किसानलाई भेडा क्षतिपूर्ति
गण्डकी प्रदेश सरकारद्वारा भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति उपलब्ध गराइएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडामा रहेको घुम्ती भेडीगोठका कृषकलाई प्रदेश सरकारले २८ भेडा वितरण गरेको हो ।
प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आकस्मिक सेवाबाट कृषकलाई रु दुई लाख ८० हजार बराबरका भेडा सहयोग गरिएको हो ।
प्रदेशसभा सदस्य धनञ्जय दवाडीले गाउँपालिकाको जोर्नीमा कृषकलाई भेडा वितरण गर्दै प्रदेश सरकारको सहयोगले कृषकको मनोबल बढ्ने बताए ।
व्यवसायमा जोखिम भए पनि विचलित नभई आफ्नो पेशामा लाग्न उनले कृषकलाई आग्रह गरे ।
दूधपोखरी गाउँपालिका–६ र दोर्दी गाउँपालिका–५ का २५ किसानले संयुक्तरूपमा ‘पतिपुरे सामुदायिक भेडापालन समूह’ गठन गरी भुम्ती भेडीगोठमा भेडापालन गर्दै आएकोमा गत वैशाख २८ गते शनिबार परेको चट्याङले २८ भेडा मरेका थिए ।
भेडा मरेपछि कृषकलाई रु पाँच लाख ६० हजार बराबरको क्षति भएको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले बताए । सामुदायिक भेडापालन समूहले सञ्चालन गरेको भेडीगोठमा ६४० बढी भेडा छन् ।