लुम्बिनीमा पाँच रोचक प्रतिस्पर्धा
आगामी निर्वाचनमा लुम्बिनीका पाँच क्षेत्रमा एमाले र पूर्व एमाले नेताहरूबीच प्रतिस्पर्धा हुँदै छ।
मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले चार क्षेत्रमा उम्मेदवार बनाएको छ। सत्तारूढ गठबन्धनसँगको तालमेलमा एकीकृत समाजवादीले चार सीट पाएको हो। चारै सीटमा नेकपा (एमाले)का उम्मेदवारसँग प्रतिस्पर्धा हुँदै छ।
रुपन्देही-१ मा घनश्याम भुसाल उम्मेदवार छन्। भर्खरै एमाले छोडेर स्वतन्त्र उम्मेदवार बनेका भुसाल पनि एमालेकै नेतासँग प्रतिस्पर्धामा छन्। पार्टीगत रूपमा फरक भए पनि व्यक्तिगत रूपमा अहिले पनि राम्रो सम्बन्ध रहेका पूर्व सहकर्मीबीच हुने चुनावी प्रतिस्पर्धालाई मतदाताले पनि उत्सुकताका साथ लिएका छन्।
गोकर्ण विष्ट र रामकुमारी झाँक्री
गुल्मी-२ मा एमालले सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुँदै छ। दुवै जनाले लामो समय एमालेमै रहेर काम गरेका हुन्। एमाले विभाजन हुँदा झाँक्री एकीकृत समाजवादीमा लागिन् भने विष्ट एमालेमै बसे। अहिले प्रतिनिधि सभा सदस्यका लागि दुवै नेता आमनसामने भएका छन्।
पूर्व मन्त्री विष्ट २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को समर्थनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनले ३४ हजार ६१८ मत पाएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १५७ मत पाएका थिए।
त्यति वेला विष्टलाई जिताउन झाँक्री पनि खटिएकी थिइन्। यति वेला भने झाँक्री आफैं उम्मेदवार छिन्। गुल्मीमा एकीकृत समाजवादीको संगठन कमजोर भए पनि गठबन्धनको साथ छ। स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेता दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय पारेसँग झाँक्रीलाई राहत मिलेको छ। यद्यपि यो क्षेत्रमा दुई पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
विष्णुप्रसाद पौडेल र राजु गुरुङ
यस्तै अर्को प्रतिस्पर्धा हुँदै छ, रुपन्देही-२ मा। यो क्षेत्रबाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राजु गुरुङ उम्मेदवार छन्।
पूर्व अर्थमन्त्री पौडेलको यो क्षेत्रमा दबदबा रहेको छ। उनीसँगै लामो समय काम गरेका गुरुङ पनि स्थानीय बासिन्दाबीच लोकप्रिय छन्। ब्यांकिङ कसूर सम्बन्धी मुद्दालाई लिएर निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय गरेपछि पौडेलले राहतको सास फेरेका थिए। तर, सर्वोच्च अदालतले असोज ३० गते उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएपछि फेरि चुनावी माहोल तातेको छ।
एमाले उम्मेदवार पौडेल लगातार यो क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्। उनले २०५६, २०६४, २०७० र २०७४ जित हासिल गरेका थिए। २०७४ सालमा माओवादीको समर्थनमा उनी २२ हजारभन्दा बढी मतान्तरले निर्वाचित भएका थिए। उनले ४४ हजार नौ मत पाएका थिए।
उनका प्रतिस्पर्धी कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत पाएका थिए। यस पटक भने कांग्रेस, माओवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एकीकृत समाजवादीका गुरुङलाई समर्थन गरेका छन्। तर, सर्वोच्च अदालतले गर्ने निर्णयले यो क्षेत्रको चुनावको माहोल फेरबदल हुने निश्चित छ।
शान्ता चौधरी र मेटमणि चौधरी
दाङ-१ मा पनि एमाले नेत्री शान्ता चौधरी र उनका पूर्व सहकर्मी मेटमणि चौधरी प्रतिस्पर्धामा छन्। एमाले विभाजनअघि दुवै जना केन्द्रीय सदस्य थिए। अहिले मेटमणि एकीकृत समाजवादीका सचिव छन् भने शान्ता एमालेको पोलिटब्यूरो सदस्य छिन्।
२०७४ सालको निर्वाचनमा माओवादीसँगको तालमेलले मेटमणि निर्वाचित भएका थिए। उनले ३७ हजार ९०८ मत प्राएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसकी सुशीला चौधरीले २४ हजार ७४ मत पाएकी थिइन्।
त्यति वेला शान्ता पनि मेटमणिलाई जिताउन चुनावी अभियानमा खटिएकी थिइन्। यति वेला भने उनी आफैं प्रतिस्पर्धामा छिन्। उनी २०६४ र २०७४ सालमा एमालेबाट समानुपातिकतर्फबाट निर्वाचित भएकी थिइन्। नेत्री शान्ता भूमिहीन र कम्लरी आन्दोलनबाट आएकी राजनीतिमा आएकी हुन्।
ठाकुर गैरे र सोमप्रसाद पाण्डेय
पाल्पा-२ मा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरे र एकीकृत समाजवादी लुम्बिनी कमिटीका अध्यक्ष सोमप्रसाद पाण्डेय आमनेसामने भएका छन्। गत निर्वाचनमा पाण्डेय यही क्षेत्रबाट निर्वाचित भएका थिए।
माओवादीसँगको तालमेलमा तत्कालीन एमालेका उम्मेदवार पाण्डेयले ३४ हजार ८९९ मत पाएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १५७ मत पाएका थिए।
त्यति वेला गैरे चुनावी कमान्डर थिए। अहिले दुवै पूर्व सहकर्मी चुनावी मैदानमा उत्रिएका छन्। लामो समयपछि टिकट पाएका गैरे बलिया मानिएका छन्। तर, गठबन्धनका उम्मेदवार भएकाले पाण्डेयले गैरेलाई कडा टक्कर दिने आकलन गर्न थालिएको छ।
छविलाल विश्वकर्मा र घनश्याम भुसाल
लुम्बिनीको रोचक प्रतिस्पर्धा भइरहेको अर्को क्षेत्र हो, रुपन्देही-१। यो क्षेत्रबाट एमालेका सचिव छविलाल विश्वकर्मा र एमालेका पूर्व स्थायी कमिटीका सदस्य घनश्याम भुसाल प्रतिस्पर्धामा छन्।
गत निर्वाचनमा विश्वकर्मा यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनले ३४ हजार ७५२ मत पाएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका अब्दुल रज्जाक गद्दीले २६ हजार ८८५ मत पाएका थिए।
एमालेले यस पटक पनि उनलाई यही क्षेत्रबाट उम्मेदवार बनाएको छ। उनलाई राप्रपा र जसपाले समर्थन गरेका छन्।
जबकि, भुसाललाई गत निर्वाचनमा रुपन्देही-३ बाट निर्वाचित भएका थिए। उनले ३२ हजार ८६६ मत पाएका थिए। उनका प्रतिस्पर्धी राप्रपाका दीपक बोहराले २७ हजार ४२२ मत पाएका थिए।
यस पटक भने एमालेले भुसाललाई टिकट दिएन। एमालेले राप्रपासँग तालमेल गरेर बोहरालाई समर्थन गर्यो।
त्यसपछि भुसाल पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका छन्। उनलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपाको समर्थन रहेको छ।
कुनै समय एमालेमा सँगसँगै पार्टी निर्माणमा खटिएका दुवै नेताको चुनावी प्रतिस्पर्धालाई उत्सुकताका साथ हेरिएको छ।