‘अपूर्वलाई थुनाउने नियत थिएन’
‘अपूर्व अदालत गएको भए धरौटीमा छुट्न सक्थे। अदालत गएनन्, उनकै दोष हो। यसमा मेरो हात छैन।’
गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको स्वतन्त्र उम्मेदवार बनेर चुनावी राजनीतिमा लागेका सुमन सायमी यस पटक प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन्। काठमाडौंको मेयरमा उनले १३ हजार ७७० मत पाएका थिए।
अहिले उनी हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिह्न लिएर काठमाडौं ८ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन्। हिमालखबरको प्रस्तुति उम्मेदवार संवादमा सायमीसँग सागर बुढाथोकीले गरेको संवादः
व्यापारमा संलग्न हुनुहुन्थ्यो। कसरी एकाएक राजनीतिमा आउनुभयो?
हाे, म खासमा व्यापारी थिएँ। राजनीतिमा खासै चासो र रुचि थिएन। व्यापार चलिरहेकै थियो। २०६८ सालदेखि काठमाडौंमा सडक विस्तार शुरू भयो। तर, मैले २०७३ सालमा कुनै आधार र प्रमाण विना हाम्रा घर भत्काउन थालेको थाहा पाएँ। बुझ्दै जाँदा काठमाडौं उपत्यका विकास प्राधिकरण पो रहेछ, डोजर आतङ्क मच्चाउने।
प्राधिकरणका मान्छेसँग भेट्न जाँदा भेट भएन। त्यसपछि हाम्रो घर छुन पाइँदैन भनेर आवाज उठाउन थालें। प्राधिकरणले हाम्रो घर भत्काउन छाडेर पेटी भत्काउन थाल्यो। उनीहरू गैरन्यायिक तरीकाले हाम्रो घर भत्काउन आएको भन्ने मलाई महसूस भयो।
हामी सबै पीडित बसेर एउटा समिति बनायौं। त्यो समितिले हाम्रो अधिकार गुम्न लागेको भनेर आवाज उठायो। त्यो वेला हामीलाई अतिक्रमणकारी, विकास विरोधी भन्ने समेत ट्याग लाग्यो। तर, हाम्रो आवास सम्बन्धित हक हनन भएकाले आन्दोलन गरेका थियौं। आन्दोलन गर्यौं, धर्ना बस्यौं। त्यो वेला ३२ वडामा नै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति बनायौं। त्यसपछि यो अभियान देशभरि फैलिन थाल्यो। हामी पक्राउ पनि पर्यौं।
सर्वोच्च अदालतमा रिट हालेपछि ‘जनताको घर भत्काउन पाइँदैन’ भनेर निर्देशनात्मक आदेश जारी भयो। कुनै पनि निजी सम्पत्ति सरकारले लिन अधिकरण गरेर जनतालाई व्यवस्थित गरेर विकासको योजना लग्नू भनेर अदालतको फैसला आयो।
त्यसपछि अदालतको आदेश कार्यान्वयनका लागि पनि ‘लबिइङ’ गर्नुपर्यो। तर, कार्यान्वयन भएन। हामीले चुनेर पठाएका प्रतिनिधिले पनि काम गरेनन्। उनीहरू पार्टीका दास भए, हाम्रा लागि बोलेनन्। त्यसपछि आफ्नो लागि आफ्नै ‘प्लेटफर्म’ हुनुपर्छ भन्ने महसूस भयो।
गैरन्यायिक सडक विस्तारको विरुद्धमा बोल्दै जाँदा उपत्यकाको अन्य समस्या पनि समाधान गर्नुपर्छ भन्ने लाग्यो। त्यसपछि उपत्यका सरोकार मञ्च गठन गर्यौं। त्यो मञ्चले उपत्यकाका सम्पदा बचाउन काम गर्यो।
राज्यले जनताको अधिकार पनि नदिने, कानून पनि पालना नगर्ने र सर्वोच्चको आदेश पनि पालना नगर्ने भएपछि नीतिगत तहदेखि नै सुधार गर्न आफैं राजनीतिमा आउनुको विकल्प रहेन। यही सोचेर गत स्थानीय चुनावमा उम्मेदवारी दिएँ। स्थानीय चुनावबाट के थाहा भयो भने जनता दलको काम देखेर दिक्क भएका रहेछन्। जनताको समस्या समाधान गर्न र आफ्नो मुद्दाका लागि म राजनीतिमा आएको हुँ। किनकि, आन्दोलनले जागरण मात्र ल्याउने रहेछ, काम गर्न राजनीतिमा नै आउनुपर्ने रहेछ।
स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरमा राम्रै मत पाउनुभयो। त्यो मतले हौसिएर प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको हो?
स्थानीय चुनावमा लड्नुअघि नै सबैभन्दा पहिला त नीति निर्माण गर्ने ठाउँमा जाने भनेर संसदीय चुनावका लागि म तयार भएको थिएँ। तर, एक पटक स्थानीय चुनावको अनुभव लिनुपर्छ भन्ने लागेर काठमाडौंको मेयरमा उम्मेदवार बनें। खासै प्रचारप्रसार नगर्दा पनि राम्रो मत आयो। त्यही कारणले संसदीय चुनावको तयारी थालेको हुँ। किनकि, नीति निर्माण तहमा आफैं नपुगी हाम्रो मुद्दाको सम्बोधन हुँदैन।
अहिले कस्तो छ भने अव्यावहारिक कानून बनाएर जनतालाई राज्यले नै लखेटेको छ। राजनीतिक दल, प्रशासक र ठूलालाई फाइदा हुने ऐन बनाएर जनतालाई दुःख दिने काम भइरहेको छ। त्यसैले मैले पहिलेदेखि नै आफ्ना समस्या र मुद्दाका लागि नीति निर्माण तहमा जानुपर्छ भनेर संसदीय चुनाव लड्ने मनस्थिति बनाएको थिएँ।
स्थानीय चुनावले केकस्ता पाठ सिकायो?
मैले आन्दोलन गर्न र त्यसमा मान्छे जुटाउन त जानेको थिएँ, तर चुनाव त्यस्तो नहुँदो रहेछ। चुनावमा त प्रचार गर्नुपर्ने रहेछ। मलाई प्रचार कसरी गर्ने, कहाँ जाने, के भन्नेसम्म थाहा थिएन। मिडियामा गएर आफ्नो कुरा राख्न पनि खासै पाइएन। खासमा मलाई मञ्चमा गएर बोल्न पनि असहज लाग्थ्यो। मिडियासम्म कसरी पुग्ने भन्नेसम्म थाहा भएन। स्थानीय चुनावले धेरै योजना बनाएर अलिक अघिदेखि तयारी गर्नुपर्ने रहेछ भन्ने कुरा सिकायो।
स्थानीय चुनावभन्दा संसदीय चुनाव फरक छ। लामो राजनीतिक इतिहास र संगठन भएका पार्टीका मान्छेसँग लड्नुपर्छ। संगठन नभएका मानिसले अभियान चलाएकै बलमा संसदीय चुनाव जित्न सम्भव छ त?
मैले कुनै वादहरू पढेको छैन। म जमीनबाट आएकाले त्यहाँको यथार्थ बुझ्छु। जनताका समस्या र अपेक्षा बुझ्छु। जनताका आवश्यकता बुझ्ने भएकाले जनताका लागि नै राजनीति गर्छु। जनताको समस्या पूरा गर्न सक्दैन भने राजनीति गरेर काम छैन।
आफ्नो भूगोल र त्यहाँका समस्या बुझेर विचार निर्माण गर्नुपर्छ भन्ने मेरो धारणा छ। म सामूहिकतामा विश्वास गर्छु। मैले जनताका समस्यामा १० वर्षदेखि बोलिरहेको हुनाले सबैले चिनेका छन्। समूहको हितमा निर्णय गर्ने भएकाले जनताले मलाई विश्वास गर्छन् भन्ने लाग्छ।
म कर्ममा विश्वास गर्छु। जति कर्म गर्यो, जनताले त्यति मूल्याङ्कन गर्ने हुन्। मेरो गुम्ने कुरा केही नभएकाले हारिएला भन्ने डर छैन। किनकि, मसँग मुद्दा छन्। चुनाव हारे पनि म पुरानो अभियानमा लागिरहन्छु। म व्यक्तिगत स्वार्थ नभई सामूहिक स्वार्थ बोकेर लागेको छु।
चुनावमा अत्यधिक खर्च हुने भएकाले जोकोहीले चुनाव लड्न सक्दैन भनिन्छ। तपाईं चुनाव खर्च कहाँबाट व्यवस्थापन गर्नुहुन्छ?
राजनीतिको व्यापार गर्नेहरूलाई धेरै खर्च चाहिन्छ। जो मानिस जनतासँग भिजेर काम गरेको हुन्छ, उसले त्यति धेरै खर्च गर्नु पर्दैन। जनताको मन जित्यो भने मत किन्नु पर्दैन। कोठे राजनीति गर्नेलाई धेरै पैसा चाहिने हो, तर काठमाडौंमा मत किन्न गाह्रो छ। अहिते त जनताले गलत मान्छेलाई मत दिए दुःख पाइन्छ भन्ने बुझिसकेका छन्। खर्च गरेर मात्र चुनाव जितिन्न।
जनप्रतिनिधिका लागि चुनावी मैदानमा हुनुहुन्छ। तर, कमेडियन अपूर्वक्षितिज सिंहको घटनाले तपाईंप्रति नकारात्मक टिप्पणी भइरहेको छ नि?
समुदाय जसलाई पनि प्यारो हुन्छ। जुन किसिमले अपूर्वक्षितिज सिंह भाइले प्रस्तुति दिए, त्यो प्रस्तुतिले म जस्तो मिलनसार मान्छेलाई पनि चोट पुगेको छ। अपूर्व भाइले नेवारी समुदायको भाषा, संस्कृति खानपान र लवजमाथि प्रहार गरेका हुन्। उनको प्रस्तुतिमा हाँस्यचेत नै थिएन। मलाई वाक् स्वतन्त्रताको नाममा आफ्नो कर्तव्य र दायित्व बिर्सनु हुँदैन भन्ने लाग्छ।
उनलाई थुनाउने नियत थिएन। छलफलको क्रममा राख्दा समुदायका सबै मानिस खनिएर आउनुभयो। त्यहाँ वकीलहरू पनि आउनुभएको थियो। उहाँहरूले कानूनी प्रकियाबाट समस्या समाधान गर्यौं भने सचेतना आउँछ भन्ने किसिमको सुझाव दिनुभयो। सोही कारण कानूनी प्रकियामा जाने निर्णय भयो। समुदायले गरेको निर्णयमा मैले नैतिक समर्थन जनाएको हुँ।
केही समयअघि सरस्वती प्रधानले दलितलाई कोठा दिन्नँ भनेको भनेर दलित समुदायलाई चोट पुगेपछि उहाँहरू कानूनी प्रक्रियामा जानुभयो। कानूनी प्रक्रियामा जानासाथ उहाँ थुनामा पर्नुभयो। त्यो घटनाले छुवाछूत गर्यो भने त कारबाही हुँदो रहेछ भन्ने समाजलाई बुझायो। त्यो वेला दलित समुदायका मानिसले सरस्वती प्रधानलाई माफी दिएको भए यस्तो घटना फेरि घट्न सक्थ्यो, तर उहाँहरू कानूनी प्रक्रियामा गएकाले अहिले धेरैले छुवाछूत गर्दा थुनामा परिंदो रहेछ भन्ने बुझे। त्यही भएर यस्तो कुरामा कानूनी प्रक्रियामा जानुलाई अन्यथा लिनु हुन्न।
गल्ती महसूस गरेर माफी मागिसकेका थिए। त्यसमै विवाद टुङ्ग्याउन सकिंदैनथ्यो?
अपूर्वले ६ महीनाअघि नै ‘यो भिडिओ रिलिज गर्यो भने थुनिन्छु होला’ भनेर फेसबूकमा लेखेका रहेछन्। थाहा हुँदाहुँदै पनि जानीजानी भिडिओ सार्वजनिक गरेको देखिन्छ। अब त उनले कुरा बुझे नि त। मलाई त्यस्तो भनेको भए म माफी दिन्थें, तर समुदाय कसैको हातमा हुन्न।
उनलाई ‘पावर मिसयुज’ गरेर थुनामा नराखीकन निकालेको भए अर्कै ‘रिस्क’ हुन सक्थ्यो। हामीलाई हेप्ने भनेर कसैले बाटोमा हातपात गर्दियो भने जिम्मेवारी कसले लिने? रिस्क प्याक्टर धेरै थिए।
म आफू पनि आफ्नो भाषा बोल्दा थुनामा परेको मान्छे हुँ। अदालत गएपछि मुद्दा जितें। मलाई गर्व के लाग्छ भने कानूनी प्रक्रियामा गएकाले सबै जातजातिले आफ्नो भाषा बोल्न पाउँछन् भनेर नजीर बसाउन सकें। अपूर्व भाइलाई पनि आफूलाई अन्याय भएको जस्तो लाग्छ भने अदालत जाँदा हुन्छ। अदालत गएर नजीर बसाएर उनी पनि गर्व गर्न सक्छन्।
आफ्नो भाषा बोल्दा थुनामा परेको भन्नुभयो, त्यो घटनाबारे बताइदिनुस् न।
डेढ वर्षअघि बालाजु बाइपासमा गैरन्यायिक किसिमले डोजरले खन्न आएपछि त्यहाँको स्थानीय रोक्न आएछन्। त्यो वेला ६ जना स्थानीयलाई बालाजु प्रहरी चौकीमा लगेर थुनेपछि म भेट्न गएको थिएँ। भेट्दा मैले नेवारी भाषामा संवाद गरेको थिएँ। त्यो देखेर एक जना प्रहरी भाइले नेवारीमा नबोल्नू भनेर हप्काए।
ती भाइलाई मैले तपाईंसँग नेपालीमा बोल्छु, उहाँहरू नेवारी बुझ्नुहुन्छ, नेवारीमा बोल्छु भनेर जवाफ फर्काएँ। त्यसपछि मलाई घचेटेर धम्क्याउन थाले। त्यसपछि मैले तपाईंहरूलाई मेरो भाषामा शङ्का लाग्छ भने नेवारी भाषा बुझ्ने दोभाषे राख्नु, तर म आफ्नो दाजुभाइसँग मातृभाषामै बोल्छु भनेर अडान राखें। त्यसपछि मलाई थुनें।
मलाई पक्राउ किन गरेको भनेर सोधें। उनीहरूले माफी मागे, तर कारण दिएनन्। सर्वोच्च अदालतमा बयान दिन जाँदा उल्टै म्याद थपिदिए। म जस्तो मान्छेलाई त्यति धेरै दुःख दिए कि मलाई झन् नराम्रो लाग्यो। सरकारी वकील कार्यालयमा यतिसम्म मिलेमतो हुँदो रहेछ कि म बस्दाबस्दै सुन तस्करीमा परेको मान्छेलाई अभद्र व्यवहारमा मुद्दा चलाइयो।
त्यसपछि म सर्वोच्च अदालत गएँ। अदालतले सबैले आफ्नो भाषा बोल्न पाउँछन् भनेर फैसला गरिदियो। अपूर्व भाइले पनि आफूलाई अनावश्यक थुनेको जस्तो लाग्छ भने सर्वोच्च अदालत जाँदा हुन्छ।
स्थानीय चुनावपछि तपाईंलाई आम मानिसले देशकै प्रतिनिधित्व गर्ने नेता हुन्छन् भनेर चित्रण गरेका थिए। तर, यो घटनापछि तपाईंलाई जातीय राजनीति गर्ने व्यक्तिका रूपमा चित्रित गरियो नि?
म जातीय राजनीति गर्ने भए वीरगञ्ज तथा हेटौंडाका बासिन्दा बचाउन पुग्ने थिइनँ। पछिल्लो एक दशकमा देशका विभिन्न ठाउँमा गएर सरकारी अतिक्रमणमा परेका नागरिकका पक्षमा बोलेको छु। कानूनी सहायता दिएको छु। मैले राज्यको गैरन्यायिक विस्तारको विरुद्ध बोल्दै आएको छु। मैले आफ्नो भाषामा बोल्न पाउनुपर्छ भनेर जुन मुद्दा उठाएँ, त्यसले बसाएको नजीरले त सबै नेपालीलाई फाइदा भएको छ। जुनसुकै घटनामा प्रक्रिया जस्तो छ, त्यसरी जाने हो। मैले भूमिको मुद्दा उठाएको छु, जुन राष्ट्रिय मुद्दा हो। म जातीय राजनीति गर्छु भनेर जुन भ्रम फैलाइएको छ, त्यो ममाथिको राजनीति हो।
तपाईंले भोटका लागि नेवारी समुदायको भावनामा खेलेर राजनीति गर्नुभयो भन्ने आरोप छ नि?
समुदायका मानिसले मात्र भोट हालेर चुनाव जितिने होइन। म त जनताका पीडा र मर्मलाई बोल्ने मान्छे हुँ। मैले गल्ती गरें भने सजाय पाउनुपर्छ। मैले अपूर्व भाइलाई पनि कानूनको पालना गरेर बाहिर निस्कनू भनेको हुँ।
राजनीतिको शुरूआत क्षेत्रबाट नै हुने हो। मेरो राजनीति पनि क्षेत्रबाट नै शुरू भएको हो। तर, म अहिले मधेश, पहाड सबै ठाउँमा गएको छु। कैलालीमा थारू समुदायलाई जुन अन्याय भयो, उनीहरूको आवाज बोलेको छु। त्यो मुद्दा हाम्रो वकीलले लडिरहनुभएको छ।
देश बनाउनु छ भने सबै एक ठाउँमा आउनुपर्छ भन्ने मेरो सोच छ। मैले कुनै एउटा समुदायको भावनामा खेलेको छैन। मैले अपूर्वको केसमा नेवारी समुदायले हालेको मुद्दामा नैतिक समर्थन मात्र गरेको हुँ। किनकि, समुदायमा बसेपछि सामूहिक निर्णय मान्नुपर्छ।
त्यसै गरी कानून समुदायको हातमा हुँदैन। प्रहरीले शुरूमा निवेदन दर्ता गरेर छलफलका लागि बोलाइदिएको भए यस्तो हुन्नथ्यो। तर, प्रहरीले उजुरी दर्ता नगरेपछि हाम्रा साथीहरू आक्रोशित भएका हुन्।
अहिले अपूर्व फेरि पक्राउ परेका छन्। यसमा पनि तपाईंको आलोचना भइरहेको छ नि?
त्यति वेला तारिखमा छाडेको थियो। त्यही घटनामा फेरि अहिले पक्राउ परे। उनी अदालत गएको भए धरौटीमा छुट्न सक्थे। अदालत गएनन्, उनकै दोष हो। यसमा मेरो हात छैन। मैले शुरूमा पनि भनें- त्यति वेला पनि मेरो समुदायलाई नैतिक समर्थन गरेको थिएँ, अहिले पनि नैतिक समर्थन छ।
अन्त्यमा फेरि, तपाईंको राजनीतिक शुरूआतकै प्रसङ्ग जोडौं। डोजर आतङ्कका कारण राजनीतिमा आएको भन्नुभयो। अहिले काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले पनि डोजर चलाइरहनुभएको छ। त्यसमा तपाईंको समर्थन हो?
बालेनजीले गैरकानूनी रूपमा बनाइएको संरचना विरुद्ध डोजर चलाउनुभएको छ। पार्किङस्थल खाली गर्न, अतिक्रमण गरेर बनाएका संरचना विरुद्ध डोजर चलाउनुभएको छ। कानून र संविधान अन्तर्गत रहेर उहाँले गरेको काममा समर्थन छ, कानून विपरीत गएर काम गर्नुभयो भने समर्थन हुँदैन। अतिक्रमण हटाउँदा पनि खाली गर्न केही समय दिनुपर्छ भन्ने लाग्छ, किनकि मानिसलाई व्यवस्थापन गर्न समय चाहिन्छ।