको मात्रै चुनाव चिह्न रहनेछ। यसअघि सबै दलको चुनाव चिह्न रहने गरेको थियो।
आयोगले समानुपातिकतर्फको मतपत्र छपाइ गरेर जिल्ला जिल्लामा पठाएको छ। अहिलेसम्म ६० जिल्लामा मतपत्र पठाइसकेको आयोगले जनाएको छ।
त्यस्तै, प्रत्यक्षतर्फको निर्वाचनका लागि पनि मतपत्र छपाइ भइरहेको छ। शनिबारसम्म प्रत्यक्षतर्फका एक करोड ५१ लाख २४ हजार मतपत्र छपाइ भइसकेका छन्। जसमा प्रदेश सभाका लागि ७५ लाख २५ हजार र प्रतिनिधि सभातर्फ ७५ लाख ९९ हजार मतपत्र रहेका छन्।
अहिलेसम्म प्रतिनिधि सभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, कैलाली, कञ्चनपुर, रोल्पा, प्यूठान, दाङ, रुकुम पूर्व, अर्घाखाँची, गुल्मी, बर्दिया र नवलपरासी पश्चिम लगायतका जिल्लाहरूको मतपत्र छपाइ सम्पन्न भएको छ।
निर्वाचनको नमूना मतपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्।