महामारीपछि पहिलो विदेश यात्रामा जाँदै नेपथ्य, दुबईमा गुन्जिने
नेपथ्य ब्यान्डले यूएईको दुबई शहरमा आगामी नोभेम्बर ६ मा साङ्गीतिक प्रस्तुति गर्ने भएको छ। यो कोभिड-१९ महामारीपछि ब्यान्डको पहिलो विदेश यात्रा हुनेछ। दुबईमा ब्यान्डले यसअघि सन् २०१५ र २०१९ मा गरी दुई पटक कन्सर्ट गरिसकेको छ।
चाडबाडको वेला आफन्तबाट पर रहेका नेपाली दाजुभाइलाई दशैं, तिहार र छठको समेत सङ्गीतमय कोसेली बोकेर ब्यान्ड त्यसतर्फ जान लागेको हो। विगतमा झैं यसपालि पनि दुबईस्थित अल नासेर लिजरल्यान्डमै कन्सर्ट हुँदै छ।
"उही ठाउँमा प्रस्तुत हुने गरी यस पटक हामी फेरि पूरै जोशका साथ पुग्दै छौं," ब्यान्डका मुख्य गायक अमृत गुरुङ भन्छन्, "श्रोता-दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीतहरू यस पटक प्राथमिकतामा परेका छन्।"
नेपथ्यले २०१५ मा भूकम्प लगत्तै दुबईमा पूर्व निर्धारित कन्सर्ट गरेको थियो। त्यसको चार वर्षपछि सन् २०१९ को मार्चमा नेपथ्य दोस्रो पटक दुबई पुगेको थियो। "अघिल्ला दुवै पटक जाँदा दर्शक-श्रोताबाट पाइएको आत्मीयताले नै होला, कोरोना महामारीपछिको पहिलो विदेश यात्राका रूपमा दुबई उपस्थित हुने संयोग मिल्न गयो," अमृत भन्छन्।
नेपथ्यलाई यस पटक दुबई शहरमा ‘अमृत इभेन्ट्स’ ले प्रस्तुत गर्न लागेको हो। कन्सर्टको टिकट दुबई लगायत आसपासका क्षेत्रहरूमा समेत उपलब्ध गराइएको छ। अनलाइनबाट पनि टिकट लिन सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
कन्सर्टमा सधैं जस्तै अमृतलाई ड्रमसेटमा ध्रुव लामा, कीबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।