तीन दलको संयुक्त घोषणापत्र छापिँदै छ: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका तीन दलको संयुक्त घोषणापत्र आउने बताएका छन्।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को आगामी निर्वाचन लक्षित संयुक्त घोषणापत्र केही दिनमा आउने अध्यक्ष नेपालले जानकारी दिए। आफूहरूले संयुक्त घोषणापत्रमा हस्ताक्षर गरिसकेको नेपालको भनाइ छ।
ललितपुरमा कात्तिक १ गते आयोजित गठबन्धनको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, “तीन पार्टीका तर्फबाट संयुक्त घोषणापत्र ल्याउँदै छौं, हस्ताक्षर गरेर छाप्न पठाएका छौं।”
गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्न मानेन। त्यसपछि बाँकी तीन दलले मात्रै घोषणापत्र ल्याउन लागेका हुन्।
जनता समाजवादी पार्टीले सत्ता गठबन्धन छाडेर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग चुनावी तालमेल गरेको छ। लोकतान्त्रिक समाजवादी पार्टीले सत्ता गठबन्धनसँग तालमेल गरेको छ।