के थियो साइनिङपाथ?
सबै देखेर-सिकेर चकित परेका गोन्जालो थियानानमेन स्क्वायरमा माओको भाषणले तरङ्गित बनेका थिए, “क्रान्ति शुरू गर्न खासै केही चाहिँदैन, बलियो मानसिकता बनाए पुग्छ।”
१९८० को दशक अन्त्यतिर रूसमा कम्युनिष्ट शासन ढल्ने क्रममा थियो। कम्युनिष्ट दर्शन र अभ्यासबाट हायलकायल विश्व त्यसबाट छुटकारा पाएकोमा लामो सास फेर्दै थियो। त्यसै वेला पेरुका कम्युनिष्ट नेता अबिमेयल गुजमेन उर्फ प्रोफेसर गोन्जालो तीव्र गुरिल्ला युद्धमा थिए। गोन्जालोले स्थापना गरेको गुरिल्ला समूह द साइनिङ पाथले गरेको त्यही विध्वंसात्मक युद्धको बयान गर्ने पुस्तक हो, द साइनिङ पाथः लभ, म्याडनेस, एन्ड रिभोलुशन इन द एन्डिज्।
विश्वविद्यालयमा दर्शनशास्त्र पढाउने ‘स्टार प्रोफेसर’ थिए गोन्जालो, जसको लेक्चर सुन्न मानिसहरू कक्षाकोठाका झयालमा झुम्मिन्थे। उनी माओत्सेतुङका कट्टर समर्थक थिए। चीनमा माओले शुरू गरेको सांस्कृतिक क्रान्ति विश्व पूँजीवादको टाउको दुखाइ बन्दै थियो। गोन्जालोले आफ्नो देशमा पनि माओकै शैलीको क्रान्ति गर्ने उद्देश्यसाथ १९७० को शुरूआतमा कम्युनिष्ट पार्टी गठन गरे, र त्यसको एक दशकपछि हिंसात्मक विद्रोह शुरू गरे।
सन् १९६५ मा चिनियाँ सरकारले क्रान्तिकारी प्रशिक्षण दिन विश्वका उदीयमान कम्युनिष्ट नेताहरूलाई निम्त्याएको थियो। त्यहाँ चिनियाँ नेताले योद्धाहरूलाई पार्टीमा भर्ती गरी क्रान्तिका लागि तयार बनाउने, किसानलाई शहर घेर्न लगाउने, स्थानीय स्रोतबाट बमगोला, बारुद बनाएर दमनकारी राज्यमाथि बर्साउने जस्ता तरीका सिकाए। सबै देखेर-सिकेर चकित परेका गोन्जालो थियानानमेन स्क्वायरमा माओको भाषणले तरङ्गित बनेका थिए, “क्रान्ति शुरू गर्न खासै केही चाहिँदैन, बलियो मानसिकता बनाए पुग्छ।” माओबाट निकै प्रभावित भएका उनी चीनबाट पेरु फर्किएपछि क्रान्तिलाई रफ्तार दिन कस्सिए।
गोन्जालोका जीवनका दुई महत्त्वपूर्ण महिला हुन्, अगस्ता ला तोरे र एलेना इपाराग्युएरे। उनले हाँकेको क्रान्तिमा सारथि बनेका यी दुवै समयक्रममा उनका प्रथम र द्वितीय श्रीमती भए। उनीहरूको साथ विना क्रान्ति अघि बढाउन गोन्जालोलाई सम्भव थिएन। उनको रक्तपातपूर्ण पेरु-क्रान्तिका अभिन्न हिस्सा बनेका यी महिलाको व्यक्तिवृत्त-वर्णनमा लेखकद्वयको ध्यान बढी नै केन्द्रीभूत छ।
पेरुको सरकार र सार्वजनिक संस्थामा उथलपुथल मच्चाएर समाजवाद ल्याउने उद्देश्यमा हदैसम्म क्रूर नरसंहारहरू भए। उथलपुथलकारी विद्रोहका अनेक अध्याय पढ्दा आँतमा काँडा उम्रन्छ। लाग्छ, मान्छे कसरी यतिसम्म क्रूर हुन सक्छ? १९९२ मा गोन्जालो पक्राउ पर्दासम्म ७० हजार मानिस मारिएको तथ्याङ्क छ।
पेरुको सत्य तथा मेलमिलाप आयोगले २००३ मा प्रकाशन गरेको आँकडा अनुसार, ४६ प्रतिशत नरसंहार साइनिङ पाथले, ३० प्रतिशत सरकारले र बाँकी गाउँका मिलिसियाले गरेका थिए। यस बाहेक युद्धले वर्षौं आमजीवनमा थोपरेको अँध्यारो बेहिसाब थियो।
पुस्तक पढ्दा हामीलाई हाम्रै देशको माओवादी हिंसाको पनि झल्को आउँछ। समानता के पनि छ भने, नेपालमा माओवादीले चलाएको दशक लामो सशस्त्र युद्ध र पेरुमा साइनिङ पाथको विद्रोह दुवै चीनका नेता माओत्सेतुङ पथका थिए। दुवै विद्रोह मार्फत राज्यसत्ता ध्वस्त पारी समाजवाद ल्याउने दिशातर्फ निर्देशित थिए।
यद्यपि, सन् १९९२ मा गोन्जालो पक्राउ परे, यता माओवादी द्वन्द्व २००६ मा सकियो। त्यसपछि पेरु आर्थिक, सामाजिक तथा औद्योगिक विकासको तीव्र रफ्तारमा छ। नेपालमा चाहिं व्यवस्थाको संरचनागत परिवर्तन भए पनि तीव्र आर्थिक वृद्धिको कुरा मृगतृष्णा नै बनिरहेको छ।
लेखकद्वयले २०० भन्दा धेरै मानिससँगको प्रत्यक्ष अन्तर्वार्ता, (अ)प्रकाशित दर्जनौं रिपोर्ट, गोन्जालोकी दोस्री श्रीमती एलेना इपाराग्युएरे लगायत युद्धको विभीषिका प्रत्यक्ष देखेभोगेका मानिससँग कुराकानी गरेपछिको गहन अनुसन्धानबाट यो किताब तयार पारेका हुन्। पुस्तकमा घटनाहरू, व्यक्ति तथा परिस्थितिको वर्णन गर्ने शैली रोमाञ्चक छ। केही सन्दर्भमा महत्त्वपूर्ण घटनाक्रमका कारण भने खुलाइएको छैन, चित्रण मात्र गरिएको छ। जसले गर्दा घटनाभन्दा पनि व्यक्तिप्रधान स्फुटन ज्यादा भयो कि भन्ने पनि लाग्छ।
तीन भागभित्र २१ अध्यायमा बाँडिएको पुस्तक पढ्नुअघि ‘ग्राफिक भायोलेन्स’ समेटिएको सिनेमा हेर्न बसेको भनी पाठकले आफूलाई तयार गर्दा हुन्छ। पुस्तकको शीर्षकमा अटेको शब्द ‘लभ’ (प्रेम)का कारण विद्रोहका छापामारबीचको अन्तरङ्ग सम्बन्ध र तिनको वैवाहिक जीवनका वृत्तान्त पनि होलान् भनी पढ्न शुरू गरिएको थियो। यद्यपि, ती कुरा पुस्तकमा समेटिएका छैनन्।
पुस्तक: द साइनिङ पाथः लभ, म्याडनेस, एन्ड रिभोलुशन इन द एन्डिज्, लेखक: ओरिन स्टर्न र मिगुएल ला सेर्ना
प्रकाशक: डब्लू. डब्लू. नोर्टन एन्ड कम्पनी, पृष्ठः ३८४, मूल्यः भारु. २५३७