१६९ वर्षअघिको जनगणना
जंगबहादुरको पालामा १९१० देखि तीन चरणमा गरिएको उपत्यकाका तीन शहरको जनगणनामा विशेषतः घरको आकारप्रकार, परिवार संख्या, पेशाको विवरण, मठ-मन्दिर, देवालय, पाटी-पौवा, सत्तल, धारा, ढुङ्गेधारा आदिको टिपोट उतारिएको छ।
नेपालमा विसं १९६८ देखि जनगणना हुन थालेको भनाइ प्रचलनमा छ। तर, हालै प्रकाशित ऐतिहासिक दस्तावेजहरूले यसको खण्डन गर्छन्। इतिहासकार डा. जगदीशचन्द्र रेग्मीले विसं १९१० मै जनगणना भएको तथ्य सार्वजनिक गर्दै ऐतिहासिक, सामाजिक, सांस्कृतिक अध्ययनको नयाँ द्वारोद्घाटन गरेका छन्, नेपालको पहिलो नमूना जनगणना पुस्तक मार्फत।
जनगणनाको तथ्याङ्कले सिङ्गो राष्ट्रको वस्तुस्थिति झल्काउँदै आवश्यकता र परिस्थितिहरूको आकलन र मूल्याङ्कन गरी राज्य सञ्चालनका नीति, रणनीति र कार्यनीति निर्माणमा सही दिशानिर्देश गर्छ। लिच्छविकाल र मल्लकालमा जनगणना हुन्थ्यो कि हुँदैनथ्यो भन्नेबारे भरपर्दा तथ्याङ्क हालसम्म पाइएका छैनन्। तर, विशेषतः विदेशी यात्रीहरूको विवरण, नेपालबारे लेख्ने विदेशी इतिहासकारका पुस्तक तथा तात्कालिक जनबोलीका लवज नियाल्दा मल्लकालमै पनि जनगणनाका प्रारम्भिक अभ्यास रहेको अनुमान गर्न सकिन्छ। त्यति वेला भक्तपुरलाई बाह्र हजार घरधुरी, (गोर्खामा पनि बाह्र हजार घरधुरी?), काठमाडौंलाई अठार हजार घरधुरी र पाटन शहर (ललितपुर)लाई चौबीस हजार घरधुरीका नामबाट चिनिने गरेको भाषावंशावली (भाग दुई, पृष्ठः२० र २३)मा उल्लेख छ।
उति वेलै नेपाल भ्रमणमा आएका इटालियन पादरीहरूले काठमाडौं, भक्तपुर र पाटन शहरको जनघनत्वको अनुमानित तथ्याङ्क उल्लेख गरेका छन् (प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित तिब्बत र नेपालमा इटालियन धर्म प्रचारक)। मल्लकालमा पनि अनिकाल, खडेरी, अधिक वर्षा, हिमपात र भूकम्प लगायत प्राकृतिक प्रकोप आइरहन्थे जसले राजनीतिक तथा सामाजिक-सांस्कृतिक संरचनामा खलल पुर्याउँथे नै, तीन भागमा एक भाग मानिसको मृत्यु हुन्थ्यो (ज्ञानमणि नेपाल, नेपालको माध्यमिक कालको इतिहास, पृष्ठः १४५) भन्ने कथनले पनि जनगणनाको एकखाले झल्को दिन्छ। त्यस्तै, विसं १३९० मा भएको आगलागीका कारण मरेका पशुपन्छीको विवरण गोपालराजवंशावलीमा छ (रमेश ढुंगेल र ऐश्वर्यलाल प्रधानाङ्ग, काठमाडौं उपत्यकाको मध्यकालिक आर्थिक इतिहास, पृष्ठः ५०)।
लगभग ६६० पृष्ठमा तीनवटा ठेलीमा रहेको यो दस्तावेज नेपालको पहिलो जनसांख्यिक प्रतिवेदन हो।
यसबाट मल्लकालमा व्यक्तिगत साथै सामाजिक-सांस्कृतिक र प्राकृतिक घटनाका विवरण राख्ने चलन रहेको बुझिन्छ। त्यति वेलाका ठ्यासफू र धरपौहरूमा राजाहरूको सभा, व्रतबन्ध, विवाह जस्ता धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा आवश्यक वस्तु, त्यस कार्यका लागि उठाइएका कर लगायत विविध पक्षको उल्लेख पाइन्छ। यसै क्रममा विसं १९१०, १९११ र १९१३ मा भएका नमूना जनगणनाको टिपोट पाइनुले यस क्षेत्रमा नयाँ आयाम थपेको छ। यो दस्तावेज इतिहासकार रेग्मी र डा. गोविन्द टण्डनको समन्वय/सम्पादनमा प्रकाशित छ।
रेग्मीका अनुसार, विसं २०३३ सालमा तामाङ थरका एक व्यक्तिले यो दस्तावेज उनलाई बेचेका थिए। त्यसपछि उनले यसबारे नेपाल एन्टिक्वारीमा सानो लेख छपाए पनि कसैले ध्यान दिएन। उनी प्रकाशनका लागि सिनास र प्रज्ञा-प्रतिष्ठान लगायत संस्था पनि धाए। तर, कसैले चासो नदेखाएकाले लामो समय रेग्मीकै संरक्षणमा रहिरह्यो। पछि टण्डनले पहलकदमी लिएसँगै यसको प्रकाशन सम्भव भएको हो।
के छ त यस जनगणनामा?
लगभग ६६० पृष्ठमा तीन वटा ठेलीमा रहेको यो दस्तावेज नेपालको पहिलो जनसांख्यिक प्रतिवेदन हो। यसमा विशेष गरी भक्तपुर र पाटनको वस्तुस्थितिमा बढी जोड दिई निश्चित ढाँचा बनाएर तथ्याङ्क लिइएको देखिन्छ। विशेषतः घरको आकारप्रकार, परिवार संख्या, पेशाको विवरण, मठ-मन्दिर, देवालय, पाटी-पौवा, सत्तल, धारा, ढुङ्गेधारा आदिको टिपोट उतारिएको छ। विसं १९१० मा भक्तपुरमा पहिलो पटक गणना भएको देखिन्छ। शहर भादगाउँका घरजहानको किताब नाम दिइएको भक्तपुर खण्डमा २४ वटा टोलका ४६१३ घरधुरीमा ३०,०३४ जनसंख्या र २२२ वटा देवस्थल रहेको उल्लेख छ।
भाषावंशावलीमा भक्तपुरको घरधुरी बाह्र हजार रहेको विवरण छ (भाषावंशावली, भाग दुई, पृष्ठः २०) जुन राणाकालीन जनगणनाभन्दा करीब सय वर्षअघिको हो। भाषावंशावलीमा भक्तपुरको जनसंख्या ३० हजार लेखिएको छ। यसबाट सय वर्षको अवधिमा भक्तपुर शहरको जनसंख्या वृद्धिदर कमै भएको आकलन गर्न सकिन्छ। भक्तपुरको जनगणनाको महत्त्वपूर्ण पक्ष भनेको जातिहरूको विवरण हो। यसमा नेवार समुदायभित्रका १५५ वटा जाति उल्लेख गरिएका छन्।
त्यस्तै, जनगणनाको दोस्रो ठेलीमा पाटन शहरको वस्तुस्थिति समेटिएको छ। शहर पाटनको घरजहानको किताब नाम दिइएको यस ठेलीमा पाटनमा २५ वटा टोल रहेको विवरण छ। श्रीनिवास मल्लको पालाका कवि कुनुशर्माले आफ्नो कीर्तिपताकामा सांख्यदर्शनको २५ तत्त्व र ईश्वर तत्त्व गरी पाटनमा २६ तत्त्वको प्रतीकात्मक स्वरूपमा २६ वटा टोल रहेको उल्लेख गरेका थिए (योगी नरहरिनाथको सम्पादनमा विसं २०१८ सालमा जगदम्बा प्रकाशनद्वारा प्रकाशित कुनुशर्माको कीर्तिपताका पुस्तक)। विसं १९११ को यस जनगणनामा भने २५ टोलको मात्र उल्लेख भएकाले कुनै टोल अर्कोमा गाभिएको सङ्केत मिल्छ।
यसबाट बस्तीहरूको विकासक्रममा गाउँ-टोलहरूको घटबढ हुने गरेको थाहा हुन्छ। पुस्तकमा पाटनका मुख्य टोल बाहेक ९१ वटा गाउँ रहेको विवरण छ। यस खण्डमा भक्तपुरकै जस्तो विभिन्न पसल, घरधुरीको संख्या, कुल जनसंख्या आदि समेटिएका छन्। पाटनमा जम्मा पाँच हजार ६३७ घरघुरीमा २८ हजार ७१४ मानिस रहेको विवरण छ। विभिन्न प्रकृतिका ४३८ पसलको विवरणले पाटन शहरको आर्थिक गतिविधि देखाउँछ।
त्यस्तै, विसं १९१३ मा काठमाडौं शहरको जनगणना भएको देखिन्छ। काठमाडौं पाटन पूर्व, पश्चिम समेतका जिल्ला वा घरजहानको किताब नाम दिइएको यस ठेलीमा कप्तान सतराम खत्री र सुवेदार जगतबहादुर खत्रीले विवरण तयार पारेको उल्लेख छ। यसमा काठमाडौं उपत्यकाबाट पश्चिमका मुख्य ३१ जिल्ला र शहरको विवरण छ। त्यस्तै, पशुपति क्षेत्रका देवालयको समग्र विवरणसँगै सामाजिक-सांस्कृतिक संरचनाको अवस्थितिलाई देखाइएको छ। पाशुपत क्षेत्रमा भट्ट, देमाउजू, आचार, भडारी, विसेट, श्रेष्ठ, वैद्य लगायत २५ वटा जातिको पशुपति क्षेत्रमा बाहुल्य देखिन्छ।
धार्मिक तीर्थस्थल भएकै कारण पशुपति क्षेत्रको सामाजिक-सांस्कृतिक संरचनाको बनोट मिश्रित रहेको टण्डनको तर्क छ। वस्तुतः भक्तपुर, पाटन र काठमाडौं शहरको यस जनसांख्यिक प्रतिवेदनले तात्कालिक सामाजिक-सांस्कृतिक संरचनाको चित्र प्रस्तुत गरेको छ। खानपान, व्यापार, व्यवसाय, पशुपालन, कृषि, वाणिज्य, उद्योग, मठ-मन्दिर र देवस्थलको संरक्षण लगायत विषयमा नेवार समुदायकै विशेष भूमिका रहेको तथ्य यस पुस्तकबाट जान्न सकिन्छ।
यो दस्तावेजले नेपालको जनगणनाको इतिहासलाई थप ५८ वर्ष प्राचीन बनाइदिएको छ।
उठेका सवाल
यो दस्तावेजले नेपालको जनगणनाको इतिहासलाई थप ५८ वर्ष प्राचीन बनाइदिएको छ जसले राणाकाललाई समाजशास्त्रीय-मानवशास्त्रीय कोणबाट अध्ययन गर्नमा समेत सघाउँछ। भर्खर भर्खर सत्ता र शक्तिमा उदाएका जंगबहादुरलाई जनगणनाको जरुरी किन पर्यो, स्पष्ट छैन। मूलतः बेलायत यात्राबाट फर्केपछि आफ्नो देशमा पनि सुधारका केही प्रयास गर्ने प्रेरणा उनमा जागेको हुनुपर्छ। यो जनगणना त्यही हुटहुटीको परिणाम हुन सक्छ। तर, यहाँनिर किन समग्र नेपालको जनगणना गरिएन त भन्ने प्रश्न उठ्छ। काठमाडौं उपत्यका बाहेक पश्चिम नेपालका बुटवल (खस्यौली), गोर्खा, दाङ, सल्यान क्षेत्रका केही शहरको विवरण मात्र छ। तर, पूर्वी नेपाल, उत्तरी हिमाली र तराई क्षेत्रलाई समेटिएको छैन।
नमूना जनगणना भनिएकाले सबै क्षेत्र नसमेटिएको तर्क पनि गर्न सकिएला। तर, नमूनामै पनि यिनै तीन क्षेत्र चाहिं किन छानिए, थाहा छैन। जंगबहादुरले जनगणनाको उपादेयता बुझेरै यो काम गर्न लगाएका हुन् भन्ने आधार पनि प्रष्ट छैन। किनकि, उनकै पालामा यसलाई निरन्तरता दिइएको पाइँदैन। पछि, एकैचोटि विसंं १९६८ देखि चन्द्रशमशेरले जनगणनाको पुनः थालनी गराएका हुन्। जंगबहादुरले जनगणनाको प्रतिवेदन पाएपछि यसको उपयोग केमा गरे त? चन्द्रशमशेरले जंगबहादुरको पालाको जनगणना खोजी गरे कि गरेनन् भन्ने जस्ता प्रश्नहरूले नयाँ अनुसन्धानको माग गर्छन्।
वस्तुतः जंगबहादुरले जनगणनाको महत्ता बुझेर भन्दा पनि एक किसिमको अन्योलमा यो काम थालेको प्रतीत हुन्छ। सतीप्रथा र दासप्रथा हटाएर समाज रूपान्तरणमा भूमिका खेलेका आधारमा चन्द्रशमशेरले चाहिं जनगणनाको महत्ता बुझेरै यसको पुनः थालनी गराएको अनुमान हुन्छ। यसै ठेलीको परिचय खण्डमा टण्डनले भने झैं विसं २००९ देखि नेपाल सरकारले जनगणनाको महत्ता र भूमिकालाई आधुनिक दृष्टिकोणबाट हेरेको देखिन्छ।
जन-इतिहास लेखन
अहिलेसम्म केवल शासकको इतिहास लेखिएको र जनताको इतिहासलाई अवमूल्यन गरिएको भनी आवाज उठिरहन्छ। तर, शासकको इतिहास लेख्ने क्रममा जनताका कुरा पनि कुनै न कुनै रूपमा लेखिएको प्रतीत हुन्छ। लिच्छवि र मल्लकालका सयौं अभिलेख र दस्तावेजमा तात्कालिक समाजको चित्र देखिन्छ। लिच्छविभन्दा मल्लकालका अभिलेखमा सामाजिक-सांस्कृतिक र राजनीतिक चित्र बढी स्पष्ट छन्। मल्लकालका अभिलेख, धरपौ र ठ्यासफू त्यस्ता केही माध्यम हुन् जसमा जनताको भाव र भाषाको अभिव्यक्ति पाइन्छ। धरपौहरूमा तात्कालिक बजार मूल्य, खानपान, पहिरन, ज्यालादर, कर, जात्रा, पर्व-परम्परा लगायत सामाजिक तथा धार्मिक मूल्यहरूको उल्लेख पाइन्छ जसले जनतासँग सीधा सरोकार राख्छ।
न्यातपोल मन्दिर बनाउँदाको विवरण जन-इतिहासको एउटा महत्त्वपूर्ण दस्तावेज हो जसमा सामाजिक वर्ग-प्रवर्ग, तात्कालिक श्रमिकहरूको अवस्थितिको चित्र उतारिएको देखिन्छ। जनताको इतिहास लेखनको एउटा आधार जनसांख्यिक विवरण हो, जसको बीजबिन्दु मल्ल तथा शाहकालका स्वदेशी तथा विदेशी दस्तावेजहरूमा पाइन्छ। राणाकालमा भएको जनगणनाको यस प्रतिवेदनलाई जनताको इतिहास लेखनको कोणबाट हेर्ने कि नहेर्ने त? जनसांख्यिक प्रतिवेदनलाई जनताको इतिहास लेखनको एउटा आधारका रूपमा हेर्ने हो भने यो जनगणनालाई पनि त्यसैको एउटा आयाम मान्नैपर्ने हुन्छ, चाहे जंगबहादुरको नियत जेसुकै होस्।
छलफल तथा निष्कर्ष
दस्तावेजको प्राप्ति इतिहास लेखनको महत्त्वपूर्ण आधार हो। दस्तावेजहरूको खोजी र प्रकाशन अन्वेषकले गर्छन् भने ती पुस्तकको सामाजिक, सांस्कृतिक, राजनीतिक एवं मानवशास्त्रीय कोणबाट व्याख्या तत्तत् विधाका विद्वान्ले गर्छन्। यस ग्रन्थमा सम्पादकद्वयले तात्कालिक जनगणनाको दस्तावेजको परिचयात्मक समीक्षा गरेर पुस्तक रूपमा प्रकाशन गरेका छन्। ख्यातिप्राप्त विद्वान्द्वयले यस दस्तावेजको विभिन्न कोणबाट अध्ययन गरेको आलोचनात्मक विमर्श पढ्ने पाठकहरूको स्वाभाविक अपेक्षा हुन सक्छ। तर, सम्पादकले पाठकको उक्त अपेक्षा पूरा गर्ने दायित्व अन्य विश्लेषक र आलोचकको हातमा छोडेका छन्। दस्तावेजमाथि गहन विश्लेषण समेत गरिएको भए ऐतिहासिक तथ्यमाथि आलोचना गर्ने आधार बन्ने थियो।
वस्तुतः राणाकालको अन्तिम तीन दशकबारे लेखेर सरदार भीमबहादुर पाँडेले नेपालको प्राज्ञिक जगत्मा ठूलो गुन लगाएका छन् भने राणाकालको प्रारम्भिक अवस्थाको सामाजिक-सांस्कृतिक अवस्थिति जान्न यस पुस्तकको महत्त्वपूर्ण योगदान रहनेछ। मल्लकालको अन्त्यपछि पनि नेपालको राजनीतिक भूगोलको स्पष्ट खाका कोरिएको थिएन। नेपाल-अंग्रेज युद्ध र विसं १८७२ को सुगौली सन्धिपछि विश्व मानचित्रमा नेपालको नक्शाले एउटा स्थान पाएको थियो। पछि विसं १९१४ मा लखनउमा भएको सिपाही विद्रोहमा नेपालले अंग्रेजलाई सहयोग गरेपछि चार वटा जिल्लाको प्राप्तिबाट नेपालको नक्शामा स्थिरता देखिएको हो।
यस जनसांख्यिक प्रतिवेदनले त्यसै राणाकालिक प्रथम दशकको जीवन्त तस्वीर बोलेको छ। राणाकालसम्म पनि मल्लकालीन शहरी योजना, सांस्कृतिक गतिविधि, वास्तुकलात्मक ढाँचाले निरन्तरता पाएको देखिन्छ। यद्यपि, यस प्रसङ्गमा भीमसेन थापाको पालादेखि नै र जंगबहादुरको बेलायत यात्रापछि नेपालमा यूरोपेली वास्तुकला भित्रिएको बारे पनि छलफल गर्न उचित हुन्छ।
प्रारम्भिक राणाकालमा यहाँको सामाजिक-सांस्कृतिक संरचनाको बनोट, कृषिप्रणाली, औद्योगिक अवस्थिति, काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सम्बन्धबारे समाजशास्त्रीय-मानवशास्त्रीय कोणबाट अध्ययन गर्न यस ग्रन्थले बाटो देखाएको छ। समग्रमा नेपाल-अंग्रेज युद्ध र सुगौली सन्धिपछिको नेपाली समाजका राजनीतिक, सामाजिक, सांस्कृतिक अध्ययनका लागि यस ग्रन्थको महत्ता झल्किन्छ।