एकै हैनन् नेपाल संवत् र म्हपूजा
नेपाल संवत् र नेवार समुदायमा प्रचलित संस्कृति म्हपूजा बेग्लाबेग्लै हुन् भन्ने यथार्थ बुझाउन नसक्दा यो संवत् निश्चित समुदायको हो भन्ने भ्रम भएर आम प्रचलनमा आउन सकेको छैन।
नेवार समुदायले मनाउने म्हपूजा कार्तिक शुक्ल प्रतिपदाको दिन पर्छ। यसै दिनबाट नेपाल संवत्को नयाँ वर्ष शुरू हुन्छ। नेपालको मौलिक संवत् भएको र प्राचीन नेपालको बिंडो थाम्दै आएको समुदाय भएको नाताले नेवारहरू नेपाल संवत्को पक्षपाती छन्। नयाँ नेपाल संवत् शुरू हुने दिन म्हपूजा गरिने भएकाले कतिपयलाई यी दुई एकै हुन् वा म्हपूजा गरेका कारण नयाँ वर्ष मनाएको भन्ने भ्रम पाइन्छ। तर, इतिहास र संस्कृतिको आलोकमा हेर्दा यी दुई भिन्न विषय रहेको देखिन्छ।
म्हपूजाको प्रचलन नेपाल संवत् शुरू हुनुभन्दा करीब पाँच सय वर्षअघि नै भएको देखिन्छ। यसले यी दुई एउटै नभएको प्रष्ट्याउँछ। नेपालका थोरै मात्र मौलिक संवत्मा नेपाल संवत्भन्दा अघि मानदेव संवत् र अंशुवर्मा संवत् प्रचलनमा थिए। यी संवत् बेग्लै पद्धति नभएर एउटै परम्परा मान्ने अन्तर्गतका हुन्। एउटा नामबाट संवत्को प्रचलन शुरू भयो र कुनै निश्चित समयमा पुरानो गणना छाडी पुनः एकबाट शुरू गरी नयाँ नाम दिइयो। नेपाल संवत्अघि प्रचलित संवत्को गणना पद्धति एउटै रहेको र त्यसैको निरन्तरता नेपाल संवत् हो भनेपछि म्हपूजाको सम्बन्ध पूर्ववर्ती संवत्हरूसँग छ कि भन्ने जिज्ञासा हुन सक्छ। तर, यसबारे कुनै ऐतिहासिक स्रोत सामग्री भेटिंदैन।
इतिहास र संस्कृति बेग्लाबेग्लै विषय हुन्। संवत्को स्थापना तथा प्रचलन इतिहासका कुरा हुन्। संस्कृति चाहिं इतिहास जस्तो स्पष्टसँग शुरू र अन्त्य हुँदैन। यसको निर्माणमा धेरै तत्त्वले भूमिका खेलेका हुन्छन् र लामो कालखण्डमा निश्चित स्वरूप धारण गर्छ। यो परिवर्तनशील पनि हुन्छ।
म्हपूजालाई कतिपय लेखकले ‘आत्मापूजा’ भनेर चिन्ने र चिनाउने गरेको पाइन्छ। यो वर्गका लेखकहरू आत्मवादी हुन् र आत्माको अस्तित्वका पक्षपाती हुन्। उनीहरूले भन्ने आत्माको तात्पर्य वेद, उपनिषद् जस्ता ब्राह्मण साहित्यले अर्थ्याए जस्तै अजरअमर र चैतन्य स्वरूपका हुन्। चैतन्य स्वरूपको आत्माको पूजा भन्ने भाष्यमाथि प्रश्न गर्न सकिन्छ, आत्मा र परमात्माको खूबै चर्चा गर्ने समुदायमा म्हपूजा नहुने तर यस्ता विषयसँग खासै सरोकार नराख्ने समुदायमा मात्रै म्हपूजाको प्रचलन किन भएको हो? म्हपूजा मनाउने नेवार समुदायको भाषामा ‘आत्मा’ शब्दका लागि छुट्टै शब्द छैन। अझ महत्त्वपूर्ण कुरा त, ‘म्ह’ शब्दले आत्मा नबुझाएर सोझै शरीर वा देह मात्रै बुझाउँछ। यस अर्थमा म्हपूजा आध्यात्मिक नभएर भौतिक विषय हो।
भौतिकवादीहरू देहलाई केन्द्रमा राखेर जीवनदर्शन बनाउँछन्। जबकि ध्यान–साधना गर्नेहरू देहलाई क्षणभङ्गुर मान्दै आत्मिक साधनामा जोड दिन्छन्। गौतम बुद्धले पनि साधनाका क्रममा भोजन नगरी देहलाई तड्पाएकै थिए। पछि देह नै नरहे कसरी साधना गर्ने भन्ने सोचेर भोजन लिन थालेका थिए। सबै कुराको उत्पत्ति र विनाश सँगसँगै भइराख्ने यथार्थ दर्शाउने क्षणिकवाद र कुनै पनि कुरा स्थायी नभएको मान्ने अनित्यवाद गौतम बुद्धको मौलिक पहिचान हो। देहलाई तड्पाउने र आत्मामा अनुरक्त हुने उपदेश बुद्धबाट कहिल्यै भएन। देहलाई उच्च र तुच्छ ठान्ने दुई विपरीत विचारधाराबीच मध्यमार्गका रूपमा देहलाई बुद्धले साधनाको माध्यम बनाए।
तर, यो प्रसङ्ग उठानबाट बुद्धको मान्यताका आधारमा म्हपूजा शुरू भएको भन्ने आशय पंक्तिकारको होइन। गौतम बुद्ध र उनका समकालीन वर्धमान महावीरको प्रसङ्गमा म्हपूजा सम्बन्धी कुनै संस्कृति पाइँदैन। यी दुईलाई पछ्याउने विद्वान् शिष्यहरूले पनि म्हपूजासँग सम्बन्ध राख्ने कुनै कुराको विकास गरेको भेटिंदैन। यस्तै, विभिन्न समयमा नेवार समुदायमा सम्मिश्रण हुन आएका समुदायहरूका वंश र कुटुम्बहरूको पनि म्हपूजासँग कुनै सम्बन्ध पाइँदैन। वैदिक, सनातन वा ब्राह्मण समुदायको साहित्यमा पनि म्हपूजाको कतै उल्लेख छैन।
यस अवस्थामा काठमाडौं उपत्यकामा हिन्दू र बौद्ध दुई धार्मिक समुदायको प्रवेशभन्दा अघि नै म्हपूजाको भिन्नै स्वरूपमा प्रचलन रहेको र त्यही संस्कृति परिमार्जन हुँदै निरन्तरता पाइरहेको भन्न सकिन्छ। उपत्यकाको नेवार समाजमा हिन्दू र बौद्ध दुवै धर्मसँग कुनै सरोकार नभएका कतिपय संस्कृति तथा संस्कारहरू मौलिक रूपमा प्रचलनमा रहेको र तिनको सम्बन्ध अत्यन्त सुदूर पूर्वको इतिहाससँग देखिएकाले हाम्रो दृष्टि यतातिर पनि पुग्नुपर्छ।
नेपाल संवत्को थालनी
नेपाल संवत्को शुरूआतबारे बालुवा सुनमा परिणत भएको कथा प्रचलित छ। तर, त्यो कथामा ऐतिहासिकता देखिंदैन। कथा अनुसार, भक्तपुरका राजाले ज्योतिषीको सल्लाह अनुसार कान्तिपुरमा बालुवा लिन पठाए। त्यति वेला कान्तिपुर छुट्टै राज्य थियो। त्यहाँबाट ल्याइएको बालुवा सुनमा परिणत भयो र राज्य ऋणबाट मुक्त भयो। तर, वास्तविकता के हो भने, नेपाल संवत् थालनी भएको समयसम्म कान्तिपुर अलग राज्य थिएन, यहाँको शासन भक्तपुरबाटै हुन्थ्यो। छुट्टै कान्तिपुर राज्यको स्थापना धेरैपछि यक्ष मल्लका छोरा रत्न मल्ल (राज्यकाल इ.सं. १४८२–१५२०) बाट भएको थियो।
नयाँ संवत्को थालनी सामान्य कुरा होइन, ठूलै परिवर्तनपछि मात्रै यस्ता कुरा हुन्छन्। नेपाल अध्ययन गरेका सिल्भाँ लेभीका अनुसार, तत्कालीन नेपाल तिब्बत अधीनस्थ थियो र त्यसबाट मुक्त भएको खुशियालीमा नयाँ संवत् चल्यो, पछि यसको नाम नेपाल संवत् रहन गयो। लेभीको यो मतबारे नेपाली इतिहासकारहरूले सोचविचार र थप अध्ययन गर्नुपर्छ।
तिब्बतसँग नेपालको सम्बन्ध पहिल्यैदेखि भए पनि लिच्छवि राजा उदयदेवको तिब्बत पलायन, राजकुमारी भृकुटीको तिब्बती राजासँग विवाह र तिब्बती सेनाको सहयोगमा पुर्ख्यौली राजगद्दी प्राप्त गर्न नरेन्द्रदेव सफल हुनु राजनीतिक सम्बन्ध हो। नरेन्द्रदेवलाई सहयोग गर्न आएको तिब्बती सेना नेपालमै बसेर उनको सत्तालाई सुदृढ गरेको पाइन्छ।
भारतीय राजा हर्षवर्द्धनको सेवामा पठाइएको चिनियाँ दूत त्यहाँ पुग्नुअघि नै राज्यसत्तामा बदलिएर नयाँ सत्तासीन व्यक्ति अरुणाश्वबाट चिनियाँ दूतको अपमान भएको इतिहास पाइन्छ। त्यो अपमानपछि चिनियाँ र तिब्बती सेनाले अरुणाश्वलाई गिरफ्तार गरेर नेपालकै बाटो चीन लगेको थियो। तिब्बतबाट आएको सेना भने नेपालमै बसेको तथ्य पनि पाइन्छ। नेपालमा रहेको त्यस्तो तिब्बती प्रभाव कालान्तरमा हटेको घटनालाई सिल्भाँ लेभीले तिब्बतबाट नेपाल स्वतन्त्र भएको र त्यसै उपलक्ष्यमा नेपाल संवत्को थालनी भएको मानेका हुन सक्छन्।
म्हपूजा र नेपाल संवत् फरक कुरा भए पनि एकै दिन पर्नुलाई संयोग मात्रै पनि भन्न सकिन्न। विभिन्न समयका घटनाहरू एकै दिन पर्ने र कालान्तरमा एकअर्कासँग सम्बन्धित जस्तै देखिने गरी घुलमिल हुने गरेको अन्य प्रसङ्ग पनि पाइन्छन्। सांस्कृतिक दृष्टिले म्हपूजाको महत्त्व हेर्दा वर्षभरिको कुनै पनि दिन यो गर्न सकिने भए पनि कार्तिक शुक्ल प्रतिपदाकै दिन मनाउने परम्परा छ। नेपाल संवत् लगायत अन्य संवत्हरू पनि यसै दिनबाट प्रारम्भ हुनु र म्हपूजा पनि यसै दिन गरिनुले यो विशेष दिन भएको र विशेष दिनमा विभिन्न सन्दर्भ जोडिनु स्वाभाविक भएको जनाउँछ।
देशको मौलिक संवत् भए पनि आधुनिक नेपालमा यो नेवार समुदायमै सीमित छ। प्राचीन नेपालका सबै ऐतिहासिक सामग्रीमा नेपाल संवत्कै प्रयोग हुने गरे पनि राणाकालदेखि यसलाई हटाउन राज्यबाट नै प्रयास भएको पाइन्छ। नेपाल संवत् राष्ट्रिय संवत् भएको र यसले सरकारी मान्यता पाउनुपर्ने माग राखी नेवार समुदायले विगतमा आन्दोलन गर्दा सरकारले दमन गर्ने तथा संवत् प्रयोगमा प्रतिबन्ध लगाएको पनि पाइन्छ।
पञ्चायती व्यवस्थाको अन्त्यपछि नेपाल संवत्लाई पूर्ववर्ती सरकारहरूले जस्तो व्यवहार नगरे पनि प्रोत्साहन पनि गरिएन। नेपाल संवत् ११२० कछलाथ्व दशमी (२०५६ मंसीर २) मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा नेपाल संवत्को प्रवर्तक भनिएका शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरियो भने नेपाल संवत् ११२९ (२०६५ साल)मा पुष्पकमल दाहाल नेतृत्वको सरकारले यो संवत्लाई राष्ट्रिय संवत् घोषणा गर्यो। तर, यो संवत्ले राज्यका निकायहरू र आम जीवन–व्यवहारमा उचित स्थान पाउन सकेको छैन। यसको खास कारण नेवार समुदायको संवत् भन्ने भ्रम हो। नेवार समुदायमा प्रचलित संस्कृति म्हपूजा र नेपाल संवत् बेग्लाबेग्लै हो भनेर बुझ्न र बुझाउन नसकेसम्म यो भ्रम रहिरहने देखिन्छ।