‘नेवार समुदायका अधिकांशले त्यो बाबुले पाउनेसम्मको सजाय पाइसके भन्नुभएकाे छ’ (भिडियो)
नेवार समुदायलाई ठेस पुगेको भए किन माफी नमाग्ने भनेर छोरो र मैले माफी माग्यौं। छलफलमा पनि माफी माग्यौं।
मेराे घर सर्लाही हाे। म पेशाले शिक्षक हुँ। मेरा दुई जना छोरा छन्। अपूर्व क्षितिज जेठो हो। उसले सीए (चार्टड् एकाउन्टेन्ट) पढेको हो। उनको इच्छा ‘कमेडी’ गर्ने हो। कान्छो छोरो विद्यावारिधी गर्दैछ।
अपूर्वको मुद्दाका कारण काठमाडौं आएको हुँ। मेरो उता जागीर छ। सधैं काठमाडौंमा बस्न र धाउन सक्दिनँ। जागीर पनि खानुपर्यो। परिवार पनि हेर्नुपर्छ।
जुन भिडिओका कारण क्षितिज पक्राउ परेको छ, उसले त्यो शो नेवार समुदायका १० वटा जति ठाउँमा गरिसकेको थियो। साथीभाइ र नेवार समुदायका मान्छेले पनि मन पराएका थिए। राम्रै प्रतिक्रिया दिएका थिए। जब त्यही शोको १२ मिनेटको भिडिओ युट्यूबमा अपलोड गर्यो। त्यसको भोलिपल्टदेखि भने नराम्रो प्रतिक्रिया आउन थाल्यो।
त्यसपछि साथीहरूको सल्लाहमा उसले भिडिओ डिलिट गर्यो। फेसबूकमा स्टेटस लेखेर माफी माग्यो। यति मात्र नभएर भिडिओ बनाएर नै माफी माग्यो।
नेवार समुदायका केही व्यक्ति महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दिन गएछन्। बिदाको दिन भएकाले प्रहरीले जाहेरी लिन मिल्दैन भनेपछि भीड आक्रोशित भएछ। मान्छे जम्मा भए। त्यसपछि १०५ जनाले क्षितिज विरुद्ध अभियोग दर्ता गराएछन्। अभियोग दर्ता भएपछि प्रहरी निरीक्षकले क्षितिजलाई फोन गरेर ‘तपाईं आउनुस्’ भनेछन्।
क्षितिजलाई माफी मागेपछि हुन्छ भन्ने लागेको रहेछ। नेवार समुदायका उसका साथीहरूले पनि त्यही भनेका रहेछन्। प्रहरी कार्यालयमा छलफल भएपछि ‘केस’ टुङ्गिहाल्छ भनेर क्षितिज गएको थियो। तर, घटना यसको विपरीत भयो। उसको हातमा पक्राउ पूर्जी थमाएर पक्राउ गरियो। १० दिनको म्याद थपियो। प्रहरीले अनुसन्धान बिस्तारै गर्यो। त्यसपछि पुनः पाँच दिन म्याद थप भयो।
क्षितिज बिरामी भयो। हामीले अनुरोध गरेपछि प्रहरीले अस्पताल लग्यो। अस्पतालमा सबै प्रकारको उपचार भयो। कोभिड परीक्षण गर्दा पोजेटिभ देखियो। त्यसपछि एक दिन कोभिड वार्डमा बस्यो।
त्यसपछि प्रहरीबाट फोन आयो, ‘तपाईंको कोभिड ठीक भइहाल्यो, आउनुस्’ भनेर। उसले पनि ‘बुबा, आज म टेकु परिसरमा जान्छु, जे हुन्छ हुन्छ’ भन्यो। मैले तिहार सकेपछि जानू भनेको थिएँ, तर उसले मानेन। त्यसैले उसलाई लिएर म प्रहरीकहाँ गएँ।
महानगरीय प्रहरी परिसर टेकुले आरोपको आधारमा फाइल बनाएर सरकारी वकीलको कार्यालयमा मुद्दा पेश गर्यो। सरकारी वकीलले अनुसन्धानका लागि अदालतबाट तीन दिन म्याद थप गरेर ल्याए। त्यसपछि तीन दिन हिरासतमा राखे।
यस विषयलाई लिएर हामी पटक पटक काठमाडौं आएर नेवार समुदायका व्यक्तिहरूसँग छलफल गर्यौं। त्यत्रो ठूलो गल्ती जस्तो त लागेको छैन। त्यति त बोल्न पाउनुपर्ने हो। एउटा कमेडियनको वाक्-स्वतन्त्रता छ। कानूनले पनि दिएको हो कि जस्तो लाग्छ। तैपनि, नेवार समुदायलाई ठेस पुगेको भए किन माफी नमाग्ने भनेर छोरो र मैले माफी माग्यौं। छलफलमा पनि माफी माग्यौं।
छलफलमा कुरा मिल्ला जस्तो हुन्थ्यो, पछि एक–दुई जनाले भने कुरा बिगारिदिने। यस्तो क्रम चल्दै गयो। त्यसपछि हामीलाई लाग्यो, मिल्ने मिलाउने पक्षमा कोही छैनन्। कोही पनि जाेखिम लिन तयार छैनन्। प्रहरी पनि डराएको छ। प्रहरीमा जाहेर भएका आरोपलाई जस्ताको तस्तै फाइल बनाएर सरकारी वकीलको कार्यालयमा पठाइएको छ।
मुद्दाका कारण क्षितिज डिप्रेशनमा गएको छ। हामी आमाबुबालाई पनि तनाव छ। त्यही तनावले मलाई ज्वरो आएको छ। राम्रोसँग बोल्न पनि सक्दिनँ। हामीले कसैसँग लेनदेन गरेका छैनौं। हाम्रो पक्षमा पनि वकील राख्नुपर्छ भन्ने सल्लाह पाएपछि एक जना राखेका छौं।
प्रहरीले जेजस्तो गरे पनि अदालतले न्याय दिन्छ भन्ने विश्वास छ। अहिलेसम्म कुन अभियोगमा पक्राउ गरिएको भन्ने थाहा छैन। कुन कानून अनुसार पक्राउ गरिएको भन्ने हामीलाई जानकारी दिइएको छैन। छोरो हिरासतमा छ। यस्तो वेला बुबाआमालाई कस्तो पीडा हुन्छ, कल्पना गर्नुस् न!
मैले जानेसम्म, थाहा पाएसम्म नेवार समुदायका व्यक्तिहरूलाई घर घरमा गएर भेटेको छु। छलफल गरेको छु। माफी मागेको छु। त्यो क्रममा यस मुद्दालाई टुङ्ग्याउन चाहने धेरै भेटें। अधिकांश व्यक्तिले ‘त्यो बाबुले पाउनेसम्मको सजाय पाइसके, अब धेरै सजाय दिन हुँदैन, कुरो टुङ्ग्याउनुपर्छ’ भनेका छन्। थोरै मात्र टुङ्ग्याउन नचाहने छन्। उनीहरूकै कारण यो अवस्था आएको हो जस्तो लाग्छ। उनीहरूले किन यसो गरिरहेका छन् भन्ने बुझ्न सकेको छैन।
सर्लाही, विराटनगर र तराईका विभिन्न भागका जुलूस निकाल्ने भनेका थिए। यसो गर्दा कसैलाई फाइदा हुँदैन भन्ने मलाई लाग्यो। जातीय द्वन्द्व बढ्छ भनेर यस्ता गतिविधि गर्न दिइनँ। सबै जातजाति मिलेर बस्नुपर्छ भन्ने मलाई लाग्छ।
यस मुद्दामा धेरै मान्छेले दुःख व्यक्त गरिराखेका छन्। त्यसमा नेवार समुदायका पनि धैरे छन्। यो गलत हो भनिराखेका छन्।
(डुक्पा छिरिङ मोक्तानसँगको कुराकानीमा आधारित।)