यो वर्ष कहिलेसम्म रहन्छ डेंगीको जोखिम?
‘तापक्रम घट्दै गएपछि लामुखट्टेको वृद्धि विकास कम हुन्छ र संक्रमितको संख्या पनि घट्दै जान्छ।’
यो वर्ष साउनदेखि शुरू भएको डेंगीको संक्रमण असोज २९ गतेसम्म देशका सबै जिल्लामा फैलिइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ३८ हजार ९१८ जनामा डेंगी संक्रमण भइसकेको छ भने ४७ जनाले ज्यान गुमाइसकेका छन्।
यो वर्ष कहिलेसम्म रहन्छ डेंगीको जोखिम? संक्रमण रोग विशेषज्ञ डा. अनुप वास्तोलासँग हिमालखबरका लागि अनिता श्रेष्ठले गरेको संक्षिप्त कुराकानी:
सामान्य रुपमा लिँदालिँदै डेंगीको संक्रमण देशका सबै जिल्लामा देखिएको छ। यो वर्ष के कारणले यसरी डेंगीको प्रकोप बढ्यो?
यसको कारण भनेको डेंगी सार्ने लामखुट्टे पहाडी जिल्ला, काठमाडौं उपत्यकामा हुनु हो। पहिले यहाँका रैथाने लामखुट्टे डेंगी संक्रमित थिएनन्। त्यतिवेला लामखुट्टेले टोक्दा डेंगी हुँदैनथ्यो।
भारतमा डेंगी फैलिएको समयमा नेपालको सुनसरीमा पनि देखिएको थियो। डेंगी संक्रमण फैलन सक्ने (रगतमा भाइरोमिया भाइरस भएको) समय अर्थात संक्रमण शुरू भएको पहिलो सातामा त्यहाँका मानिस काठमाडौं आएका थिए। त्यतिवेला उपत्यकाको रैथाने लामखुट्टेले ती संक्रमित व्यक्तिलाई टोकेपछि आफू पनि संक्रिमित भए। त्यसपछि तिनै संक्रमित लामखुट्टेले पारेका अण्डाहरू पनि डेंगी सार्न तयार भए। एक सयदेखि १५० मिटर परसम्म गएर लामखुट्टेले अण्डा पार्न सक्छ।
सन् २०१८ मा फाट्टफुट्ट डेंगी संक्रमण भेटिएको थियो, तर जाडो मौसम शुरू भएपछि सकियो। त्यसपछि सन् २०१९ मा आउँदा संक्रमित लामखुट्टेको संख्या बढेर गयो।
सन् २०१९ को प्रकोपलाई विश्लेषण गर्दा सडक छेउछाउमा बस्ने व्यक्ति धेरै संक्रमित भएको पाइएको थियो। किनभने सडक छेउछाउमा राखिएका टाएर तथा पानी जम्ने ठाउँमा अण्डा पारेको अनुमान लगाउन सकिन्छ। नयाँ बजार, सोह्रखुट्टे, बालाजु रोड हुँदै थानकोटतिरका मानिस बिरामी परेका थिए। त्यतिवेला लामखुट्टे विकास धेरै भएपछि बिरामी पनि धेरै देखिए। पोखरामा पनि रैथाने लामखुट्टे संक्रमित भएर त्यहाँ पनि संख्या धेरै देखिएको थियो।
यो वर्ष हामीसँग शुरुआती दिनदेखि नै रोग सार्न सक्ने लामखुट्टे थियो। पहिले ३६औं हप्ताबाट डेंगीका बिरामी देखिन थाल्थे, यो वर्ष तुलनात्मक हिसाबमा १० देखि १५ गुणाले संक्रमित बढे।
यसको कारण भनेकै लामखुट्टेलाई विकास हुन आवश्यक ठाउँ प्रयाप्त मात्रामा हुनु हो। अव्यवस्थित शहरीकरण, घना बस्ती बढ्नु, संक्रमित लामखुट्टे हुनु र जोखिममा रहेको जनघनत्व बढी भएकै कारण प्रकोप बढेको हो।
अर्को, मानिस र लामखुट्टे नजिकै हुनु भनेको रोग सर्नका लागि राम्रो वातावरण सिर्जना हुनु हो। शहरीकरण भइरहेको ठाउँमा लामखुट्टेले अण्डा पार्न मिल्ने धेरै ठाउँ बनाइदिएको छ भने रोग बढ्छ।
त्यस्तै, दशैंमा संक्रमित मानिस पहाडतिर जाँदा त्यहाँका रैथाने लामखुट्टेलाई संक्रमित बनायो, यसले गर्दा शुरूमा नदेखिएको प्रकोप पहाडमा पनि देखियो। अबका दिनमा देशका ७७ वटै जिल्लामा प्रकोप हुँदैन भन्न सकिन्न। चिसो ठाउँमा भने लामखुट्टेको क्रियाकलाप कमै हुने भएकाले हिमाली जिल्लामा नभेटिन सक्छ।
जाडोयामसँगै लामखुट्टे कम हुन्छ। अनि अण्डा कसरी संरक्षित भइरहन्छन्?
संक्रमित लामखुट्टेले पार्ने अण्डा पनि संक्रमित नै हुन्छन्। अण्डाबाट लार्भा, प्युपा हुँदै लामखुट्टे भएर निस्किन्छन्, जसले सिधै डेंगी भाइरस सार्न सक्छ। लामखुट्टेले पारेको अण्डा पानी पर्ने समय नआएसम्म सुरक्षित रहन सक्छ। नौदेखि १० महीनासम्म जम्मा भएर बसेको अण्डा पानी पर्ने बित्तिकै हुर्कन थाल्छ।
एउटै भाइरसबाट संक्रमित भएका व्यक्तिलाई दोस्रो पटक संक्रमण त हुँदैन, तर जब एक-दुई वर्षमा संक्रमित नभएका मानिस बढ्दै जान्छन्, तब पुन: प्रकोप बढ्न थाल्छ। हरेक दुईदेखि तीन वर्षमा प्रकोप झन् ठूलो हुँदै जान्छ, तर यो किन हुन्छ भनेर धेरै अनुसन्धान भएको छैन।
गर्मी सकिँदा पनि डेंगी कम भएको छैन। यो वर्ष डेंगीको कहिलेसम्म रहन्छ?
अब विस्तारै डेंगीको संक्रमण घटेर जान्छ। हामीले हेर्दा उष्ण र तापक्रमलाई मध्यनजर गर्छौं। पहिलेका वर्षमा पनि देशभरका विभिन्न शहर तथा काठमाडौं उपत्यकामा नोभेम्बर दोस्रो साता अर्थात कात्तिक अन्तिमसम्म पनि फाट्टफुट्ट डेंगीका बिरामी देखिएका थिए।
त्यसैले, यो वर्ष पनि नोभेम्बरसम्म अर्थात मंसीर दोस्रो सातासम्म रहन्छ भन्न सकिन्छ। तर, केही महीनाअघि उष्ण रुपमा देखिएको प्रकोप भने घट्ने वेला आएको छ।
अहिले हामी ‘इपिडिमियोलोजिकल विक ४२’ अर्थात डेंगी प्रकाप शुरू भएको ४२औं हप्तामा छौं। पहिलेका वर्षमा यसपछि संक्रमण घट्दै गएको तथ्यांक छ। अब कात्तिकको दोस्रो साताबाट डेंगी संक्रमण विस्तारै ओरालो लाग्न थाल्छ।
चिसो बढ्दै गएपछि यसको प्रकोप कम हुँदै जाने हो?
अहिले तापक्रम घट्ने वेला भएको छ। हुन त लामखुट्टेको क्रियाकलाप १० डिग्री सेन्टिग्रेटसम्म पनि देखिन्छ। तर, विशेषगरी २० देखि ३० डिग्री सेन्टिग्रेट तापक्रम भएको समयमा लामखुट्टेको वृद्धि र यसभित्र रहेको भाइरसको वृद्धि विकास पनि राम्रो हुन्छ।
त्यसैले तापक्रम घट्दै गएपछि यसको वृद्धि विकास कम हुन्छ र संक्रमितको संख्या पनि घट्दै जान्छ। डेंगी सार्ने अजेन्ट भनेकै लामखुट्टे हो। यसको क्रियाकलाप कम हुन थालेसँगै प्रकोप पनि कम हुन थाल्छ।
यो वर्ष डेंगीबाट किन यति धेरै मान्छेको ज्यान गयो?
मृत्यु हुने व्यक्तिमा डेंगीकै कारण मृत्यु भएको हो/होइन, अध्ययन गर्न जरुरी छ। रक्तचाप घट्ने, शरीरका अंगमा रगत नपुग्ने तथा आँखा वा शरीरका अंगमा रगत बगेर मृत्यु भयो भने डेंगीका कारण मृत्यु भएको मानिन्छ। डेगींका कारण हुने अन्य जटिलता जस्तै शरीरका अंगले काम गर्न छोड्छ। यससँगै मुटु रोग भएका व्यक्तिको पनि डेंगी संक्रमण कारण मृत्यु हुने जोखिम हुन्छ। त्यसमा पनि डेंगीकै कारण मानिन्छ।
तर, कोरोना लागेर वा अन्य रोगका कारण मृत्यु हुन लागेका व्यक्तिलाई डेंगी भएर मृत्यु भएको हो की भन्ने कारण पनि हेर्न जरुरी छ। त्यस्तै, डेंगीमा पनि कुन सेरोटाइपको संक्रमणका कारण मृत्यु भएको हो भन्ने अनुसन्धान गर्नुपर्छ।
धेरै जसो गम्भीर विरामीमा सेरोटाइप-२ को संक्रमण भएको पाइन्छ। यस सेरोटाइपले दोस्रो पटक संक्रमित हुनै पर्दैन, शुरूमै जोखिम बढाउने र मृत्यु गराउन सक्छ।
डेंगी भाइरसको संक्रमण भएको व्यक्तिमा ब्याक्टेरियाको सेकेन्डरी संक्रमण भए पनि मृत्युको सम्भावना बढेर जान्छ। डेंगीबाट मृत्यु हुने ४४ प्रतिशत मानिसमा ब्याक्टेरियाको सेकेन्डरी संक्रमण कारक रहने गरेको छ। यस विषयमा सरकारले गहन अध्ययन गर्न जरुरी छ।
त्यसैले डेंगीबाट मृत्यु हुनुको कारण पत्ता लगाउन सेकेन्डरी डेंगी वा ब्याक्टेरियल संक्रमण, डेंगीकै गम्भीरताले वा अन्य रोगका विरामीमा डेंगी पोजिटिभ देखिएको हो भन्ने कुरा अध्ययन गरिनुपर्छ।