नेतालाई कारबाही गर्दा भूकम्प आउने हो कि: प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कसैलाई पनि नछोडिने बताएका छन्।
विराटनगरमा शुक्रबार प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै थपलियाले दलका नेता आफैंले आचारसंहिता पालना गर्छु भनेर दस्तखत गरेको उल्लेख गरे। उनीहरूले सहमति जनाएकै विषय कार्यान्वयन गर्दा कोकोहोलो मच्चाएको आरोप लगाए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “स्पष्टीकरणले तरङ्ग पैदा भएको अवस्थामा आयोगले थप कारबाही गर्नुपर्दा भावी दिनमा भूकम्प पो आउने हो कि!”
उनले निर्वाचन आचारसंहिता पालना गर्नेले डराउनै नपर्ने बताए। “निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गरेको छ। जुन राजनीतिक दलहरूकै अनुरोधमा तयार गरिएको हो,” उनले भने।
उनले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन आयोग लागिरहेको बताए। “निर्वाचन पद, पैसा र पहुँचले प्रभावित हुनुहुँदैन, निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्छ,” थपलियाले भने। उनले निर्वाचनको स्वच्छताका लागि सामाजिक सञ्जालको व्यवस्थित उपयोग पनि आग्रह गरे।
उनले सामाजिक सञ्जालको उपयोगद्वारा निर्वाचन सम्बन्धी तथ्यहीन, गलत, भ्रामक र अनुमानित सूचना वा जानकारी सम्प्रेषण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट हुन सक्ने सम्भावित मिथ्या सूचना, दुुष्प्रचार, सूचना तोडमोड र द्वेषपूर्ण अभिव्यक्तिको नियमनद्वारा निर्वाचनको विश्वसनीयता र निष्पक्षता जोगाउन आयोगले आवश्यक तयारी गरेको बताए।