सर्वोच्चले दिएन अन्तरिम आदेश, राजु गुरुङको उम्मेदवारी खारेज
रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज हुने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको छ। शुक्रबार सर्वोच्चले दिएको आदेशमा ‘अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने’ उल्लेख छ।
ब्यांकिङ कसूर सम्बन्धी मुद्दालाई देखाउँदै निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। त्यस विरुद्ध उनी असोज २८ गते सर्वोच्च अदालत पुगेका थिए।
त्यसमाथि असोज ३० गते भएको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
गुरुङको माग बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न सर्वोच्चले आज दुवै पक्षलाई बोलाएको थियो। दुवै पक्षको बहसपछि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। यससँगै गुरुङको उम्मेदवारी खारेज भएको छ।