भारतीय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्के निर्वाचित
भारतीय कांग्रेस पार्टीको अध्यक्षमा मल्लिकार्जुन खड्के निर्वाचित भएका छन्।
बुधबार सम्पन्न मतगणनामा खड्के सात हजार ८९७ मत पाएर अध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी शशी थरुरले एक हजार ७२ मत पाएका छन्।
त्यस्तै, ४१६ मत रद्द भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
अध्यक्षमा पराजित थरुरले खड्केलाई बधाई दिएका छन्। नवनिर्वाचित अध्यक्ष खड्केलाई सफलताको शुभकामना दिएका छन्।
कांग्रेस अध्यक्षमा २४ वर्षपछि गैरगान्धी परिवारका व्यक्ति निर्वाचित भएका हुन्। यसअघि लामो समय गान्धी परिवारका सदस्य नेतृत्वमा थिए।
सन् २००० मा जितेन्द्र प्रसादलाई पराजित गरेर सोनिया गान्धी भारतीय कांग्रेसको अध्यक्ष बनेकी थिइन्। त्यसपछि उनी लगातार सन् २०१७ सम्म अध्यक्ष रहिन्।
सन् २०१७ मा गान्धीका छोरा राहुल गान्धी अध्यक्ष बनेका थिए। सन् २०१९ को आम निर्वाचनमा कांग्रेस पराजित भएपछि उनले राजीनामा दिएका थिए। त्यसयता सोनिया गान्धी नै कांग्रेस नेतृत्वमा थिइन्।
भारतीय कांग्रेसको १३७ वर्षको इतिहासमा गैरगान्धी परिवारबाट अध्यक्ष बन्ने उनी छैटौं व्यक्ति हुन्।
८० वर्षीय खड्के कर्नाटकबाट १० पटक निर्वाचित भएका छन्। भारतमा नौ पटक लगातार सांसद निर्वाचित भएको उनको नाममा रेकर्ड छ।