सत्यमोहन हुनुको सार
शतायु पार गरेका सत्यमोहन सरको भौतिक अवसान पक्कै आश्चर्य होइन र त्यसमा विस्मात गरिरहनुपर्ने कुनै कारण पनि छैन। तर, दु:ख यस अर्थमा छ कि, उहाँको अवसानसँगै हामीले एउटा वटवृक्ष गुमायौं र शून्यता अनुभूत गरिरहेका छौं।
‘४ अप्रिल, २०२२’ अंग्रेजीमा सुन्दर हस्ताक्षरमा लेखिएको छ।
यसै दिनको मध्याह्न म पत्रकार मित्र गिरीश गिरी लिखित सत्यमोहनका दुई प्रति काखी च्याप्दै सत्यमोहन जोशी निवास बखुम्बहाल, ललितपुर पुगेको थिएँ। लन्डन निवासी अर्का पत्रकार मित्र श्रीभक्त खनालले सत्यमोहनको एक प्रति जोशीको हस्ताक्षरमा आफ्ना निम्ति सुरक्षित राखिदिन आग्रह गरेपछि मैले अघिल्लो दिन जमलस्थित एउटा पुस्तक पसलबाट आफ्ना निम्ति समेत गरी दुई प्रति पुस्तक खरीद गरेको थिएँ।
सत्यमोहन सरसँगको भेटघाट एक दशकयता ‘नो एपोइनमेन्ट, नो डिस्-एपोइनमेन्ट’ खालको हुँदै आएको थियो। उहाँ अत्यन्तै सक्रिय र पैदलै कार्यक्रममा उपस्थित हुने बखत म बखुम्बहाल जानुअघि निवासको नम्बरमा फोन गर्ने गर्दथें। तर, पछिल्लो समय र खास गरी सयको वर्ष पुग्न लाग्दै गर्दा नराम्ररी थलिएर वयोधा अस्पतालमा उपचारपश्चात् उहाँ धेरैजसो समय घरमै रहन थाल्नुभएको थियो।
उहाँले सुन्दर अंग्रेजी अक्षरमा दुई थान पुस्तकमा दस्तखत गरिदिनुभयो। मुहारमा उही आभा र असल आतिथेयको हार्दिकता भए पनि त्यस दिन उहाँलाई मैले शारीरिक रूपमा केही शिथिल देखें। चप्पल लगाउँदा उहाँका गोडाहरू सुन्निएका देखिन्थे। त्यसबाट उहाँमा मिर्गौला र पिसाब सम्बन्धी रोग प्रष्ट हुन्थ्यो।
सय वर्ष पुगेपछिको घरीघरीको अस्वस्थताका कारण उहाँले लट्ठी टेक्न शुरू गरिसक्नुभएको थियो। घरमा केही आगन्तुक र कमजोर काया देखेपछि मैले बिदा माग्नु उचित सम्झिएँ। बिदाका लागि हात जोड्दै गर्दा उहाँले ‘तपाईंलाई पेन्टिङ देखाउनु छ’ भन्दै घर परिसरको लोकसाहित्य परिषद्तिर लैजान खोज्नुभयो।
परिषद्को माथिल्लो तलासम्म खुट्टामा असहजताका उहाँलाई सिंढी उकाल्न उचित थिएन। मैले आफैं गएर हेर्ने अनुनय गर्दा उहाँले किञ्चित् मान्नुभएन। म उहाँलाई पछ्याउँदै दुई तलामाथि चढें। त्यहाँ पौवाका अग्रणी कलाकार लोक चित्रकार र उहाँका शिष्यहरूले ठूलो क्यानभासमा चक्रसंवरको रेखाचित्र तयार पार्नुभएको रहेछ, जसमा रङ्ग भर्ने काम बाँकी नै रहेछ। अहिले त्यो चित्र रङ्गरोगन सकिएर ‘फिनिसिङ’ को चरणमा छ।
कोभिड-१९ महाव्याधियता सत्यमोहन सरसँग भेट भइरहेको थिएन। कारण प्रष्टै छ, शताब्दी पुरुषको स्वास्थ्यप्रतिको जिम्मेवारीबोध। कोभिड-१९ को पहिलो लहरपछि संक्रमण केही मत्थर भएको समय कथाकार मित्र महेशविक्रम शाहको सन्देशवाहक बनेर विना पूर्व सूचना उहाँको निवास पुगेको थिएँ। शाह सम्मिलित कर्णालीको एक साहित्यिक प्रतिष्ठानले जोशीको कर्णाली क्षेत्रको खोज अनुसन्धानप्रति कृतज्ञतास्वरूप सम्मान अर्पण गर्न चाहेको रहेछ।
मैले कोभिड-१९ को त्रासका कारण उहाँकहाँ पहिले जस्तो नियमित आउन नसकेको र त्यस पटक पनि डर अनि सङ्कोचका साथ दैलो टेकेको खुलासा गरें। मेरो विवशताप्रति उहाँलाई कत्ति पनि दया जागेन, बरु केही झर्किए झैं उहाँले भन्नुभयो, “कोभिड सोभिड केही पनि हुँदैन, केही फरक पर्दैन, आउनुस् तपाईंहरू।”
जोशीका जीवनीकार मित्र गिरीशले पनि उहाँको यस्तै खाले प्रतिक्रिया मलाई केही अघि सुनाएका थिए। जीवनलाई सधैं सकारात्मक रूपमा लिने उहाँमा मृत्यु भय पटक्कै थिएन। उहाँ भन्ने गर्नुहुन्थ्यो, यसै पनि मानिसलाई ‘जीवेत शरद: शतम्’ अर्थात् सय वर्षको आयु रहोस् भन्ने आशिष दिइन्छ, त्यो उमेर त उहाँले पार गरिसक्नुभएको थियो।
यो स्मृतिशेषको उद्देश्य सत्यमोहन जोशीको जीवन वा जीवनी उधिन्ने होइन। उहाँको उपलब्धि, उन्नयन र योगदान जगजाहेर छ। मित्र गिरीशले त जोशीको जीवनकालमै सत्यमोहन प्रकाशन गरेर उहाँको शताब्दी लामो जीवनको प्रामाणिक अभिलेखीकरण गरिसकेका छन्। त्यसैले मेरो उद्देश्य उहाँको जीवनभन्दा पनि जीवनप्रतिको दृष्टिकोण हो अनि अनुज र युवा पुस्ताप्रतिको शताब्दी पुरुषको अभिभावकीय स्नेह।
कहिले कुनै काम विशेष त कहिले पाटनतिर टहलिंदा अनि कहिले प्रात: भ्रमणमा म अनायसै बखुम्बहाल छिर्थें। जोकोही आगन्तुकका लागि जोशी निवास एउटा ठूलो पीपल चौतारी जस्तै थियो। अनि त्यस चौतरीमा यस्ता मनीषि भेटिन्थे जोसँग अथाह ज्ञान र अप्रतिम स्नेह हुन्थ्यो। एउटा विश्वविद्यालय जस्तो वटवृक्ष जसको छहारीमा ज्ञानको सोपान हुन्थ्यो। त्यहाँ नपुग्नु त आफैंलाई घाटा सिवाय के हुन्थ्यो र!
शताब्दी पार गर्दै गर्दा मैले सत्यमोहन सरलाई जीवनको उद्देश्यबारे प्रश्न गरेको थिएँ। आफ्नो सुदीर्घ जीवनको सार खिच्दै उहाँले भन्नुभएको थियो, ‘केवलं बोध मात्रम्’, अर्थात् जीवन केवल बोध मात्र हो। भागवत गीतामा आदर्श पुरुष वा स्थितप्रज्ञको परिभाषा ‘दु:खमा नआत्तिने, सुखमा नमात्तिने अनि रोग, भय, क्रोधबाट मुक्त’ भनिएको कुरा उहाँको जीवनमा हुबहु लागू हुन्थ्यो।
जीवनको अस्ताचलमा हिंड्दै गर्दा उहाँमा न विगतको पश्चात्ताप थियो, न त आगतको अभीप्सा, न त मृत्युभव नै। बरु वृद्धावस्थालाई ईश्वरीय वरदान मान्ने उहाँ भन्नुहुन्थ्यो, ‘न राग न कुनै द्वेष, न त गुनासो, न कुनै महत्त्वाकांक्षा वा कामवासना, वृद्धावस्था सबै बन्धन र इच्छाहरूबाट मुक्त ईश्वरीय आशीर्वाद हो। यस्तो परम आनन्दानुभूति जीवनको अन्य कुनै अवस्थामा गर्न सकिंदैन।’
सत्यमोहन सरको शताब्दी लामो जीवन नेपालको राजनीतिक, सांस्कृतिक र साहित्यिक कालखण्डका खुला पुस्तकालय अनि संग्रहालय रह्यो। मेरा गुरु प्राध्यापक अभि सुवेदी उहाँलाई एक जीवन्त सम्पदा (लिभिङ हेरिटेज) भन्नुहुन्थ्यो। प्राचीन ऋषिमुनि अनि युनानी दार्शनिकसँग सम्मति जनाउँदै ‘केवलं बोध मात्रम्’ भित्रको बोधलाई उहाँ यसरी अर्थ्याउनुहुन्थ्यो, “ऋषिमुनिहरू जीवनलाई बोधको अर्थमा लिन्थे, युनानी चिन्तकहरूले पनि त्यसै भनेका होइन रहेछन्, ‘नो दाइसेल्फ, अर्थात् आफैंले आफैंलाई चिन। हो चिन्नु वा बोध गर्नु नै जीवनमा सर्वाधिक महत्त्वपूर्ण रहेछ।”
उहाँको सुदीर्घ जीवन सबैका निम्ति एउट सम्यक् जीवनको प्रेरणा थियो र छ। शतायु पार गरेका सत्यमोहन सरको भौतिक अवसान पक्कै आश्चर्य होइन र त्यसमा विस्मात गरिरहनुपर्ने कुनै कारण पनि छैन। तर, दु:ख यस अर्थमा छ कि, उहाँको अवसानसँगै हामीले एउटा वटवृक्ष गुमायौं र शून्यता अनुभूत गरिरहेका छौं। कसैको आँखामा नबिझाउने अर्को सत्यमोहन जोशी अब हामीले आफ्नो जीवनकालमा फेरि भेट्नेछैनौं, आउने पुस्ताले पनि यस्तो विराट् व्यक्तित्व भेट्न धेरै वर्ष प्रतीक्षा गर्नुपर्नेछ।