सत्यमोहनको शरीर अध्ययनका लागि अस्पतालमा राखिने
संस्कृतिविद् सत्यमोहन जोशीको शरीर अध्ययनका लागि अस्पतालमा राखिने भएको छ।
संस्कृतिविद् जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा ललितपुरको किस्ट अस्पतालमा निधन भएको थियो। उनको निधनपछि परिवारजन र अस्पतालबीच भएको छलफलमा शरीर अध्ययनका लागि राख्ने सहमति भएको किस्ट अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले बताए।
जिवित छँदै जोशीले शरीर दान गरेका थिए। उनको इच्छाअनुसार नै परिवारजनले पनि पार्थिव शरीर नजलाउने निर्णय गरेको हो। “संस्कृतिविद् जोशीको शव अस्पताललाई दिन परिवारजनले सहमति गरेका छन्,” पाठकले हिमालखबरसँग भने।
उनका अनुसार अस्पतालले जोशीको शरीरलाई केमिकलमा राखेर सुरक्षित गर्नेछ। त्यसपछि अस्पतालमै विद्यार्थीको अध्ययनका लागि सुरक्षित गरिनेछ।
अस्पताललाई हस्तान्तरण गर्नअघि संस्कृतिविद् जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन उनको शव ललितपुर महानगरपालिकाको प्राङ्गणमा राखिने भएको छ। त्यसपछि उनको शव अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम छ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई असोज ७ गते किस्ट अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि गत तीन दिनदेखि सघन उपचार कक्षमा राखिएको थियो। उपचारका क्रममै आज बिहान उनको निधन भएको हो।