समानुपातिकका चार करोड मतपत्र छापिए
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र पछाई सकिएको जनाएको छ।
आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फको दुई करोड चार लाख २१ हजार मतपत्र छपाई भएको छ। त्यस्तै, प्रदेश सभाको समानुपातिक तर्फको दुई करोड एक लाख ८४ हजार मतपत्र छपाई सम्पन्न भएको छ। सबै गरेर चार करोड ६ लाख पाँच हजार मतपत्र छपाई भएको आयोगले जनाएको छ।
यस्तै, आयोगले प्रत्यक्षतर्फको मतपत्र पनि छपाई शुरू गरिसकेको छ। शनिबारसम्म प्रत्यक्षतर्फको १७ लाख मतपत्र छपाई भएको छ।
आयोगले समानुपातिक तर्फको मतपत्र जिल्लाजिल्लामा ढुवानी पनि गर्न थालेको छ। शनिबारसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा मतपत्र ढुवानी गरिएको छ।