ब्यूँझियो बास्केटबल
नेपाल बास्केटबल लिगको सफल आयोजनले खेलाडीमा उत्साह मात्र जगाएको छैन, मुलुककै बास्केटबल विकासको खाका समेत कोरिदिएको छ।
६ असारमा त्रिपुरेश्वरस्थित कभर्ड हलमा दोस्रो नेपाल बास्केटबल लिगको फाइनल खेल चलिरहँदा आमजनमा बास्केटबल ‘क्रेज’ का थुप्रै झलक देखिए ।
खेलमा पलपलमा आउने ‘ट्विस्ट’ का बेला रोमाञ्चित दर्शक र भरमग्दुर प्रतिभा पस्किरहेका खेलाडीहरूको यो संयोजन देखेपछि कतिपय खेलप्रेमी भन्दैथिए, “बल्ल देख्न पाइयो नेपालमा बास्केटबलको असली रुप ।”
यीमध्ये एक थिए, बास्केटबलका राष्ट्रिय टोलीका कप्तान सदिश प्रधान । उनी भन्दैथिए, “मैले एक दशक बढी बास्केटबलमा बिताएँ तर, यो क्षण फरक अनुभव भइरहेको छ । वातावरण मात्र पाउने हो भने, नेपाली बास्केटबल धेरै माथि पुग्ने रहेछ ।”
कभर्ड हलमा द टाइम्स इन्टरन्याशनल क्लब र नेपाली सेनाको टोलीबीच फाइनल चलिरहेको थियो । तर त्यो एउटा खेलका कारण मात्र दर्शकको भीड उर्लेको थिएन । यसको कारण प्रतियोगिताको स्तर, आयोजनाको नयाँ अभ्यास थियो ।
नेपालमा बास्केटबलको गतिविधि छैन नै भने पनि हुन्छ । राष्ट्रिय खेलाडीहरू नै वर्षमा मुश्किलले एकाध प्रतियोगिता खेल्न पाउँछन् । बास्केटबल संघ पनि निष्क्रिय छ ।
यस्तोमा निजी संस्था ‘विपन्न बालबालिका खेलकुद नेपाल’ बास्केटबलको राष्ट्रिय लिग गर्न अगाडि सर्यो । लिगमा राष्ट्रियसँगै विदेशी खेलाडीहरू पनि सहभागी गराइयो । ‘होम एण्ड अवे’ लिग प्रणालीमा झण्डै साढे दुई महीना प्रतियोगिता भयो ।
खेलको चर्चा त भयो नै खेलाडीको प्रदर्शन र प्रतियोगिताको स्तर पनि बढ्यो । हरेक खेलमा ‘गर या मर’ को प्रतिस्पर्धा थियो । बास्केटबलको यति लामो प्रतियोगिता नेपालमा यसअघि कहिल्यै भएको थिएन ।
‘फेशन’ बास्केटबल
अचेल विद्यालय र कलेजमा बास्केटबल ‘फेशन’ भइसकेको छ । बास्केटबल एक मात्र यस्तो खेल हो, जसको कोर्ट सरकारभन्दा धेरै बढी निजी क्षेत्रले बनाइदिएको छ । त्यो हिसाबमा बास्केटबललाई तल्लो स्तरसम्म पुर्याउन र खेलाडी उत्पादन गर्न नेपाल बास्केटबल संघले कुनै चिन्ता लिनुपर्दैन ।
यति हुँदाहुँदै पनि बास्केटबल संघ प्रगति उन्मुख छैन । त्यसो त २०४६ सालमै राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको संघ २०६० पछि मात्र केही सक्रिय देखियो । त्यसबेला इन्डोर एशियन गेम्सदेखि एशियन गेम्ससम्म र उमेर समूहका प्रतियोगितामा पनि बास्केटबल सहभागी भयो । अन्तर्राष्ट्रिय पदकहरू पनि हात पार्यो ।
दक्षिण एशियाली बास्केटबल च्याम्पियनसिपमा नेपालले दुई पटक काँस्य पदक नै जित्यो । तीन वर्षअघि नेपालमै बास्केटबलको महिला साफ च्याम्पियनसिप आयोजना भएको थियो र घरेलु टीम नेपालले रजत पदक जितेको थियो ।
तर समय फेरिएको छ । सरकारी अनुदानका आधारमा चल्ने र अति न्यूनतम आवश्यकतामै अलमलिने अन्य थुप्रै खेल संघ जस्तै बास्केटबल संघ पनि पछिपरेको देखिएको छ ।
यहीबेला निजी क्षेत्रले बास्केटबलको विशेषता र सम्भावना देखाइदिएको खेलाडीहरू बताउँछन् ।
“महिला लिग हुन्छ भन्ने सोचेका पनि थिएनौं । अहिले खेलाडीहरू धेरै खुशी छन्”, राष्ट्रिय महिला टोलीकी कप्तान सदिना श्रेष्ठ भन्छिन् ।
राष्ट्रिय महिला खेलाडीको समस्या बेग्लै छ । राष्ट्रिय खेलाडीको हैसियत पाइसकेका खेलाडीहरूले कलेजस्तरीय वा अन्य उमेर समूहको प्रतियोगिता खेल्न नपाउने नियम संघले लगाएको थियो । “अन्य प्रतियोगिता खेल्न पनि नपाउने अनि राष्ट्रिय प्रतियोगिता नहुने समस्याले हामी पिरोलिएका थियौं । यो लिगले ज्यान दिएको छ”, सदिना भन्छिन् ।
दर्शकले दिलाएको हौसला
विदेशी खेलाडी पनि समावेश गर्न पाउने नियमका कारण लिगमा ६ जना खेलाडी नेपाल आए । जसमा सबैभन्दा चर्चा पाए, श्रीलंकाली प्रनिथ उडुमालागाला र महिलातर्फ फिलिपिन्सकी एलिना लिम ।
“नेपालमा बास्केटबलको निकै ‘क्रेज’ रहेछ । जहाँ ‘क्रेज’ छ त्यहाँ सबै कुरा राम्रो हुन्छ”, प्रनिथ भन्दैथिए । भूटानबाट खेल्न आएकी इवाङ पिन्डारिकाले नेपालको प्रतियोगिताबाट भूटानले पनि सिक्नुपर्ने बताइन् ।
लिगले खेल र प्रतिस्पर्धाको स्तर बढेको छ । तर, चर्चा पाएको अनुपातमा यो व्यावसायिक लिग भने थिएन । विदेशी खेलाडीहरू यो वर्ष व्यावसायिकता भन्दा सम्बन्धको आधारमा आएको क्लब अधिकारीहरूको भनाइ छ ।
तर, प्रनिथले भने जस्तै कुनै पनि प्रतियोगिता चल्ने मुख्य आधार भनेकै दर्शकको उपस्थिति हो ।
दर्शकबाट उत्साहित आयोजक विपन्न बालबालिका खेलकुद नेपालका पदाधिकारीहरू यसलाई अर्को वर्षबाट फ्रेञ्चाइज लिगको रुपमा आयोजना गर्ने योजनामा छन् । संस्थाका अध्यक्ष अरुण कार्की भन्छन्, “६ वटा क्लब बनाउने, त्यसलाई ६ वटा कम्पनीले खरीद गर्ने र खेलाडीहरूलाई ड्राफमा मूल्य तोक्ने । फ्रेञ्चाइजी क्रिकेट जस्तो अवधारणा अपनाउने योजना बनाएका छौं ।”
झन्डै ६० लाखको खर्चमा प्रतियोगिता सम्पन्न गरेको बताउने कार्की अब हरेक खेलाडीको क्षमता अनुसार मूल्य दिइने बताउँछन् ।
यो योजना सफल भए नेपालमा बास्केटबल व्यावसायिकताको बाटोमा लाग्नेछ । तर, यसका लागि फेरि पनि बास्केटबल संघ ब्यूँझिनु जरुरी छ । संघका महासचिव नरेन्द्र थापा बास्केटबल विकासमा निजी क्षेत्रको सहभागिता अपरिहार्य ठानेर यो लिगलाई स्वीकृति दिएको बताउँछन् ।
“निजी क्षेत्रको उपस्थितिले बास्केटबल र अन्ततः संघलाई नै फाइदा पु¥याउने हो । तर, खेल अनुशासन, अन्तर्राष्ट्रिय मापदण्ड आदिबारे हामी सचेत छौं”, थापा भन्छन् ।
समग्रमा अहिले ब्यूँझिएको बास्केटबललाई थप दौडाउन निजी क्षेत्र र संघको हातेमालो जरुरी देखिन्छ ।