परराष्ट्रमन्त्री चीन प्रस्थान
विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीन प्रस्थान गरेका छन् ।
चीनको डालियान शहरमा १६ देखि १८ असारसम्म आयोजना हुने बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली आज दिउँसाे चीन प्रस्थान गरेका हुन् ।
मन्त्री ज्ञवाली १६ असारमा ‘विश्व अर्थतन्त्रमा नयाँ अवसरहरुको खोजी’ शीर्षकमा हुने अनौपचारिक छलफल र सन् २०२० का लागि जि–२० कार्यसूची विषयको छलफल सत्रमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनले १७ असारमा ‘जलवायु परिवर्तन भावी वित्तीय सङ्कट’ र नयाँ शक्ति सङ्कलन विषयका अतिरिक्त सत्रमा नेपालका तर्फबाट सम्बोद्धन गर्ने कार्यक्रम रहेको छ ।
डालियानमा रहँदा मन्त्री ज्ञवालीले राजनीतिक एवं व्यापारिक वर्गसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री ज्ञवालीले १८ असारमा बेइजिङ पुगेर उच्चस्तरीय चिनियाँ अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम छ ।
परराष्ट्रमन्त्रीका साथ चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सहसचिव घनश्याम भण्डारी लगायत छन् ।
मन्त्री ज्ञवाली असार २० गते स्वदेश फर्कने कार्यक्रम छ ।