छापिए २० जिल्लाका सवा करोड मतपत्र
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बिहीबारसम्म २० जिल्लाका मतपत्र छापिएका छन्।
निर्वाचन आयोगका अनुसार, २० जिल्लाका लागि एक करोड २८ लाख ४९ हजार पाँच सय मतपत्र छापिएका हुन्। जसमा प्रदेश सभातर्फको ६४ लाख ३२ हजार पाँच सय र प्रतिनिधि सभातर्फ ६४ लाख १७ हजार मतपत्र छन्।
प्रत्यक्ष निर्वाचनका लागि देशभर एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम रहेका छन्। उनीहरूका लागि करीब चार करोड मतपत्र छापिने आयोगले जनाएको छ। समानुपातिकतर्फका करीब चार करोड मतपत्र आयोगले छापिसकेको छ।
आयोगका अनुसार, प्रत्यक्षतर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरा जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ भइसकेको छ।
त्यस्तै, प्रदेश सभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछामको मतपत्र छपाइ सम्पन्न भएको छ।