गच्छदार सहित आठ नेताको उम्मेदवारी खारेज नहुने
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सहित आठ जनाको उम्मेदवारी बदर गर्न माग गर्दै परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरेको छ।
अधिवक्ता अनिल आचार्यले गच्छदार सहित आठ नेताको उम्मेदवारी खारेजको माग गर्दै असोज २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ (युद्ध विक्रम तामाङ), टेकबहादुर गुरुङ र लक्ष्मी महतो (रेवतराज पुरी)को उम्मेदवारी खारेजका लागि आदेश माग गरेका थिए।
उनीहरू विरुद्ध विभिन्न मुद्दा विचाराधीन रहेको तथा विभिन्न आरोप लागेको जिकिर गरिएको थियो। जसले गर्दा उनीहरूले चुनाव लड्न नपाउनुपर्ने आचार्यको जिकिर थियो।
त्यसमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेजको आदेश दिएको हो। योसँगै आठै जनाको उम्मेदवारी यथावत् रहने भएको छ।