निकास थुनेर शहीद स्तम्भ, औद्योगिक क्षेत्र डुबानको खतरामा
पानीको निकास नै थुन्ने शहरी शहीद स्तम्भ निर्माण गर्न थालेपछि गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानको जोखिममा परेको छ ।
औद्योगिक क्षेत्रको पूर्व–दक्षिण छेउमा पानीको निकास थुन्ने गरी शहीदस्तम्भ निर्माणका लागि माटो पुर्ने र इँटाको पर्खाल निर्माण गर्न थालेपछि सप्तरीको एकमात्र औद्योगिक क्षेत्र डुबानको जोखिममा परेको हो ।
तत्कालीन नेकपा (एमाले)को मेची–महाकाली अभियानका क्रममा पाँच जनाको मृत्यु भएको ठाउँमा शहरी विकास तथा भवन निर्माण कार्यालयले शहीदगेट, शहीद उद्यान र शहीदस्तम्भ निर्माण शुरु गरेको छ ।
२ नम्बर प्रदेश सरकारको सहयोगमा निर्माणाधीन शहीदस्तम्भ पानी बहावको मूल नै थुन्ने गरी बनाउन थालेकाले वर्षात समयमा औद्योगिक क्षेत्र डुबानमा पर्ने र औद्योगिक क्षेत्र धरासायी हुने औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख दीपकराज आचार्यले जानकारी बताए ।
“औद्योगिक क्षेत्रको पूर्वतर्फ बहावलाई नै थुन्ने गरी स्थायी संरचना बनाइएकाले पानीको निकास रोकिएर, सबै पानी औद्योगिक क्षेत्रभित्र जम्छ र उद्योगधन्दाको मेसिनलगायतमा क्षति पुर्याउँछ ”, उनले भने ।
अघिल्लो वर्षको बाढीले औद्योगिक क्षेत्रको पर्खाल भत्काएको थियो भने औद्योगिक क्षेत्रभित्र पानी जमेकाले लामो समयसम्म उद्योग सञ्चालन हुनसकेको थिएन ।
औद्योगिक क्षेत्रको पानी निकासको लागि २०४४ मा निर्माण गरिएको पोखरीमा माटो पुरेर शहीदस्तम्भ बनाउन थालिएको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सरोकारवाला निकायलाई गुहारेको छ ।