एसईईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक दुई हजार भत्ता
पर्वतको कुस्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसईईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ।
यो कार्यक्रम नगर सभाबाट पारित भएर चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको थियो। यो वर्षको बजेट कार्यान्वयन भएसँगै यो कार्यक्रम पनि लागू भएको मेयर रामचन्द्र जोशीले बताए।
कुस्मा नगरपालिकाले विद्यार्थीको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको मेयर जोशीको भनाइ छ। विद्यार्थीलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिन शुरू गरिएको उनले बताए।
यसले विद्यार्थीलाई पढाइमा ऊर्जा मिल्नुका साथै विपन्न बालबालिकालाई थोरै भए पनि आर्थिक समस्या समेत टर्ने उनको भनाइ छ। यो भत्ता एसईई पास भएर कक्षा १२ को पढाइ नसकिने वेलासम्म दिइनेछ।
एसईईमा ‘ए’ प्लस ल्याएको विद्यार्थी कक्षा ११ मा फेल भएमा भने भत्ता कटौती हुने व्यवस्था गरिएको छ। यो कार्यक्रम सामुदायिक विद्यालयका विद्यार्थीका लागि मात्रै भएको मेयर जोशीले बताए। (रासस)