मधेशको मुख्यमन्त्रीमा तीन दलका पाँच दाबेदार
एमाले र माओवादी कमजोर रहेको मधेश प्रदेशमा कांग्रेस, जसपा र लोसपाका पाँच जना नेता मुख्यमन्त्रीको दाबेदार देखिएका छन्।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति नजिकिँदै गर्दा भावी मुख्यमन्त्रीको चर्चा शुरू हुन थालेको छ। मधेश प्रदेशमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पाँच नेता भावी मुख्यमन्त्रीको दाबी गर्दै चुनावी प्रचारप्रसारमा जुटेका छन्।
मधेस प्रदेशको १०७ सिटमा प्रत्यक्षतर्फ ६४ र समानुपातिक तर्फ ४३ सदस्यका लागि आगामी मंसीर ४ मा चुनाव हुँदै छ। प्रतिनिधि सभासँगै प्रदेश सभामा पनि सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा (एमाले) को नेतृत्वमा रहेको विपक्षी गठबन्धन चुनावी प्रतिस्पर्धामा छ।
यो प्रदेशमा कमजोर रहेका एमाले र नेकपा (माओवादी केन्द्र)मा भावी मुख्यमन्त्रीका लागि कसैले दाबी गरेको देखिँदैन। एमालेसँगको तालमेलमा रहेको जसपाबाट मुख्यमन्त्री लालबाबु राउत फेरि दाबेदार देखिएका छन्। उनी पर्सा १ ‘ख’ बाट फेरि प्रदेश सभा सदस्यका उम्मेदवार बनेका छन्।
उनी २०७४ सालको निर्वाचनबाट पनि यहिँ क्षेत्रबाट निर्वाचित भएका थिए। तत्कालीन संघीय समाजवादी पार्टी, नेपालबाट निर्वाचित भएका राउत राजपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए। उनलाई फेरि प्रदेश सभा सदस्यको उम्मेदवार बनाएपछि मुख्यमन्त्रीका रुपमा हेरिएको छ।
तर, उनको पाँच वर्षे कार्यकाल भने सन्तोषजनक रहेन। उनले संचालन गरेका धेरै योजनामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। मुख्यमन्त्री बेटी पढाउन बेटी बचाउ अभियान अन्तर्गत साईकल वितरणमा अनियमितता भएपछि अख्तियारले विशेष अदालतमा मुख्यमन्त्री कार्यालयका केही कर्मचारी विरुद्धमा मुद्दा समेत दर्ता गरिसकेको छ।
उनी २०७४ सालको निर्वाचनमा नौ हजार ८०४ मत प्राप्त गरेर विजयी भएका थिए। आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार रामनारायणप्रसाद कुर्मी उनका बलिया प्रतिस्पर्धी देखिएका छन्।
त्यस्तै, जसपाबाट सरोजकुमार यादव पनि मुख्यमन्त्रीका दाबेदारका रुपमा देखिएका छन्। उनी निर्वतमान सभामुख हुन्। उनले मधेश प्रदेश सभाको पाँच वर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आफू मुख्यमन्त्रीको दाबेदारका रुपमा रहेको बताएका थिए।
यादव बारा १ ‘ख’ बाट उम्मेदवार बनेका छन्। २०७४ सालको निर्वाचनमा १४ हजार २६९ मत प्राप्त गरेर विजयी भएका थिए। आगामी निर्वाचनमा उनका प्रतिस्पर्धी कांग्रेसका नागेन्द्रप्रसाद कानू छन्।
यी दुई जनासँगै जसपाबाट अर्थमन्त्री शैलेन्द्र साह, मनिष सुमन र कृषि मन्त्री विजय यादवलाई पनि मुख्यमन्त्रीको आकांक्षीको रुपमा हेरिएको छ।
जसपाले एमालेसँग तालमेल गरेपछि सत्तारुढ गठबन्धनसँग तालमेल गरेको लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनल पनि मधेश प्रदेशको मुख्यमन्त्रीका दाबेदार रहेका छन्। उनी आफूलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गर्दै चुनावी प्रचारमा जुटेका छन्।
२०७४ सालको निर्वाचनपछि सोनल मधेस प्रदेशमा तत्कालीन संघीय समाजवादी पार्टी र राजपा नेपालबीच भएको गठबन्धनमा दोस्रो वरियतामा रहने गरि भौतिक पूर्वाधार मन्त्री बनेका थिए। सोनलको कार्यकालमा समेत मन्त्रालयमा केही योजनामा अनियमितता भएको भन्दै उजुरी परेका छन्।
सोनल बारा ४ ‘ख’ बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका छन्। उनको मुख्य प्रतिस्पर्धा जसपाका उम्मेदवार आत्माराम प्रसाद साहसँग हुने देखिएको छ। उनी २०७४ सालको निर्वाचनमा यहि क्षेत्रबाट १३ हजार ११८ मत प्राप्त गरी विजयी भएका थिए। उनका प्रतिस्पर्धी माओवादीका उमेशकुमार कुश्वाहाले पाँच हजार ६९२ मत पाएका थिए।
यस्तै, कांग्रेसबाट दुई जना नेतालाई मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको छ। प्रदेश सभामा संसदीय दलका नेता रामसरोज यादव र प्रदेश अध्यक्ष कृष्णा यादवले आफूलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरिरहेका छन्।
रामसरोज धनुषा ३ ‘क’ बाट उम्मेदवार बनेका छन्। उनी २०७४ सालमा यहि क्षेत्रबाट १५ हजार ६८५ मत प्राप्त गरि विजयी भएका थिए। उनका प्रतिस्पर्धी तत्कालीन राजपाका कविन्द्रनाथ ठाकुरले १४ हजार ४७ मत पाएका थिए।
यस पटक भने जसपाका जितेन्द्र यादवसँग प्रतिस्पर्धा रहेको छ। जितेन्द्र एमाले र जसपा गठबन्धनबाट साझा उम्मेदवार बनेका छन्।
मुख्यमन्त्रीका अर्का दाबेदार कृष्ण रौतहट १ ‘ख’ बाट उम्मेदवार बनेका छन्। उनी २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा रौतहट १ मा लोसपाका नेता अनिल झासँग पराजित भएका थिए। उनले १५ हजार ८७४ र झाले २१ हजार ४७२ मत पाएका थिए।
यस पटक उनका प्रतिस्पर्धी जसपाका योगेन्द्र राय यादव रहेका छन्। त्यस्तै, सीके राउत नेतृत्वको जनमत पार्टीका दिनेशकुमार यादव पनि यो क्षेत्रमा प्रतिस्पर्धामा छन्।