माओवादी द्वन्द्व सम्बन्धी पुस्तक लोकार्पण
कृष्ण माबुहाङको पुस्तक माओवादी जनयुद्धः कैदी नम्बर ५१ को बयान सार्वजनिक भएको छ।
माओवादीको दशक लामो सशस्त्र द्वन्द्वमा प्रत्यक्ष सहभागी माबुहाङको पुस्तक असोज ३१ गते कीर्तिपुरमा लोकार्पण गरिएको हो। पुस्तकमाथि टिप्पणी गर्दै राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले नेपाली राजनीतिमा विचारधाराको विसर्जन भइरहेका वेला पुस्तकले युद्ध साहित्यमा एउटा इँटा थपेको बताए। उनले भने, “कम्युनिष्ट पार्टी बनाउन सकिंदो रहेछ, तर कम्युनिष्ट बनाउन नसकिने रहेछ।”
अर्का प्राध्यापक कुमार कोइरालाले सिद्धान्त र आस्था हराउँदै गएका वेला यस्तो पुस्तकले राजनीतिलाई सही मार्गदर्शन गर्न सक्ने बताए। पुस्तक विमोचन कार्यक्रममा सहप्राध्यापक बालकृष्ण माबुहाङले माओवादीले सञ्चालन गरेको युद्धमाथि प्राज्ञिक अध्ययन आवश्यक रहेको धारणा राखे।
पुस्तकका लेखक कृष्ण माबुहाङले शान्ति प्रक्रियामा आएपछि माओवादीका निष्ठावान् र संघर्षशील कार्यकता, शहीद तथा द्वन्द्वपीडित परिवार उपेक्षामा परेको बताए। उनले भने, “माओवादी युद्ध बुझ्न नेताहरूको होइन, तल्लो तहका कार्यकर्ताले लेखेको पुस्तक पढ्नुहोला।”
कार्यक्रममा प्रा. गोविन्द भट्टराई, प्रा. सुरेन्द्र केसी, सहप्राध्यापक अन्जु गुप्ता, पूर्व सांसद कुमार फुदोङ, प्रह्लाद रिजाल, लेखनाथ गौतम, चन्द्र मादेन, हरि गौतम लगायतले पुस्तकमाथि टिप्पणी गरेका थिए।