निर्वाचन आयोगले भन्यो- जरिवाना नबुझाउने उम्मेदवारको नाम बन्दसूचीबाट हटाइनेछ
निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारलाई आज साँझसम्म जरिवाना बुझाउन स्मरण गराएको छ।
स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिवाना तोकेको थियो। उनीहरूमध्ये ४०८ जना विभिन्न पार्टीका समानुपातिक उम्मेदवार बनेका छन्।
प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकाहरूलाई आयोगले जरिवाना बुझाउन कात्तिक ५ गतेसम्मको समय दिएको थियो। आज शनिबार बिदा भए पनि जरिवाना बुझाउन सकिने व्यवस्था गरिएको आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जनाएका छन्।
जरिवाना नबुझाउने उम्मेदवारको नाम बन्दसूचीबाट हटाइने आयोगले जनाएको छ। आयोगले भनेको छ, ‘जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारको हकमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय आयोगबाट भएको व्यहोरा पुनः स्मरण गराइन्छ।’