पाँचौ जितका लागि पूर्व कार्यकर्तासँग प्रतिस्पर्धा
रुपचन्द्र विष्ट, महालक्ष्मी उपाध्याय डिना, कमल थापा र हिरण्यलाल श्रेष्ठलाई पराजित गरेर चार पटक सांसद बनेका विरोध खतिवडालाई यसपटक आफ्नै पूर्व कार्यकर्ता महेश बर्तौलाले चुनौती दिंदैछन्।
प्रतिनिधि सभा र प्रदेश सभाको मिति नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्। बागमती प्रदेशको राजधानी रहेको मकवानपुरमा पनि प्रभावशाली नेताहरूले चुनावी गतिविधि बढाएका छन्।
यस पटकको चुनावी केन्द्रमा भने मकवानपुर २ रहेको छ। जहाँ सत्तारुढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का नेता विरोध खतिवडा र नेकपा (एमाले)का युवा नेता महेश बर्तौला प्रतिस्पर्धामा छन्। बहुदलीय प्रजातन्त्र पुनःस्थापना लडेका सबै चुनाव जितेका खतिवडा आफैले राजनीतिमा लिएका बर्तौलासँग प्रतिस्पर्धामा भएकाले पनि यो क्षेत्रमा सबैको चासो बढेको छ।
यो क्षेत्रका लागि खतिवडा नयाँ नाम होइन्, उनी साढे तीन दशकदेखि चुनावी प्रतिस्पर्धामा छन्। विगतमा एमालेबाटै चुनाव जितेका उनी यस पटक भने एमालेकै उम्मेदवारसँग प्रतिस्पर्धामा छन्।
बहुदलीय प्रतिस्पर्धामा अहिलेसम्म चुनाव नहार्ने थोरै नेतामा खतिवडा पनि पर्छन्। २०४८ सालयता लडेका चार वटै चुनाव जितेका छन्। पछिल्लो पटक २०७४ सालको निर्वाचन ११ हजारभन्दा बढी मतान्तरले जितेका थिए।
वाम गठबन्धनबाट एमालेका उम्मेदवार खतिवडाले ४४ हजार ७४४ मत पाएका थिए। उनीसँग प्रतिस्पर्धामा रहेकी नेपाली कांग्रेसकी नेत्री महालक्ष्मी उपाध्याय डिनाले ३२ हजार ६८१ मत पाएकी थिइन्। यो उनको सांसदमा चौथो जित थियो।
त्यसअघि २०५६ सालको चुनावमा पनि सहज जित निकालेका थिए। उनले तत्कालीन नेकपा (माले)का नेता हिरण्यलाल श्रेष्ठलाई पराजित गरेका थिए।
२०५१ सालको प्रतिस्पर्धामा कमल थापालाई पराजित गरेका थिए। त्यो चुनावमा कांग्रेस नेत्री उपाध्याय पनि प्रतिस्पर्धामा थिइन्। उनी तेस्रो स्थानमा रहेकी थिइन्।
बहुदलीय व्यवस्थापन पुनःस्थापनापछि भएको पहिलो चुनावमा जित निकाल्दै उनी चर्चामा आएका थिए। २०४८ सालको त्यो चुनावमा उनले चर्चित नेता रुपचन्द्र विष्टलाई पराजित गरेका थिए।
त्यसअघि २०४३ सालको राष्ट्रिय पञ्चायतको चुनावमा भने हार व्यहोर्नु परेको थियो। त्यतिवेला उनी जनपक्षीय उम्मेदवार बनेका थिए।
लगातार चुनाव जित्दै आएको भए पनि संविधान सभा निर्वाचनमा भने उनी प्रतिस्पर्धामा उत्रिन पाएनन्। २०६४ र २०७० सालको संविधान सभा चुनावमा एमालेले उनलाई टिकट दिएको थिएन।
यस पटक एमालेकै युवा नेता बर्तौला उनका प्रतिस्पर्धी छन्। बर्तौलाले विद्यार्थी राजनीतिबाट चर्चा बटुलेका हुन्। दुई पटक मकवानपुर बहुखुमी क्याम्पसको स्ववियू सभापति बनेका उनी युवा तथा विद्यार्थीमाझ लोकप्रिय छन्। मकवानपुरकै भीमफेदी गाउँपालिका-९ नामटारका उनी २०७८ असोजबाट मात्रै पार्टीमा प्रवेश गरेका हुन्।
अहिले उनी एमाले बागमती प्रदेश कमिटीको उपमहासचिव छन्। युवा तथा विद्यार्थीमाझ राम्रो छबि भएकैले उनले छोटो समयमै सांसदको टिकट पाउन सफल भएको एमाले नेताहरू बताउँछन्।
खतिवडाकै ‘स्कूलिङ’बाट बर्तौला राजनीतिमा आएका हुन्। एमाले विभाजन हुनअिघ उनीहरूले नेता-कार्यकर्ताका रुपमा सँगसँगै काम गरेका थिए।
२०७४ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा खतिवडालाई जिताउन बर्तौला पनि खटिएका थिए। उनले नै खतिवडाका लागि विद्यार्थी संगठन परिचालन गरेका थिए।
एमाले नगर कमिटीका सचिव बोलबहादुर कार्कीका अनुसार खतिवडा र बर्तौला २०६२-६३ को जनआन्दोलनमा सँगसँगै पक्राउ परेका थिए। एमाले मकवानपुरको जिल्ला अधिवेशनका क्रममा खतिवडाले तत्कालनी अखिल अध्यक्ष बर्तौलाको प्रशंसा गरेको कार्की बिर्सेका छैनन्। “विरोध दाइ पटकपटक भन्नुहुन्थ्यो- महेश भाइ एक दिन सांसद बन्छ, त्यतिवेला मैले सघाउने दिन आउँछ, उनीमा क्षमता छ,” कार्की भन्छन्, “अहिले सघाउन होइन, प्रतिस्पर्धी बनेका छन्।”
एकीकृत समाजवादीका उम्मेदवार खतिवडा भने हिजो र आजको पार्टीगत अवस्था नै फरक रहेकाले बर्तौलासँग प्रतिस्पर्धामा आउनु परेको बताउँछन्। “हिजो हामी एकै पार्टीमा एकै मुद्दामा थियौ, गुरु-चेला थियौ, अहिले अवस्था फरक भयो,” उनी भन्छन्।
एमालेका उम्मेदवार बर्तौला भने अब जनताले नयाँलाई मौका दिने बताउँछन्। “मेरो तीन पुस्ताले उहाँलाई मतदान गरेको छ, जिताएको छ,” बर्तौला भन्छन्, “अब नयाँ पुस्तालाई अवसर दिनुपर्छ। मतदाताले ‘टेस्टेड’लाई रोज्दैनन्।”
खतिवडाको बुझाइ भने फरक छ। उनी आफूले गरेका कामले नै मत पाउने बताउँछन्। “महेश भाइसँग आफ्नो अजेन्डा होला, मसँग आफ्नो अजेन्डा छ। कोही कसैको विरुद्धमा नभई आफूले आफैंलाई जाँच्ने वेला हो,” उनी भन्छन्, “मैले हिजोका दिनमा गरेको कामले पनि जनता मेरो पक्षमा छन्।”
कस्तो छ चुनावी गणित?
मकवानपुर २ मा पाँच गाउँपलिका, एक नगरपालिका, एउटा उपमहानगर र एउटा गाउँपालिकाका केही भाग पर्छन्। थाहा नगरपालिका तथा मनहरी, कैलास, राक्सिराङ, भीमफेदी र इन्द्रसरोवर गाउँपालिका यहि क्षेत्रमा पर्छन्। त्यस्तै, हेटौंडा उपमहानगरपालिकाको पश्चिमतर्फका वडाहरू १, ३, ११, र १९ पर्छन्। मकवानपुरगढी गाउँपालिकाको उत्तरतर्फका ५, ६, ७ र ८ नम्बर वडा यो क्षेत्रमा समेटिएका छन्।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारको मत दुई हजार ७१९ मात्रै थियो। जबकी एमालेका वडाध्यक्षका उम्मेदवारले पाएको मत ३६ हजार ८६६ थियो।
त्यस्तै, कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ३४ हजार २४० मत पाएका थिए भने माओवादीका वडाध्यक्षका उम्मेदवारले २२ हजार ६०७ मत पाएका थिए। पाँचौ नम्बरमा रहेको राप्रपाका वडाध्यक्षका उम्मेदवारले एक हजार ५३६ मत पाएका थिए। अहिले कांग्रेस र माओवादीले खतिवडालाई र राप्रपाले बर्तौलालाई समर्थन गरेको छ।
नयाँ पार्टी भएकाले संगठन पनि महबुत बन्न सकेको छैन। जिल्लाभरी करीब ६ हजार जना संगठित सदस्य रहेको जनाइएको छ। एकीकृत समाजवादीलाई मात्रै हेर्दा खतिवडालाई यसअघिको जस्तो सजिलो देखिँदैन।
तर, उनलाई गठबन्धनको साथ छ। यो क्षेत्रमा नेपाली कांग्रेस पनि बलियो अवस्थामा छन्। यससँगै नेकपा (माओवादी केन्द्र)को पनि उनलाई नै समर्थन छ। त्यसले उनलाई पाँचौ जितका लागि आशावादी बनाएको छ।