माछापुच्छ्रेको बन्देज-विमर्श
आरोहण निषेधित माछापुच्छ्रे हिमाललाई खुला गरिनुपर्ने आवाज उठिरहँदा पर्यावरणीय प्रभाव लगायतका पाटोमा बृहत् अध्ययन गरेर मात्र उचित निर्णय लिइनुपर्छ।
पर्वतारोहणका लागि नेपाल विश्वमै प्रख्यात छ। सर्वोच्च शिखर सगरमाथा सहित यहाँका ४१४ वटा हिमालमा आरोहण खुला गरिएको छ।
तर, अन्नपूर्ण हिमशृङ्खला समूहभित्र पर्ने सुन्दर चुली माछापुच्छ्रे (६,९९३ मिटर)मा आरोहणको अनुमति छैन। हालसम्म कसैले आरोहण नगरेको हुनाले यसलाई ‘कुमारी हिमाल’ पनि भनिन्छ। माछापुच्छ्रेमा आरोहण खुला गर्नुपर्ने आवाज विभिन्न समयमा उठ्दै आएको छ।
सन् २००६ ताका गुरुङहरूको संस्था तमू धींको पोखरामा आयोजित कार्यक्रममा भूगोलविद् तथा विद्वान् हर्क गुरुङले माछापुच्छ्रे आरोहणका लागि खोल्नुपर्ने धारणा राखेका थिए। उक्त कार्यक्रममा गुरुङले बताए अनुसार, सन् १९५७ मा बेलायतका पर्वतारोही तथा लेफ्टिनेन्ट कर्णेल जेम्स ओवेन मेरिओन रबर्टस् (जिमी) नेतृत्वको टोलीले गरेको माछापुच्छ्रेको आरोहण प्रयास हिमपातका कारण विफल हुन पुग्यो। उनै रबर्टस् सन् १९५८ मा काठमाडौंस्थित बेलायती राजदूतावासमा सैनिक सहचारीका रूपमा आउँदा माछापुच्छ्रे हिमाललाई चोखो राख्नुपर्छ भनी तत्कालीन परराष्ट्र मन्त्रालयलाई सल्लाह दिएको बताइन्छ।
आफूले चढ्न नसकेको हिमालमा अरू पनि नचढून् भन्ने सोचका कारण उनले आरोहणमा प्रतिबन्ध लगाउन भनेको अनुमान गरिन्छ। त्यस वेला लगाइएको प्रतिबन्ध अहिलेसम्म कायम छ। २०७४ सालमा निर्वाचित माछापुच्छ्रे गाउँपालिकाका जनप्रतिनिधिहरूले आरोहण अनुमति खोल्नुपर्ने प्रस्ताव तेस्रो गाउँसभाबाट पारित गरेका थिए।
माछापुच्छ्रेमा आरोहण बन्देज लगाइनुमा गुरुङहरूको धार्मिक थलो ठानिनु पनि एउटा कारण मानिन्छ। यद्यपि, यो चुली गुरुङहरूको पवित्र थलो हो या होइन भन्नेमा विद्वान्हरूमै एकमत छैन। भूगोलविद् गुरुङका अनुसार, माछापुच्छ्रे हिमाल गुरुङहरूको धार्मिक थलो भन्ने धारणाको कुनै आधार छैन। जबकि, गत भदौ १० गते कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आयोजित अन्तरक्रियामा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति एवं संस्कृतिविद् जगमान गुरुङले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको माछापुच्छ्रेलाई आरोहणका लागि खुला गर्न नहुने धारणा राख्नुभयो।
बेलायतका पर्वतारोही जेम्स ओवेन मेरिओन रबर्टस् (जिमी) आफूले चढ्न नसकेको हिमालमा अरू पनि नचढून् भन्ने सोचका कारण उनले आरोहणमा प्रतिबन्ध लगाउन भनेको अनुमान गरिन्छ।
उहाँका अनुसार, पण्डित काशी सुरीद्वारा प्रकाशित गण्डक महात्म्य पुस्तकमा माछापुच्छ्रेका दुई चुच्चोलाई नर-नारायणको प्रतीकका रूपमा वर्णन गरिएको छ। अर्कातिर, नेपाली धर्म संस्कार अनुसार, हिमालको चुली शिव-पार्वतीको वासस्थान मानिन्छ। नेपाली समाजमा धार्मिक स्थल वा पवित्र थलो मानिएका स्थानमा फोहोरमैला गरे अशुभ हुने मान्यता छ।
माछापुच्छ्रे हिमालसित गुरुङको इतिहास जोडिएको छ। यो हिमाललाई गुरुङ भाषामा ‘कतासूँ क्लिँ’ (हिउँले भरिएको माछाको मुख) भनिन्छ। माछापुच्छ्रेको दक्षिणपूर्वी मोहोडातर्फ रहेका गुरुङ गाउँहरू खास गरी ल्वाङ, घलेल, लाहचोक, घाचोक, मिश्रा, करुवा, भारभुरे, चौरा, घलेखर्क, मेप्राङ र च्याडलुङका बासिन्दाहरू पुर्खौंदेखि यो हिमालको फेदीतिर भेडीगोठ राख्न र शिकार खेल्न पुग्ने गरेको तत्कालीन गोठाला र शिकारीहरू बताउँछन्। उनीहरूका अनुसार, यस क्षेत्रका बासिन्दा खास गरी गुरुङ जातिको पुर्ख्यौली थलो हो यो।
माछापुच्छ्रेको फेदी नजिक करीब ३,२०० मिटर उचाइमा अन्नपूर्ण तेस्रो, अन्नपूर्ण चौथो र माछापुच्छ्रेको पूर्वी मोहोडा गरी तीनतिरबाट आएका हिमनदीबाट बनेको ताल छ। यसलाई बोलीचालीमा तीन शिर र तीर्थयात्रामा जाने भएकाले तीनशिरे तीर्थ भनिन्छ। विगतमा यो तालमा जनैपूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरूले स्नान गर्ने र सिक्का चढाउने चलन रहेछ। तर, २०५४ सालमा दुर्घटनामा तीर्थयात्रीहरूको ज्यान गएपछि यो तीर्थयात्रामा जान बन्द भएको स्थानीयहरूको भनाइ छ।
पारिस्थितिकीय प्रणाली सम्बन्धमा समाजमा रहेका तीन दृष्टिकोणमध्ये प्रकृतिकेन्द्रित दृष्टिकोणले प्रकृतिको पनि अधिकार हुन्छ भन्ने विश्वास गर्छ। यस सम्बन्धमा भेडी गोठालाहरूको अनुभव पनि सुन्न पाइन्छ। अप्रिय घटना नहोस् भनेर प्रकृतिप्रेमी भेडी गोठालाहरूले गोठ सार्नुअघि ध्वजा र अक्षता चढाई प्रकृतिलाई पूजा गर्ने चलन छ। पूजा नगरी गोठ सार्दा भेडा मर्ने, गोठाला बिरामी हुने, असिनापानी वा बाढीपहिरोले दुःख दिने जस्ता घटनाहरू भएको सुनिन्छ। माछापुच्छ्रेको सन्दर्भमा यो पक्ष पनि विचारणीय छ।
गण्डकी प्रदेशको राजधानी पोखराबाट करीब २५ किमि उत्तरमा अवस्थित माछापुच्छ्रे हिमाल अधिक वर्षा हुने क्षेत्रमा पर्छ। यसका साथै हिमाली वातावरण ज्यादै कमजोर हुने भएकाले मानवीय गतिविधि बढ्दा यस क्षेत्रमा असर पर्न सक्छ। अतः यो हिमालमा आरोहण खुला गर्दा जोखिम निम्तिन सक्नेतर्फ पनि विचार गरिनुपर्छ।
नेपालमा पर्वतारोहण पर्यटनको बजार प्रर्वद्धन निकै कमजोर छ। हाम्रा ४१४ वटा हिमाललाई आरोहणका लागि खुला गरिएकोमा आर्थिक वर्ष २०७७/७८ मा ८८ वटा चुलीमा मात्र आरोहण अनुमति प्रदान गरी राजस्व सङ्कलन गरिएकोे पर्यटन विभागको तथ्याङ्कले देखाउँछ। यसमध्ये गण्डकी प्रदेशका आठ हजारभन्दा अग्ला एउटा सहित ३४ चुली (३९ प्रतिशत) आरोहणका लागि आरोही आएका थिए। अहिले भएकै हिमाल चढ्न आरोही पर्याप्त नआइरहेको सन्दर्भमा माछापुच्छ्रे हिमाल खुला गर्ने प्रयास कति उचित हुन्छ भन्नेतर्फ पनि सोचौं।
यस वर्ष निर्वाचित माछापुच्छ्रे गाउँपालिकाका जनप्रतिनिधिले पनि माछापुच्छ्रेलाई आरोहणका लागि खुला गर्नुपर्ने योजना राखेका छन्। यस बाहेक माछापुच्छ्रे पदमार्ग पहिचान गर्न स्थलगत अध्ययन पनि भइसकेको छ। गाउँ कार्यपालिकाको पहलमा नेपाल पर्यटन बोर्ड प्रादेशिक कार्यालय पोखरा, नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश समिति र स्थानीय युवाहरूको सहभागितामा गत जेठमा स्थलगत अध्ययन भएको हो।
अहिले भएकै हिमाल चढ्न आरोही पर्याप्त नआइरहेको सन्दर्भमा माछापुच्छ्रे हिमाल खुला गर्ने प्रयास कति उचित हुन्छ भन्नेतर्फ पनि सोचौं।
पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त पौडेलका अनुसार, पोखराबाट घाचोक (१,३०० मि.), हिलेखर्क (२,२०० मि.), खुमाइ (३,२४० मि.), बुङ्गा देउराली (४,२५० मि.), डाङडुङे देउराली (४,४०० मि.), रानीखर्क (४,६०० मि.), माछापुच्छ्रे आधार शिविर (४,८०० मि.), पिपरखर्क (३,३३० मि.) हुँदै करुवा (१,४०० मि.)बाट खारपानी भएर पोखरा आउन सकिने ‘ग्रेट माछापुच्छ्रे ट्रेल’ तयार पारिएको छ। यो पदयात्रा पर्यटकको आवश्यकता अनुसार आठदेखि ११ दिन लामो बनाउन सकिन्छ।
माछापुच्छ्रेमा आरोहण खुला गर्नुअघि विभिन्न पक्षमा व्यापक विमर्श र लेखाजोखा गरिनुपर्छ। यस सम्बन्धमा शुरूमै सम्भाव्यता अध्ययन गर्नुपर्छ। पर्यावरणीय तथा ऐतिहासिक र धार्मिक पक्षमा आँखा चिम्लिएर आर्थिक पक्षमा मात्र केन्द्रित भई आरोहण खोलिनु कदापि मनासिब हुँदैन।
(गुरुङ पर्यटन विज्ञ हुन्। हिमालको २०७९ कात्तिक अंकबाट।)