सर, खाना ल्याइदिएको छ, खानु ल...
हरेक शिक्षकले आफ्ना विद्यार्थी र आफ्नो काम कसरी प्रभावकारी बनाउने भन्ने बुझ्न ‘होम भिजिट’ मा जानैपर्छ।
स्कूलमा पढाउनका लागि काठमाडौं छोडेर कर्णालीको सुदूर दुर्गम डोल्पा पुग्दा मनमा अलिअलि द्विविधा थियो नै। के गर्ने, कसरी पढाउँने भन्ने लागिरहेकै थियो। टिच फर नेपालमार्फत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-८ स्थित तेर्से माध्यमिक विद्यालयमा पढाउँदा बटुलेको अनुभवले हौसला टुट्न दिएको थिएन।
नभन्दै स्कूलमा पढाउन थालेको तीन-चार महीनामा विद्यार्थीसँग झ्याम्मिएँ। विद्यार्थीले माया गर्ने र मन पराउने मात्र होइन, विश्वास गरिएको शिक्षकमध्ये गनिन पुगेँ।
धरैले खाजा खाने वेला बोलाउँदा कसकोमा जाने, कसकोमा नजाने अन्योल हुन्थ्यो। एकातिर जाँदा अर्कातिरकाले चित्त दुखाउलान् भन्ने पीर। त्यसैले एकैछिन भए पनि सबैकोमा पुग्ने प्रयास गर्थें।
कतिपयले त मलाई अरूलाई भन्नै गाह्रो हुने गोप्य कुरा पनि सुनाउँथे। विद्यार्थीसँग हिमचिम बढ्दै जाँदा घरमा बस्दै आउने बोलावट पनि आउन थाल्यो। उनीहरूका आग्रहलाई स्वीकार्दै सहकर्मीसँग धेरै विद्यार्थीको घरमा पनि गइयो। उनीहरूका परिवारसँग स्कूलको गतिविधि बाहेक अन्य घरायसी कुरा पनि गर्थ्यौं। हँसीमजाक र ठट्टा पनि हुन्थ्यो।
यसले अभिभावकको मन जित्न सकियो। अभिभावकले ‘यिनले त हाम्रा सन्तानको भलो चाहँदा रहेछन्’ भन्ने बुझे। हामी विद्यार्थीप्रति गम्भीर छौं भन्ने अभिभावकले बुझेपछि उनीहरूले पनि आफ्ना सन्तानको पढाइमा गम्भीरता देखाए। पढाइमा सुधार आउन थाल्यो। विद्यार्थी र अभिभावक तथा समुदायको निकट हुँदा सबैलाई राम्रै भयो। हामीले चाहेको पनि आखिर विद्यार्थीको भलाई नै त थियो।
मैले पढाउन थालेको तीन-चार महीनासम्म पनि प्रायः विद्यार्थी गृहकार्यविना नै स्कूल आइरहेका थिए। स्कूल नजिकै घर हुनेले गृहकार्य गरेर आउँथे, टाढाबाट आउनुपर्ने गहृकार्यविनै आउँथे। गृहकार्य किन नगरेको भनी सोध्दा ‘घरको कामले गर्दा भ्याइएन, सर’ भन्थे। एक-दुई दिन त होला भन्ठानें, सधैं त्यसो भन्दा त यीनले बहाना पो बनाए कि भन्ने शंका लाग्यो। गृहकार्य नगर्नेलाई गाली पनि गरेँ।
एक दिन कक्षा ८ मा पढ्ने विनीताले घरमा आउने निम्तो दिइन्। मलाई अप्ठ्यारो लाग्यो। उनले निकै दिनसम्म बोलाउँदा पनि गइनँ। मलाई असजिलो लाग्यो, समुदायले के सोच्ला भन्ने भयो। उनले आउन ढिपी गरिरहेका एक दिन सोधें, “बाआमालाई भनेकी छौ कि छैनौ?”
उनले बाआमालाई भनिसकेको बताइन्। म गए, उहाँहरू खुशी हुनुहुने कुरा पनि उत्साहित हुँदै सुनाइन्।
पहिलो त्रैमासिक परीक्षा चलिरहेको थियो। भोलिपल्ट बिदा र पर्सिदेखि परीक्षा हुँदै थियो। बिदा हुने भएकाले त्यही दिन उनीकहाँ जाने निधो भयो। मैले उत्तरपुस्तिका बुझाएर आउँदा विनीता मलाई कुरिरहेकी रहिछिन्।
त्यो वेला म स्कूलमै बस्थें। लुगा फेरेर आएर उनीसँगै आउने सोही ठाउँका विद्यार्थीसँगै निस्कियौं। गफ गर्दै जाँदा कसको घर कता छ सोध्दै गएँ। परिवार र बुवाआमाबारे पनि सोधें। उकालो उक्लिँदै गइरहेका थियौं। भिरालो जङ्गलको बाटो रहेछ।
उनीहरूसँगै हिँड्दा उनीहरूको जीवन र भोगाइबारे अवगत हुँदै थिएँ। आफूलाई उक्लिन गाह्रो परिरहेका वेला यिनले यो बाटो दैनिक कसरी हिँडिरहेका होलान् भन्ने प्रश्न मनमा आइरह्यो।
उनीहरूको दैनिकीसँग पहिलो पटक साक्षात्कार हुँदै थिएँ। म त स्कूलमै बस्थें। जीवन सजिलै थियो। उनीहरूको पनि त्यस्तै होला भन्ने लाग्थ्यो। आफूले नभोगेसम्म अरूको पीडा बुझिँदैन भन्ने सही रहेछ भन्ने लाग्यो।
हिँड्दै जाँदा गन्तव्य नजिक हुँदै गए। एकएक गरेर विद्यार्थी छुट्टिन थाले। म विनीतासँगै उनको घरको बाटो उक्लिदै थिएँ। “कति छिटो हिँडेकी, बिस्तारै हिँड न,” मैले भनेँ।
“सर, म त सधैं यसरी नै हिँड्छु,” उनले हाँस्दै भनिन्।
झण्डै एक घण्टा हिँडेपछि उनको घर पुगियो। साढे ३ बजेको थियो। उनका भाइबहिनी आइसकेका रहेछन्। शायद दिदी आएर खाजा बनाएर देली भनेर कुरिरहेका थिए।
विनीताले छिटछिटो लुगा फेरिन् र भान्छामा गएर चाम्रे पकाउन थालिन्। उनी भान्छामा हुँदा म उनका भाइबहिनीसँग कुरा गर्न थालेँ। कतिमा पढ्छौ? कुन स्कूलमा? कुन विषय मन पर्छ? भविष्यमा के बन्ने? यस्तै यस्तै सोधिरहेंथे। भान्छाबाट खाजा खान आउने बोलावट आयो। खाजा खाइसकेपछि विनीताले भाडा माझिन्।
त्यसपछि हामी उनको घरभन्दा अलि पर रहेको स्कूलकै कक्षा १० का विद्यार्थी राम र लक्ष्मणको घर गयौं। हामी पुग्दा उनीहरू भैंसी गोठ मर्मतमा भिडिरहेका थिए। उनीहरूले गोठ मर्मत गर्न बाँस काटेर ल्याएका थिए। बिरामी भैंसीलाई बारीमा रहेको हरियो गाँजाको बोट ख्वाइँदै थियो। गाँजा ख्वाउँदा भैंसी निको हुने उनीहरूले सुनाए।
लठ्याउने गुण भएकाले नेपालमा गाँजा सेवन निषेधित भएको सुनेको थिएँ। तर गाउँघरमा गाईवस्तुको पेटमा समस्या भए गाँजा ख्वाउने चलन रहेछ। हामी यसोउसो गफगाफ गरिरहेका थियौं झण्डै ५ बजेतिर विनीताकी आमाले बारीको डिलबाट बोलाउनुभयो। विनीताले मलाई आमासँग चिनजान गराइन्। “ममी, मोइन सर,” विनीताले भनिन्।
उनको आमाको नमस्कारलाई मैले पनि नमस्कारले नै फर्काएँ।
“ल म घर गएँ। सरलाई लिएर आइज,” भन्दै आमा जानुभयो।
हामी पनि राम र लक्ष्मण तथा उनीहरूका बिरामी भैंसीसँग बिदा भएर फर्कियौं। मलाई यहीँ रात बिताउनुपर्छ भन्ने कुराले भित्रैदेखि असजिलो बनायो। स्कूलै फर्कन पाए हुन्थ्यो भन्ने लाग्यो। त्यो एकलास र जंगलको बाटो रातबिरात एक्लै फर्कने आँट पनि थिएन।
विनीताकी आमासँग विनीता र उनका भाइबहिनीको पढाइबारे कुराकानी भयो। उहाँलाई विनीताको चिन्ता रहेछ। अलि उत्ताउली छे भन्ने गुनासो गर्नुभयो। “यसकी दिदी पनि पोइला गई। मलाई यसको नि भर लाग्दैन,” उहाँले भन्नुभयो।
आमाका कुराले विनीतालाई असजिलो लागेको चाल पाएँ। म आफैं पनि के जवाफ फर्काउँ भनेर चुप भएँ।
“पढ्न त खोज्छे सर, तर हाम्रो आर्थिक अवस्था राम्रो छैन,” उहाँले नै मौनता भङ्ग गर्नुभयो।
उहाँले आफ्नो व्यथा फुकाउन थाल्नुभयो। पहिला स्कूलकै भवनमा सिलाईको पसल थियो। भाडा तिर्न नसकेर बन्द गर्नुपर्यो। बुवा रक्सीको अम्मली। एउटी महिलाले के-के मात्रै गर्ने?
हुन त विनीताले छात्रवृत्ति पाएकी थिइन्।
हामी यता कुरा गर्दै थियौं, उता विनीताले बारीबाट फर्सीको मुन्टा ल्याएर केलाउन थालिन्।
मैले पनि एउटा मुन्टो हातमा लिएर केलाउन खोजेँ। जानिनँ। मेरो बेढंग देखेर आमाछोरी हाँस्न थाले।
“भैगो सर, गर्नु पर्दैन। हामी गर्छौं,” उनले भनिन्।
“खासमा म खाना नै बनाउदिनँ,” मैले आफ्नो बचाउ गरेँ।
“हो र सर। अनि कसले बनाउँछ त?” उनले सोधिन्।
“म तरकारी काट्छु। भाँडा माझ्छु तर खाना चाहिँ मेरो साथीले बनाउनुहुन्छ,” मैले भनेँ।
आमाले विनीतालाई भात बसाल्न अह्राउनुभयो। भाइबहिनी बत्तीको मधुरो प्रकाशमा गृहकार्य गर्दै थिए। साढे ७ बजे खाना पाक्यो। बुवा आउनै बाँकी थिए। विनीताले मलाई र उनका भाइबहिनीलाई खाना पस्किइन्। हामीले खायौं।
“तिमी कहिले खाने?” मैले सोधें।
“एकैछिनमा खान्छु सर। बुवा आएपछि,” उनले भनिन्।
उनले त्यसो भनेको एक घण्टासम्म पनि बुवाको अत्तोपत्तो थिएन। म थकित भएँ।
“सर, तपाईं यो खाटमा सुत्नुस्,” उनले भनिन्। खाटमाथि झुल थियो। मलाई असजिलो लागिरहेकै थियो।
त्यो कोठामा भान्छा हुँदै आउनुपर्थ्यो। भान्छापछिको त्यो कोठा नै सबैको सुत्ने कोठा रहेछ। कोठामा तीनवटा खाट थिए। एउटा मेरो लागि तयार थियो। त्यसमा म पल्टिएँ।
केही बेरमा ढोका ढकढकाएको आवाज आयो। विनीताले खोलिन्। उनका बुवा रहेछन्। सिमेन्टको बोरा ओसारेर आउँदा ढिला भएको सुनाए।
म निदाइसकेको थिइनँ। मैले सबै कुरा चाल पाइरहेको थिएँ। विनीताकी आमाले आफ्नो श्रीमानलाई ‘विनीताको सर आउनुभाछ, बिस्तारी बोल्नुस्’ भनेको सुनें।
आमाले उनलाई शरीरभरी सिमेन्टको धूलो भएकाले चाँडै भात खाएर नुहाउन अह्राएको पनि सुनें। उहाँ म सुतेको खाट नजिकै आएर बोल्नुभयो, “नमस्कार सर !”
मैले उठेर नमस्कार फर्काएँ। उहाँको मुखबाट मद्यपानको गन्ध आइरहेको थियो।
“सर, हाम्रो घर आउनुभएकोमा खुशी लाग्यो। यस्तै छ सर हाम्रो घर,” उहाँले भन्नुभयो।
मैले पनि घरमा बोलाउनु भएकोमा धन्यवाद भनेँ।
“सर खाना खाएर नुहाउनु छ। म गएँ है,” भन्दै उहाँ मसँग बिदा मागेर जानुभयो।
उहाँ गएको आधा घण्टा जतिमा विनीता आइन्। पढ्न बसिन्। म खाटमा पल्टिएर अनिदो आँखाले हेरिरहेको थिएँ। पर्सिपल्ट गणितको परीक्षा थियो। उनी थकित भए पनि पढ्ने प्रयास गरिरहेकी थिइन्। पढ्न बसेको १० मिनेट जतिमा उनी थकानले चुर भएर सुतिन्। र, चाँडै नै निदाइन्।
बत्ती बन्द भयो। भाइबहिनी अघि नै निदाइसकेका थिए। बुवाआमा कोठामा आउनै बाँकी थिए। मनमा कुरा खेलिरहेका थिए। कुनवेला भुसक्कै भएछु।
निद्रा खुल्दा बिहानको ५ बजेको थियो। बुवाले विनीतालाई उठ् भनेको सुनें। उनी बिस्तारै उठिन्। अघिल्लो दिनको जुठो भाँडा धारामा लगेर माझ्न थालिन्। कुखुरा बासेको आवाज आइरहेको थियो।
भाँडा माझिसकेर मुख धोएर भान्छामा छिरिन्। भाइबहिनीलाई चियानास्ता बनाइन्। सबैलाई चिया बाँडिन्। यसोउसो गर्दा ७ बज्यो।
अनि हतार हतार खाजा खाएर ट्युसन कक्षाको लागि तयार भइन्। हामी हिजो आएकै बाटो स्कुल फर्किर्यौं।
मेरो मन सन्न भइरहेको थियो। म केही सोच्न सकिरहेको थिइनँ। गृहकार्य नगर्ने विद्यार्थीलाई गाली गरेको, उनीहरूसँग रिसाएको दृश्य मनमा फनफनी घुम्न थाले।
विनीताको घरमा एक दिन बास बस्दा मैले सोच्नै नसकेको गाउँले जीवनको यथार्थ देखेँ। हामीले चाहेर पनि केही गर्नसक्ने अवस्था थिएन।
विद्यार्थीले गृहकार्य किन गर्दैनन् भन्ने मैले बुझ्ने मौका पाएको थिएँ।
विनीता त एउटा पात्र न थिइन्! देशभरका लाखौं विनीताहरूको दैनिकी पनि यस्तै नै त हो! स्कूल आउन जानै दुई घण्टा लाग्छ। घरमा कामको चटारो। पढ्ने समय खोइ? गृहकार्य गर्ने समय खोइ?
यो घटनाले म निकै दिन सोचमग्न भएँ। अनि मैले गृहकार्य नगर्ने विद्यार्थीलाई गाली गर्न छोडेँ। त्यति मात्रै होइन गृहकार्य दिनै छोडेँ। उनीहरूले जे जति सिक्नुपर्ने हो, कक्षामै सिकाउन थालें।
कक्षामै अभ्यास गराउन थालेँ। उनीहरूलाई पनि कम्तीमा एउटा विषयको गृहकार्यको बोझ कम भएको थियो।
...
यसरी रात बस्न अन्य विद्यार्थीका घरमा गएको छु। कसैकसैलाई त स्कूल आउजाउमै दैनिक चार घण्टा हिँड्नुपर्छ। दैनिक त्यत्रो हिँडाइको कल्पना गर्दा मेरो त पूरै शरीर गलेर आउँछ। विद्यार्थीका घर जाने अभ्यासले मलाई आफ्नो कामप्रति जिम्मेवार बनायो। शिक्षक कति जिम्मेवार हुनुपर्छ भन्ने बोध गरायो।
विद्यार्थी जंगलको बाटो, पाखापखेरा र पहिरो छिचोलेर स्कूल आउँदा हामी शिक्षकले समयमा नपढाउने, नानाथरीका बहाना बनाएर गाली गर्ने, पिट्ने गर्दा उनीहरूको मानसिकता कस्तो हुन्छ भन्ने सोच्न सिकायो।
विद्यार्थी यसै पनि पढाइमा कमजोर छन्, त्यसमाथि परिस्थितिको बोझले थिचिएका छन्। त्यस्ता विद्यार्थीलाई हामी शिक्षकले आफ्नो सुविधाको लागि दुःख दिनु असह्य कुरा थियो।
शिक्षक भइसकेपछि अल्छी भएर बस्न नैतिकताले दिँदैन। न त विद्यार्थीलाई पिट्ने अधिकार शिक्षकलाई छ।
विद्यार्थीका घर रात बस्दै जाने यस्ता ‘होम भिजिट’ले शिक्षक विद्यार्थीको वर्तमान र भविष्यप्रति कति जिम्मेवार हुनुपर्छ भन्ने बोध गरायो। कति विद्यार्थी शिक्षकका दुर्व्यवहार, पिटाइ र गालीले गर्दा स्कूल आउन छाडेका रहेछन्। विद्यार्थीका घर गएर उनीहरूको परिवारजनलाई सम्झाइबुझाइ गरेर तिनलाई स्कूल फर्कायौं।
आफू हुर्केबढेकै परिस्थितिमा विद्यार्थी रहेको देख्दा पनि शिक्षकले यस्तो प्रतिकूल व्यवहार गर्नु कस्तो दुःखद कुरा। कति शिक्षक त आफ्ना विद्यार्थीसँग बोल्न समेत जान्दैनन्। ‘तँ’ भनेर सम्बोधन गर्छन्। तथानाम गाली गर्छन्।
मैले त्यस्तो अपमानजनक व्यवहार गर्ने कति शिक्षकलाई सोधेको छु- तपाईंले गरेजस्तै व्यवहार अरु कसैले तपाईंको छोराछोरीलाई गरे कस्तो लाग्छ?
मेरो प्रश्नमा उनीहरू चुप हुन्छन्। मैले त्यसरी प्रश्न सोधेका कतिपयले त मसँग बोल्नै छोडे। मसँग नबोलेर केही भएन तर विद्यार्थीलाई अपमान नगरुन्, नहेपुन् भन्ने लाग्छ। किनभने त्यस्तो व्यवहार कुनै विद्यार्थीले सहनु नपरोस् भन्ने लाग्छ।
...
होम भिजिटका केही रमाइला पक्ष पनि छन्। समाज बुझ्न पाइन्छ। समाजमा भइरहेका घटना बुझिन्छ। चाडपर्व, जन्म-मृत्युका संस्कार थाहा हुन्छ। सुखदुःखका कुरा थाहा हुन्छ। समाजका विसंगति मात्र होइन, राम्रा पक्षबारे अद्यावधि हुन पाइन्छ। समाजमा देखिएका वा छोपिएका अवसर पनि थाहा लाग्छ।
कहिले मेरा विद्यार्थीले तरकारी, फलफूल, दूध, दही, मोही लिएर आउँथे। एक पटक एकजना विद्यार्थीले मेरा लागि बेलुकाको खाना लिएर आएछन्। उनले खाना ल्याउँदा म कोठामा थिइनँ। खाना त्यहीँ छोडिदिएर कागजको सानो चिर्कटोमा लेखर गएछन्। त्यसमा लेखिएको थियो-
सर खाना ल्याइदिएको छु, खानु ल... तपाईंलाई मैले दुई पटक रुममा खोज्न आउँदा हुनुहुन्नथ्यो, त्यसैले यहाँ नै लेराइदिएको छु।
- राजकुमार।
यस्तै यस्तै मन छुने घटनाले विगतका स्मरणहरू प्रितिकर लाग्छन्।
...
कहिलेकाहीँ विद्यार्थीसँग हामी घुम्न पनि जान्थौं। त्यही क्रममा मैले ग्याल्थुम, इचोक, सेरमाथान पुगेँ। मैले पहिलो पटक हिउँ देखेको नै विद्यार्थीसँग हेलम्बुको इचोकको डाँडा जाँदा हो।
हिँडाइ र घुमाइका ती सबै स्मृति मेरो मनमा गढेर बसेको छ। कहिलेकाहिँ मलाई ती पलले तानेर ल्याउँछ र कम्युटरमा रहेको भिडियो हेर्छु र पुराना दिनमा विचरण गर्छु। त्यस्ता धेरै याद मैले मेरा विद्यार्थीसँग संगालेको छु।
अचेल विद्यार्थीसँग मेसेन्जरमा कुरा हुँदा ती वेलाका फोटा र भिडिओ पठाइदिनुहोस् न सर भन्छन्। ती वेला जब म फोटो खिच्थें, भिडिओ बनाउँथे उनीहरू लजाउँदै भाग्थे। तीनै विद्यार्थी अहिले भने ‘फोटो भए पठाइदिनु न’ भन्छन्। आफूसँग भएका पठाइदिन्छु पनि।
यसो सोच्दा लाग्छ, त्यसरी म तिनका घर नगएको भए, त्यसरी उनीहरूसँग त्यो वेलामा घुलमिल नगरेको भए समाज, समुदाय, सुखदुःख, अवसर र चुनौतीहरू केही बुझ्न पाउँदिन थिएँ होला।
हरेक शिक्षकले आफ्ना विद्यार्थी र आफ्नो काम कसरी प्रभावकारी बनाउने भन्ने बुझ्न ‘होम भिजिट’मा जानैपर्छ। यसलाई आफ्नो जिम्मेवारी सम्झँदै नजिकको मान्छे, साथीभाइ, आफन्तकोमा गए जस्तै ठानेर वेला मौकामा आफ्ना विद्यार्थीको घर जानु सबैका लागि फाइदाजनक नै हुन्छ।