बेलायती प्रधानमन्त्रीले किन दिइन् ४५ दिनमै राजीनामा?
बेलायती प्रधानमन्त्री लिज ट्रसले ४५ दिनमै पदबाट राजीनामा दिएकी छन्।
ट्रसले बिहीबार साँझ प्रधानमन्त्रीबाट राजीनामा दिएकी हुन्। पार्टीभित्र र बाहिर चर्को आलोचना भएपछि उनले राजीनामा दिएको बीबीसीले जनाएको छ। उनी भदौ २१ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन्।
बेलायतको इतिहासमा सबैभन्दा कम समय प्रधानमन्त्री हुने उनी नै हुन्। यसअघि जर्ज क्यानिङ ११९ दिन प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री रहेकै वेला उनको सन् १८२७ मा निधन भएको थियो।
ट्रस प्रधानमन्त्री नियुक्त भएको तेस्रो सातादेखि नै समस्यामा परेकी थिइन्। उनका अर्थमन्त्री क्वासी क्वार्टेङले ४५ बिलियन डलरको कर कटौतीको योजना ल्याएका थिए। जसलाई ट्रसले ‘मिनी-बजेट’ भनेकी थिइन्। यसले आर्थिक सङ्कट निम्तिने भन्दै व्यापक विरोध भएपछि उनले सुधार्ने वाचा गरेकी थिइन्। उनले अर्थमन्त्रीलाई पनि हटाएकी थिइन्।
उनकै पार्टीका केही सांसदले शुरूआतदेखि नै विरोध गर्न थालेका थिए। जसले गर्दा गृहमन्त्री सुएला ब्रेवरम्यानले राजीनामा दिएकी थिइन्। त्यसपछि पनि पार्टीभित्रैबाट दबाब परेपछि उनले राजीनामा दिएको बीबीसीले जनाएको छ।
उनले पनि राजीनामा दिंदै आफूले वाचा गरे अनुसार काम गर्न नसकेको स्वीकार गरेकी छन्। उनले भने, “मलाई जुन म्यान्डेट दिएको थियो, त्यस अनुसार काम गर्न सकिने भन्ने कुरा म बुझ्छु।”
उनले प्रधानमन्त्री निर्वाचित हुँदा ऋषि सुनकलाई पराजित गरेकी थिइन्। कन्जर्भेटिभ पार्टीका सांसद र सदस्य गरी ८० हजारले उनलाई पार्टी नेताका लागि मत दिएका थिए।
अब बेलायतको अर्को प्रधानमन्त्री को होला भन्ने निश्चित छैन। अर्को साता पार्टी नेता चयन हुने भएको छ। नयाँ नेता चयन नभएसम्म उनले नै सरकार सम्हाल्नेछिन्।
बेलायती महारानी एलिजाबेथ द्वितीयले नियुक्त गरेकी उनी अन्तिम प्रधानमन्त्री हुन्। उनी प्रधानमन्त्री नियुक्त भएपछि महारानीको मृत्यु भएको थियो। दश दिनको शोक अवधिसँगै ट्रसको कार्यकाल प्रारम्भ भएको थियो।
ट्रस अर्थशास्त्री हुन्। उनले सन् २००० मा हग ओलिरीसँग बिहे गरेकी थिइन्। उनीहरूका दुई छोरी छन्।