नेपाली सङ्गीतमा दलित: सहानुभूति पायौं, सम्मान पाएनौं
दलित समुदायबाट आउने साङ्गीतिक प्रतिभालाई अझै पनि यिनीहरूको जातै गानाबजाना गर्ने हो भन्दै होच्याउने प्रवृत्ति छ।
हजुरबुबा नौमती बजाउनुहुन्थ्यो, आमा नाचगान र भजनकी पारखी। लमजुङको बेंसीसहर-२ स्थित हाम्रो घरको माहोलै साङ्गीतिक थियो। गुरुङ बस्ती भएकाले रोदी पनि बसिन्थ्यो। जानेर-नजानेर ९ वर्षकै उमेरदेखि गाउन थालें। सँगसँगै जातीय भेदभाव पनि भोग्दै आएँ। गाउँमा हुने कार्यक्रम, विवाह, व्रतबन्धमा रात-रातभर गाइन्थ्यो, सबैले सुन्थे। तर, बिहान धारामा पानी लिन जाँदा हामीले छोएको चल्दैन भन्दै टाढा भाग्थे। यही विभेद म आज पनि विभिन्न स्वरूपमा भोग्दै छु।
साङ्गीतिक क्षेत्रमा दलितको सहभागिता तुलनात्मक रूपमा बढी छ। दलितहरू परम्परागत रूपमै पनि सङ्गीतसँग नजिक छन्। मलाई त सङ्गीत हाम्रै समुदायबाट उत्पन्न संस्कृति हो भन्ने लाग्छ। गन्धर्वहरूको लोकगीत, भरियाहरूको पन्चै बाजा, दमाईहरूको दमाहा र नौमती बाजा यसका प्रमाण हुन्। गन्धर्वहरू दशैंमा सारङ्गीबाट मालश्री धुन बजाउँथे, अहिले त्यो लोप भइसकेको छ। मैले लोकगीत सिकेको चाहिं रोदीघरबाट हो। समाजबाट पनि सिकें।
गीत गाउँदै हिंड्दा हामीलाई ‘यसको त जातै हो गानाबजाना’ गर्ने भन्थे। त्यसले त्यति मन दुख्दैनथ्यो जति अन्य समुदायका कलाकार र हामीलाई एउटै मञ्चमा फरक फरक ठाउँ छुट्याउँदा दुख्थ्यो। त्यसैले हामीले आवाज कलाकार केन्द्र नामक संस्था बनाएर जागरण ल्याउने कोशिश गर्यौं।
त्यही संस्थाको पहलमा ‘रुमाल धोको छु’ गीत ल्यायौं जस मार्फत समाजमा हामीमाथि भएको भेदभावबारे बोलेका छौं। पैसा जोरजाम गरेरै भए पनि संस्थाबाट यस्तै जागरण गीतहरू ल्याउनुलाई प्राथमिकता दिएका थियौं। मैले एकल प्रयासमै पनि जातीय विभेद विरुद्धका गीत ल्याएँ। ‘सुनपानीले छर्क मायालु’ त्यसैमध्येको हो। यसका शब्द यस्ता छन्-
मान्छे भन्दा ठूलो जात कुन छ र ?
मैले छुँदा पानी विष हुन्छ र ?
जति सक्छ्यौ तर्क मायालु
मैले छुँदा छोइन्छ भने त सुनपानीले छर्क मायालु।
प्रेमभावमा रहेका यी गीतले छुवाछूत गर्न हुँदैन, यो गलत प्रथा हो भन्ने सन्देश फैलाउन पक्कै सघाएँ भन्ने लाग्छ।
मैले १९ वर्षको उमेरमा २०५६ सालमा ‘किसिमकोटमा चरी नाचेछ’ गीत गाएँ। मलाई त्यही वेलादेखि गीत मार्फत मानिसको सोच परिवर्तन गर्न सकिन्छ भन्ने लाग्यो। अग्रजहरू बीबी अनुरागी, कृष्ण खत्री लगायतकै बाटोमा म पनि हिंड्न शुरू गरें। उहाँहरूले पनि दलितप्रतिको ज्यादतीविरुद्ध गीतहरू ल्याइरहनुभयो। तिनले समाजमा राम्रै स्थान पाए। ती गीत चल्नु भनेको समाजमा अझै पनि छुवाछूत समस्या जिउँदै छ भन्ने हो।
यस्ता गीत अहिले पनि उत्तिकै बिकिरहेका छन्। छुवाछूत समस्या हुन्नथ्यो त यस्ता गीत पनि चल्दैनथे। हाम्रो गाउँमा अझै पनि गीत गाउनेलाई गाइने जातको भन्छन्। परम्परादेखि मान्छेको मानसिकतामा जकडिएर रहेको गलत बुझाइ हटाउन सजिलो छैन। यस विरुद्ध बोल्ने हाम्रो माध्यम भनेकै गीत हो।
हामीले प्रायजसो अपमान पायौं। त्यसभन्दा माथि केही पायौं भने सहानुभूति पायौं, सम्मान त पाउँदै पाएनौं। हाम्रो प्रतिभालाई पनि जातले दिएको भनेर कम आँकिएको छ। यिनै असमानताका बीच कर्मलाई निरन्तरता दिइरहेकै छौं। त्यसैले आज केही न केही परिवर्तन त पक्कै भएको होला। मैले १३ हजारभन्दा बढी गीत गाएको छु। तिनमा हजारभन्दा बढीले त दलित मुक्ति र समानताकै सन्देश बोल्छन्।
हिजो मेरा बुबा-आमाले गाउँघरको हाटबजारमा गीत गाउनुलाई पनि तल्लो स्तरको काम भनिन्थ्यो। त्यतिसम्म अवहेलना अहिले नहोला, तर मान्छेको सोच-व्यवहार अझै बदलिन जरुरी छ। सँगैको अर्को सहकर्मीले भोगेको विभेद अप्रत्यक्ष रूपमा मलाई नै गरिएको दुर्व्यवहार हो भन्ने लाग्छ।
अहिले कानूनका कारण पनि मानिसहरू केही डराएका हुन सक्छन्। तर, जागरण ल्याउने सवालमा कानूनभन्दा कैयौं गुना सशक्त माध्यम हो, गीत। त्यसैले म यही माध्यमबाट आफ्ना र समुदायका भोगाइ प्रस्तुत गरिरहनेछु।
(लोकदोहोरी गायक परियारसँगको कुराकानीमा आधारित।)