किन बिकेन नेपाली मह?
भारतसँगै यूएई, अमेरिका, पोर्चुगल, बुल्गेरिया लगायतका देशबाट आउने मह धमाधम बिक्री भइरहँदा नेपाली किसानले उत्पादन गरेको मह भने बजार नपाएर थन्किएको छ।
नेपाली महमा मिसावट हुन्छ भन्ने अफवाहले गर्दा जनमानसमा परेको गलत बुझाइले स्थानीय किसानद्वारा उत्पादित गुणस्तरीय मह बिक्री हुन सकेको छैन। गत माघमा फैलिएको अफवाहका कारण गत वर्ष र यस वर्ष उत्पादित बिक्री नहुँदा देशभरका १५ हजारभन्दा बढी किसान आर्थिक मारमा छन्।
कोभिड-१९ महामारीमा महको बिक्री राम्रो भएको थियो। शरीरको प्रतिरक्षा शक्ति बढाउने भएकाले धेरैले मह किनेका थिए। अहिले भने अफवाहले अप्ठ्यारो भएको नेपाल मह व्यवसायी संघका अध्यक्ष पवन सत्याल बताउँछन्। “नेपाली मह राम्ररी बिक्री हुन थालेको तीन वर्ष जति मात्र भएको थियो, तर मिसावटको हल्लाले मर्का परेको छ,” सत्याल भन्छन्।
गत माघमा काठमाडौं नयाँबजारका नरबहादुर श्रेष्ठले मह भनेर ब्रान्डिङ गरेर बेच्दै आएको वस्तु शुद्ध मह नभई अखाद्य गुलियो पदार्थ पुष्टि भएको थियो। त्यसपछि भने अफवाह फैलिंदा समग्र नेपाली मह व्यवसायमा असर परेको व्यवसायी बताउँछन्। “बजारमा महको खपत घटेको छैन, तर अविश्वास र भ्रमका कारण नेपाली मह बिक्री हुन छाडेको छ,” नेपाल मौरीपालक महासंघका अध्यक्ष सुभाषचन्द्र घिमिरे भन्छन्। सरकारले पहल नगर्दासम्म व्यावसायिक मौरीपालक किसानको उत्थान हुन नसक्ने उनको भनाइ छ।
मह बिक्री नभएपछि एक हजार ५०० मेट्रिक टन हाराहारीको मह किसानको घरमै थन्किएको छ। त्यस्तै, एक हजार ५०० मेट्रिक टन हाराहारी प्याकेजिङ भएको मह विक्रेताकहाँ रोकिएको छ। सरकारी तथ्याङ्क अनुसार, यो वर्ष आठ हजार मेट्रिक टन मह खपत भएको छ।
सरकारी तथ्याङ्कले महको खपतमा कुनै कमी नआएको देखिए पनि नेपाली मह भने थन्किएको घिमिरे बताउँछन्। “स्थानीय उत्पादन चार हजार मेट्रिक टन मात्रै हो। बाँकी चार हजार मेट्रिक टन त आयात नै भएको छ,” घिमिरे भन्छन्, “तसर्थ अहिलेको समस्या भनेको नेपाली महप्रति बजारको अविश्वास हो।”
कोरोना महामारीका वेला मह विक्रेताले किसानबाट मह पाउन पनि गाह्रो थियो। त्यो वेला ग्राहक नै मह किन्न किसानसम्म पुगेका थिए। तर, अहिले भने अवस्था उल्टिएको छ, भएको मह बिक्री हुन सकेको छैन। “किसानसँग गत वर्षकै आधाउधी उत्पादन बाँकी छ। यो वर्षको उत्पादन पनि त्यत्तिकै थन्किएको छ। विक्रेताले लगेको मह पनि बिक्री भएको छैन,” घिमिरे भन्छन्, “यो सिजनमा मौरी चराउन लाने कि नलाने भन्ने चिन्ता छ। फेरि किसानसँग मौरी चराउन लाने पैसा पनि छैन।”
मह स्वास्थ्यका लागि लाभदायक छ र यसको नियमित सेवन आवश्यक रहेको सूचना तथा जानकारी आम जनतामा प्रसार गर्न स्वास्थ्य निकाय तथा कृषि बजारीकरण गर्ने निकायले ध्यान दिनुपर्ने उनी सुझाउँछन्। “आम मानिसलाई मह खान प्रेरित गर्न सकिए बजार बढ्न सक्छ,” उनी भन्छन्।
बजारमा बिक्रीका लागि आएका वस्तु स्वास्थ्यवर्द्धक छन् कि छैनन् भन्ने नियमन गर्ने निकायले राम्रो काम नगर्दा पनि समस्या आएको उनको भनाइ छ। “बजार अनुगमनलाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गरेर दोषीलाई कारबाही गरिए पो गलत काम गर्नेहरू निरुत्साहित हुन्थे,” उनी भन्छन्, “यो समस्या अहिले महमा देखिएको छ, भोलि अरू कुनै उत्पादनमा पनि देखिन सक्छ।”
मौरीलाई चरनका लागि लान नसक्ने अवस्थामा चिनी खुवाएर पाल्नुपर्दा किसान थप आर्थिक मारमा छन्। मौरीपालक कृषकलाई दिइने अनुदान पनि प्रभावकारी हुन नसकेको व्यवसायी बताउँछन्। “उत्पादनमा आधारित अनुदान दिइँदा मात्र वास्तविक कृषकलाई लाभ पुग्न सक्छ,” घिमिरे भन्छन्, “हाल मौरीको घारमा आधारित अनुदानले खास किसानलाई भन्दा घार देखाएर लाभ लिनेलाई मात्र फाइदा पुगेको छ।”
नेपाललाई पुग्ने मह स्थानीय उत्पादनले नै पुग्ने हुँदा आयात प्रतिस्थापन गर्ने नीति अख्तियार गर्नु अर्को उपाय हुन सक्ने पनि व्यवसायी बताउँछन्। “नेपाललाई चाहिने मह यहीं उत्पादन हुन्छ। यसर्थ, आयातलाई के गरी प्रतिस्थापन गर्न सकिन्छ भन्नेमा गम्भीर हुन जरुरी छ,” सत्याल भन्छन्।
नेपालमा भारत, पोर्चुगल, यूएई, अमेरिकाबाट प्राकृतिक मह आयात हुने गर्छ। भन्सार विभागको तथ्याङ्क अनुसार, कृत्रिम मह बुल्गेरियाबाट मात्रै आयात हुने गरेको देखिन्छ।
विभागको तथ्याङ्क अनुसार, गत आर्थिक वर्षमा रु.३० करोड ४० लाख रुपैयाँको प्राकृतिक मह आयात भएको छ। त्यस्तै, कृत्रिम मह भने रु.एक करोड १२ लाख रुपैयाँको आयात भएको देखिन्छ। त्यसै गरी चालू आर्थिक वर्षमा नेपालमा रु.दुई करोड ७७ लाख ६७ हजारको प्राकृतिक मह र रु.६४ लाख १३ हजारको कृत्रिम मह गरी कुल रु.तीन करोड ४१ लाख ८१ हजारको मह आयात भएको देखिन्छ।
नेपालमा हाल एक लाख ४० हजारभन्दा बढी मौरीको घार रहेको अनुमान छ। नेपालमा मुख्यतः मेलिफेरा र सेराना प्रजातिका मौरी पालिन्छन्। यूरोपेली प्रजातिको मेलिफेरा बढी उत्पादन दिने प्रजाति हो भने स्थानीय प्रजाति सेरेनाको भने उत्पादन कम हुन्छ। मेलिफेराको एक घारबाट वार्षिक ४० देखि ५० किलो मह उत्पादन हुन्छ भने सेरेना प्रजातिले आठदेखि १० किलो मह उत्पादन गर्ने व्यवसायी बताउँछन्।