रुसले बलात्कारलाई ‘युद्ध रणनीति’का रुपमा अख्तियार गरेको छ: संयुक्त राष्ट्रसंघ
रुसले युक्रेनमा हमला गर्दा यौन हिंसालाई युद्ध रणनीतिको रुपमा अघि बढाएको संयुक्त राष्ट्रसंघीय विषेशदूतले बताएकी छन्।
संयुक्त राष्ट्रसंघीय विषेशज्ञहरूले हालैको अध्ययनमा युक्रेनमा फेब्रुअरी यता यौन हिंसाका ‘सयभन्दा बढी घटना’ को प्रमाण भेटिएको दाबी गरेका छन्। “शोधपूछका क्रममा स्थानीय महिलाले रुसी सैनिकहरू भियाग्रा बोकेर हिँडेको बताएका छन्, यो प्रष्ट रूपमा सैन्य रणनीति हो,” संयुक्त राष्ट्रसंघीय महासचिवका लागि द्वन्द्वमा यौन हिंसा सम्बन्धी विषेश दूत प्रमिला प्याटेनले समाचार संस्था एफपीसँग भनेकी छन्।
यौन अपराधका घटनाको उजुरी यसै पनि कम पर्ने हुनाले जति घटना भएको देखिएको छ वास्तविकता त्यो भन्दा धेरै र भयाभव हुन सक्ने बताउँदै उनले अधिकांश घटनामा बालबालिका संलग्न भएको जनाएकी छन्। “यौन हिंसाका धेरै घटनामा बालबालिका बलात्कृत भएका, यातनामा परेका पाइएको छ,” प्याटेनले भनिन्, “यस्ता घटनाको विश्वसनीय अनुसन्धान हुनुपर्छ भन्ने कुरा मैले गत फेबु्रअरीदेखि निरन्तर भन्दै आएको छु।”
रुसले युक्रेनमा हमाल गर्न थालेदेखि महिला तथा बालबालिकामाथि यौन हिंसा गरेको युक्रेनी अधिकारीहरूले निरन्तर आरोप लगाउँदै आएका छन्। उनीहरूले रुसी सैन्यले बलात्कार र यौन हिंसालाई आफ्ना अस्त्रको रुपमा उपयोग गर्दै आएको युक्रेनी अधिकारीको भनाइ छ।
युक्रेनका आन्तरिक मामिला हेर्ने सहायक मन्त्री कातेरिना पोलिच्यांकलले गत जुनमा रुसी सैनिकले यौन अपराधका भण्डै ५० वटा उजुरी प्रहरीमा दर्ता भएको बताएकी थिइन्।
रुसी नियन्त्रणबाट मुक्त भएको खार्किभ क्षेत्रमा रुसी सैन्यद्वारा गरिएका बलात्कारको पनि अनुसन्धान गरिरहेका छन्। संयुक्त राष्ट्रसंघीय निकायले गरेको दाबीलाई स्वतन्त्र रुपमा पुष्टि गर्न नसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
तर सीएनएनको सम्पर्क गरेकी एक १६ वर्षीया गर्भवतीले पीडाका दर्दनाक श्रृंखला बताएको जनाइएको छ। संयुक्त राष्ट्रसंघीय निकायले यस्तो दाबी गरिरहँदा रुसी पक्षले भने यसलाई अस्वीकार गरेको छ।