आयल निगमलाई आगामी १५ दिनमा ३९ करोड नाफा, तर इन्धनको मूल्य नघट्ने
नेपाल आयल निगमलाई आगामी १५ दिनमा ३९ करोड नाफा हुने भए पनि तत्काल इन्धनको मूल्य नघटाउने भएको छ।
भारतको इन्डियन आयल कर्पोरेशन लिमिटेडले नयाँ मूल्य सूची पठाएको छ। असोज ३० गते पठाएको नयाँ मूल्य सूची अनुसार, निगमलाई पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा नाफा हुने भएको छ।
त्यस्तै, डिजेल र एलपी ग्यासमा भने घाटा हुने जनाएको छ। निगमका अनुसार, डिजेलमा प्रति लिटर ६ रुपैयाँ ३४ पैसा र एलपी ग्यासमा ३२५ रुपैयाँ ४४ पैसा घाटा छ।
डिजेल र एलपी ग्यासमा घाटा भए पनि पेट्रोल, मट्टीतेल र हवाई इन्धनमा नाफा रहेको छ। जसले गर्दा आगामी १५ दिनमा ३९ करोड नाफा हुने आयल निगमले जनाएको छ।
भारतबाट खरीद गरेर नेपालमा बिक्री गर्दा नाफा हुने भए पनि तत्काल इन्धनको मूल्य भने नघटाउने निगमको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य फेरि बढ्न थालेको र इन्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने रकम धेरै रहेको उल्लेख गर्दै आयल निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निगमको यस विषम परिस्थिति र बाध्यात्मक अवस्थालाई दृष्टिगत गरी हाललाई पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ।’
अहिले आयल निगमले पेट्रोल १८१, डिजेल र मट्टीतेल १७८ रुपैयाँ प्रति लिटरका दरले बिक्री गरिरहेको छ। त्यस्तै, एलपी ग्यास प्रति सिलिन्डर एक हजार आठ सय, हवाई इन्धन आन्तरिकतर्फ १८० रुपैयाँ प्रति लिटर र बाह्यतर्फ १.६४५ डलर प्रति लिटरका दरले बिक्री गरिरहेको छ।